+
+

गोरखामा सुन्तला उत्पादन १० प्रतिशतले बढ्यो

विकास मरहट्टा विकास मरहट्टा
२०७३ मंसिर १ गते १३:३२

orange-gorkha

१ मंसिर, गोरखा । गोरखामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । समयमै वर्षा भएका कारण उत्पादन राम्रो भएको किसानको भनाइ छ ।

कृषि विकास कार्यालय गोरखाले अघिल्लो वर्षको तुलनामा यस वर्ष दश प्रतिशतले सुन्तला उत्पादन वृद्धि हुने अनुमान गरेको छ । अघिल्लो वर्ष जिल्लाभर पाँच हजार आठ सय २७ मेटि्रक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष ६ हजार चार सय ९ मेटि्रक टन सुन्तला उत्पादन हुने अनुमान छ ।

‘पोहोर साल खडेरी परेर उत्पादनमा केही कमी आयो,’ कार्यालयका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले भने ‘यस वर्ष भने दाना लाग्ने बेलामा पानी परेकोले उत्पादनमा वृद्धि हुने पक्का छ ।’

किसानमाझ बगैंचा व्यवस्थापनका साथै जनचेतनामूलक कार्यक्रम पुर्‍याएकोले पनि उत्पादन बढेको कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष गोरखामा सुन्तला बिक्रीबाट २७ करोेड रुपैयाँ भित्रिएको थियो, जसमध्ये मनकामना क्षेत्रबाट मात्रै १३ करोड र ताङलीचोकबाट १० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको कृषि कार्यालयको तथ्यांक छ ।

रसिला सुन्तला धमाधम बजारमा

गोरखामा मनकामना र ताङलीचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस्तै, देउराली, धुवाकोट, ताप्ले, ताक्लुङ, बक्राङ, मिरकोट, हर्मी, आँपपिपल, हंसपुर, नारेश्वर लगायत क्षेत्र सुन्तलाका पकेट क्षेत्र मानिन्छन् । कृषि कार्यालयका अनुसार, नौ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको गोरखामा करिब पाँच सय किसानले यही खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् ।

अहिले गोरखाको सुन्तला बजारमा आउन थालिसकेको छ । कात्तिकदेखि माघ महिनासम्म सुन्तला बेच्ने सिजन मानिन्छ । गोरखाको धेरैजसो सुन्तला काठमाडौको कालीमाटीमा बिक्री हुने कृषि कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिनभयो । त्यस्तै, मुग्लिन, नारायणगढ लगायतका ठाउँहरूमा पनि सुन्तला निर्यात हुने स्थानीय किसान बताउँछन् ।

कसरी चिन्ने मनकामनाको सुन्तला ?

गोरखा मनकामनाको सुन्तला भनेपछि देशभर प्रख्यात छ । रसिलो र ठूलो दाना भएका कारण पनि मनकामनाको सुन्तला भनेपछि मानिसहरु लोभिन्छन् । तर, व्यापारीहरुले जहाँसुकैबाट ल्याएको सुन्तला पनि मनकामनाको भन्दै बेच्ने गरेका छन् । यसरी जथाभावी नाम बिकाएर व्यापारीहरुले ठग्न थालेपछि साना कृषि सहकारी संस्था मनकामनाले मनकामनाको सुन्तलामा ट्याग लगाउने भएको छ ।

चीनबाट आउने स्याउमा ट्याग लगाए जस्तै सुन्तलाको दाना र क्रेटमा समेत ट्याग लगाइने संस्थाका अध्यक्ष कृष्णबाबु श्रेष्ठले बताए । ट्यागमा साना कृषि सहकारी संस्था लि. मनकामना र जिल्ला कृषि विकास कार्यालयको लोगो रहने जनाइएको छ ।

यस वर्ष पनि गोरखामा उत्पादन भएको सुन्तलालाई तीन तहमा ग्रेडिङ गरी मूल्य निर्धारण गरिएको छ । ठूला दाना भएको ‘ए’ ग्रेडको सुन्तला प्रतिकिलो एक सय ५०, बी ग्रेडको एक सयदेखि एक सय २० र सी ग्रेडको प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा बिक्री गर्ने सहकारीले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?