Comments Add Comment

डोनाल्ड ट्रम्पः त्यो उदास जर्मनी, यो निराश अमेरिका !

ट्रम्पका विकल्पः नयाँ हिटलर बन्ने या ओबामाको अर्को संस्करण ?

trump-supporters

समाचार टिप्पणी

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावका बेला अघि सारेको नारामध्ये एक हो-‘मेक अमेरिका ग्रेट एगेन ।’ यो नाराका दुई अर्थ छन्ः शाब्दिक व्याख्या गर्दा यो नाराको अर्थ अमेरिका पहिले ‘ग्रेट’ थियो, अहिले छैन भन्ने लाग्छ । र, स्वर्णिम व्याख्या गर्दा यो नाराभित्र जर्मनी नेता हिटलरको झझल्को आउँछ ।

त्यो उदास जर्मनी, यो निराश अमेरिका !

पहिलो विश्वयुद्धमा शर्मनाक पराजयपछि तत्कालीन ‘सुपर पावर’ जर्मनीको शीर खस्यो । र, जर्मनहरुको त्यही निहुरिएको शीर उठाउने राष्ट्रवादी नाराको वायुपंखी घोडा चढेर विश्व रंगमञ्चमा हिटलरको उदय भयो ।

जतिसुकै तानाशाही भनिए पनि जर्मनहरुको मन र विश्वास जितेरै हिटलर सत्तामा पुगेका थिए । र, उनको एउटै नारा थियो- जर्मन राष्ट्रवादको पुनःस्थापना ।

पहिलो विश्वयुद्धमा निहुरिएको जर्मनहरुको शीर ठाडो बनाउने र विश्वमा जर्मनीको ‘सुप्रिम्यासी’ पुनःस्थापित गराइछाड्ने वचनवद्धताका साथ हिटलर शक्तिमा आएका थिए । यही सपनाका कारण उदाश जर्मनहरुले हिटलरलाई महान नेताका ग्रहण गरे । तर, सन्की हिटलरले आफ्नो वचन पूरा गर्न सकेनन् र दोस्रो विश्वयुद्धमा उनको वियोगान्त अवशान भयो । उनले प्रेमिकासँगै आत्महत्या गरे । वृद्धा जर्मनी पनि थलियो ।

Hitlerजर्मनीको दोस्रोपटकको अवशानपछि बेलायतले ‘सुप्रिम्यासी’को साँचो अमेरिकाको हातमा ‘सिफ्ट’ गरिदियो । जुन, अहिले फुत्किने हो कि भन्ने चिन्ताले अमेरिकनहरु निराश बनेका छन् र उनीहरु अमेरिकी नश्लको कुनै हिटलरको खोजीमा लागेका छन् ।

अमेरिकालाई ‘फेरि’ महान र शक्तिशाली बनाउने ट्रम्पको नारामा उही हिटलरकालीन मनोदशा झल्कन्छ । यो नारामा उल्लेखित ‘एगेन’ अर्थात ‘फेरि’ भन्ने शब्दले दोस्रो विश्वयुद्धपछि विश्वको ‘सुपरपावर’ बनेको अमेरिकाको ‘सुप्रिम्यासी’ गुम्दैछ भन्ने स्पष्ट संकेत गर्छ ।

ट्रम्पले अमेरिकीहरुको झुक्दै गएको शीर विश्वमाझ पुनः उठाउने भन्दै हिटलरकै शैलीमा राष्ट्रवादको नारा अघि सारेका छन् । आफूलाई विश्वमा ‘सुपेरियर’ सम्झने अमेरिकी जनताले ट्रम्पको यो नारालाई मन पराएका छन् र उनलाई मत दिएका छन् । यसलाई एक प्रकारले ‘ट्रेजेडी अफ अमेरिका’ भन्दा फरक पर्दैन । त्यो उदास जर्मनी र यो निराश अमेरिका उस्तै-उस्तै मनोदशामा छन् ।

गिर्दो शाख, गुम्दो शक्ति

अमेरिकीहरुकै दाबीअनुसार अहिले उसलाई ढुक्कले ‘सुपरपावर’ मान्न सकिने स्थिति छैन ।

अमेरिकाको सुपि्रम्यासी ‘आर्थिक’ हिसाबले चीनतिर सिफ्ट हुँदैछ । सामरिक हिसाबले इराक हमलापछि अमेरिका अहिलेसम्म अन्त्यहीन युद्धमा फसिरहेकैको छ । युद्धकै कारण अमेरिकी जनताबाट उठेको कर फजुल कार्यमा खर्च भइरहेको छ भने युद्धमा नफसेकै कारण चीनको आर्थिक विकासले गति लिइरहेकै छ ।

