रुसी महारथी क्लव सिएसकेए मस्कोका स्टार रोमक रेमेन्को, लागूओषध कोकिन सेवन गरेको प्रमाणित भएपछि दुई बर्षको प्रतिबन्धमा परेका छन् ।
च्याम्पियन्स लिगको खेलपछि गरिएको डोपिङ परिक्षणमा दोषी पाइएपछि फिनिश मिडफिल्डर रेमेन्कोलाई युरोपेली फुटबल महासंघ युइएफएले प्रतिबन्ध लगाएको हो ।
गत सेप्टेम्बर १४ मा बायर लिभरकसेनबिरुद्धको बराबरी भएको खेलपछि परिक्षकहरुले डोपिङ परिक्षणका लागि बोलाएका थिए । २९ बर्षीय स्टार मिडफिल्डरको रगतको परिक्षणमा कोकिन सेवन गरेको पाइएको थियो ।
युइएफएको बिज्ञप्तिमा भनिएको छ, ‘युइएफएको अनुशासन तथा नैतिकता नियन्त्रण बिभागले सिएसकेए मस्कोका खेलाडी रोमन रेमेन्कोबिरुद्ध यो निर्णय लिएको छ ।’
‘सेप्टेम्बर १४ मा भएको च्याम्पियन्स लिगको खेलपछि गरिएको परिक्षणका क्रममा उनी असफल भएका छन् र युइएफए अन्तर्गतको कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी दुई बर्षको प्रतिबन्धमा परेका छन् ।’
बिज्ञप्तिमा भनिएको छ, ‘उनको रक्त नमूनाको परिक्षण गर्दा कोकिनको मात्रा पाइएको छ र यो प्रतिबन्धित लागू ओषध भएको विश्व एण्टी डोपिङ एजेन्सी वाडाले पनि प्रमाणित गरिसकेको छ ।’
युइएफएको निर्णय अनुसार अक्टोवर ६ २०१६ देखि २ बर्ष उनको प्रतिबन्ध लागू हुनेछ ।
प्रतिक्रिया 4