अमेरिकीहरुलाई पक्कै थाहा हुनुपर्छ, दोस्रो विश्वयुद्ध अमेरिकी भूमिमा भएन र उसले हतियार मात्रै बेच्यो । यही कारण अमेरिकामा तीव्र आर्थिक प्रगति भयो । बेलायतको त्यसबेला युद्धमा अत्यधीक खर्च भयो ।

अहिले चीनको अवस्था दोस्रो विश्वयुद्धकालीन अमेरिकाको जस्तै सुरक्षित छ । अमेरिका भने युद्धमा फसेको फस्यै छ । ‘ग्रेट अमेरिका’ बनाउने हो भने अब ट्रम्पले अमेरिकालाई यो धापबाट बाहिर निकाल्नैपर्ने हुन्छ ।mosul-attack

तर, अब सिरिया, इराक लगायत अरबभूमिमा भइरहेको युद्धमा अमेरिकाले हार व्यहोर्‍यो भने विश्व रंगमञ्चमा अमेरिकाको अधोयात्रा थप दू्रत बन्नेछ । सन् २००३ देखि डेढ दशक हुन लागिसक्यो अमेरिका लगातार युद्धमा फसेको फस्यै छ । उसका लागि यो अन्त्यहीन लडाइँ ‘भालुको कन्पट’ जस्तै बनेको छ, छाड्न पनि नसकिने, समातिराख्न पनि नसकिने ।

ट्रम्पले अमेरिकन नागरिकको हिसाबले ठिकै आँकलन गरेका हुन् कि अमेरिकी सरकारले आफ्ना जनतालाई प्राथमिकता दिनुपर्नेमा आफ्नो स्रोत र साधन अन्यत्र खर्च गरेकै हो ।

एकातिर युद्धका कारण अमेरिका कमजोर बन्दैछ भने अर्कातिर घरेलु राजनीतिमा समेत अशान्त र असुरक्षित बनिरहेको छ । काला र गोरा जातिको वीचमा फेरि नश्लवाद जागेको छ । अमेरिकी विद्यालय र अन्यत्र गोलीकाण्डका घटना बढेका छन् । देशभित्रै सामाजिक असुरक्षा बढेको छ । बेरोजगारी र आप्रवासनको समस्या बढ्दो छ । हुन सक्छ, यसैका आधारमा उनले ‘अमेरिकालाई प्राथमिकता दिने’ नीति अघि सारेका होलान् ।

राष्ट्रपतिका रुपमा अब ट्रम्पको सपना हिटलरको जस्तै हुन सक्छ कि विश्व-राजनीतिमा अमेरिकाको ‘सुपि्रम्यासी’ गुम्न नदिने । अर्थात अमेरिकाको गुम्नै लागेको ‘सुप्रिम्यासी’ फेरि पुनःस्थापित गर्ने ।

तर, के यसमा ट्रम्प सफल होलान् ? कसरी अब ‘ट्रयाजिक’ अमेरिकालाई उनले फेरि ‘ग्रेट’ अमेरिका बनाउन सक्लान् ?

तीन विकल्प

donald-trump-cake

डोनाल्ड ट्रम्पसँग मुख्यतः तीनवटा विकल्प देखिन्छन् ।

या त ट्रम्पको पनि हिटलरको जस्तै दुखान्त हुनेछ । या उनले परिस्थितिजन्य वाध्यता एवं विश्व-शक्ति सन्तुलनका आधारमा आफूूलाई बाराक ओबामाकै तेस्रो संस्करणमा सीमित राख्न पुग्नेछन् । या उनले तेस्रो मार्गका रुपमा हिटलरको गल्तीबाट सिक्दै र ओबामाको किंकर्तव्यविमूढ नीतिलाई पनि सच्याउँदै विश्व-नेता बन्ने बाटो समाउनेछन् ।

पहिलो सम्भावनाः धेरैको अनुमान के छ भने मुस्लिम देशहरुमा लडाइँ र झैभलगडा गरिरहेको अमेरिकाले अब ओबामा प्रशानसको भन्दा पनि अनुदार नीति लिने छ र लडाइँलाई झनै चर्काउनेछ ।

मानिसहरुको आँकलन यो पनि छ कि ट्रम्पले मुस्लिमहरुलाई देशबाट लखेट्ने छन् । अन्य आप्रवासीलाई पनि खेदाउने छन्, मेक्सिकोमा पर्खाल लगाउने छन् । तेस्रो विश्वयुद्ध गरेर विश्वलाई युद्धमा होम्नेछन् आदि आदि ।

अमेरिकालाई फेरि ‘ग्रेट’ बनाउने नाममा यदि ट्रम्पले यस्तो युद्धको बाटो अपनाए भने उनको नियति पनि हिटलरको जस्तै बन्न सक्छ र उनी दोस्रो हिटलर बन्न सक्छन् ।

Obama-1

किनभने, ओबामाले पनि निरन्तर युद्धकै बाटो हिँडेका हुन् तर अमेरिकाले यो युद्ध जित्न सकेन । विगतमा भियतनामसँग हारेजस्तै सिरिया वा इराकमा हार्नुपर्ने स्थितिमा अमेरिका पुगेको छ । ओबामाले जातेजाते इराकको मोसुल हमलामा अमेरिकी स्रोत र साधन खर्च गरिरहेकै छन् । अब यही बाटोले ट्रम्पलाई सफलता मिल्छ भनेर अनुमान कसरी गर्ने ?

दोस्रो सम्भावनाः चुनावअघि जति चर्को भाषण गरे पनि सत्तामा पुगेपछि ट्रम्पले अमेरिकी राजनीतिको निरन्तरतालाई खल्बल्याउने छैनन् भन्ने अनुमानसमेत गर्न थालिएको छ । र, यो उनको दोस्रो वैकल्पिक यात्रा हुन सक्छ ।

चुनाव जितेपछि ट्रम्पले दिएको अभिव्यक्ति केही सन्तुलित नै देखिएको छ । उनले देशको हितलाई प्राथमिकता दिइने बताएका छन् । तर, उनले ‘हामी साझेदारी चाहन्छौं, शत्रुता होइन‘ भनेका छन् । ट्रम्पको यो भनाइले उनको यात्रा बाराक ओबामाको तेस्रो संस्करण बन्ने सम्भावनालाई देखाउँछ ।

र, तेस्रो सम्भावनाः ट्रम्पसँग तेस्रो विकल्प पनि छ । त्यो हो -अमेरिकालाई युद्धको चक्रव्युहबाट बाहिर निकाल्ने । तर, युद्धको बाटोबाट होइन, शान्ति, सहकार्य र साझेदारीको बाटोबाट ।

उनले अमेरिकालाई पहिलो प्राथमिकता दिने हो भने इराकमा जसले शासन गरोस्, सिरियामा जो सरकारमा बसोस्, आफगानिस्तानमा जसको सरकार बनोस्, यसमा अमेरिकाले ‘इन्टरभेन्सन’ गर्नुहुँदैन । अमेरिकाले आफ्नै देशवासीको चिन्ता गरे हुन्छ । युद्धमा गर्ने खर्च आफ्नै देशबासीको हितमा खर्च गरे हुन्छ । निर्दोष नागरिकलाई मार्नुको साटो उनीहरुको सुरक्षामा खर्च गरे हुन्छ ।

ट्रम्पले यसलाई महसुस गरेर उनले शान्ति, विकास, मानवअधिकार र विश्व साझेदारीको बाटो समाते भने यसले उनलाई एक्काइशौं शताब्दीको विश्वनेता बनाइदिन सक्छ । र, साँच्चै अमेरिका फेरि ‘ग्रेट’ बन्न सक्छ । अन्यथा युद्धको बाटोबाट अमेरिका ग्रेट बन्ने सम्भावना छैन । बरु ट्रम्पको नियति चाँहि हिटलरको जस्तो बन्ने खतरा छ ।donald-trump

अमेरिकाको भवितव्य र ट्रम्पको प्रयोजन

ट्रम्पको कार्यकाल ओबामाको जस्तो सहज हुन गाह्रो छ । हामीले यो कुरा बिर्सन मिल्दैन कि ट्रम्पको उदय नै युद्धको आवश्यकताले, नयाँ हिटलरको आवश्यकताले भएको हो । उनीबाट तेस्रोभन्दा पहिलो विकल्पकै उपयोग हुने सम्भावना बढी देखिन्छ ।

यद्यपि उनी हिटलर बन्न सकेनन् भने उनको कार्यकाललाई पनि ओबामा प्रशासनको तेस्रो संस्करणमात्रै मान्न सकिएला । तर, यो कुरा निश्चित हो कि अमेरिकी जनताले निरन्तरतामा क्रमभंगता खोजेका छन् । अबको नेता उदार हैन कि ‘गर या मर’ भन्नेखालको खोजेका छन् । हेरौं, ट्रम्पले अब निराश अमेरिकी जनतालाई कसरी हाँक्छन् ।

विचरा अमेरिका यतिबेला युद्धलाई निरन्तरता दिन सक्ने अवस्थामा पनि छैन र युद्धबाट विश्राम लिएर आफूलाई ‘ग्रेटर’ बनाइराख्न सक्ने अवस्थामा पनि छैन । यही नै अमेरिकी राजनीतिको भवितव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment