Comments Add Comment

बार्सिलोनालाई सफल बनाएर पनि इनरिकेको किन हुन्छ आलोचना ?

luis-enrique-selected-28-different-starting-line-ups-in-his-first-28-barcelona-matches

१७ मंसिर, काठमाडौं । बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा दुई बर्ष पूरा गरिसकेका लुइस इनरिकेले टोलीलाई उल्लेखनीय ८ उपाधि दिलाए । क्लब सम्हालेको पहिलो सिजनमै उनले ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताए ।

नाउ क्याम्पमा हासिल गरेको आश्चर्यजनक उपलब्धीका कारण पेप ग्वार्डिओलाको निक्कै प्रशंसा गर्छौं जसको उनी हकदार पनि हुन् । तर, उपाधिमा उत्तिकै योगदान दिएका वर्तमान म्यानेजर लुइस इनरिकेका लागि प्रशंसाका शब्दहरु सायदै खर्चिन्छौं, जति ग्वार्डिओलाले पाउँछन् । तर, उनी र ग्वार्डिओलाबीच थुपै्र समानता छ ।

दुवैले खेलाडी जीवनमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने कोचिङ करिअरको सुरुवात पनि बी टिमबाटै गरेका थिए ।

तथापि एक उल्लेखनीय भिन्नता के छ भने इनरिकेले टिम र समर्थकलाई यति प्रेरित गर्न सकेनन् जति ग्वार्डिओलाले गरेे । त्यसैले क्लब छाडेको लामो समयसम्म पनि खेलाडी र समर्थक ग्वार्डिओलालाई सम्झिरहन्छन् ।

जतिपनि फुटबलका महान प्रशिक्षकको नाम आउँछ, तिनीहरुमा ग्वार्डिओला, डिएगो सिमोनी, एन्टोनियो कोन्टे, जर्गेन क्लप, जोसे माउरिन्हो लगायतको नाम लिइन्छ । तर, पछिल्ला बर्षमा क्लबलाई ठूलो उपलब्धी दिलाएका इनरिकेको नाम सायदै लिइन्छ ।

आखिर किन त ? उनको टिम र रियल मडि्रडबीचको एल क्लासिको भिडन्तभन्दा एक दिन अघि प्रशंसाबाट बिमुख विश्वको सबैभन्दा सफलमध्येका एक प्रशिक्षकका बारेमा कुरा गरौं ।

lionel-messi-right-luis-suarez-left-and-neymar
लुइस स्वारेज, नेइमार र लियोनल मेस्सी (बायाँबाट क्रमश:)

इनरिकेबिरुद्धको सबैभन्दा सजिलो आरोप के हो भने जस्तोसुकै प्रशिक्षक भएपनि लुइस स्वारेज, नेइमार र लियोनल मेस्सी भएपछि त टिमले सजिलै जितिहाल्छ नि !

तर, एकपटक त्यो समयलाई सम्झिउँ जुन बेला यही खेलाडीहरु थिए, तर अर्जेन्टाइन प्रशिक्षक टाटा मार्टिनोले टोलीलाई यति सफलता दिलाउन सकेका थिएनन् । उनले यी महान खेलाडीहरुलाई उचित जिम्मेवारी नै दिन सकेनन् ।

मार्टिनोको कार्यकालपछि सन् २०१४ को समरमा लुइस इनरिकेले टोली सम्हाल्दा पेप ग्वार्डिओलाले बनाएको टिमका सदस्यहरु क्रमशः पातलिँदै थिए ।

इनरिकेलाई केही परिवर्तन गर्नु थियो । सिजनको सुरुवाती २८ खेलमा उनले जितको जादुयी फर्मुला पत्ता लगाउन भन्दै हरेक खेलमा सुरुवाती लाइनअप परिवर्तन गरे ।

आखिरमा उनले सामरिक सफलता हासिल गरे । अग्रपंक्तिमा मेस्सीलाई राइट विङ, त्यसै सिजनको सुरुमा बार्सिलोना ल्याइएका स्वारेजलाई सेन्टर र नेइमारलाई लेफ्ट विङको जिम्मेबारी दिएपछि बार्सिलोनाले जितको लयलाई लामो समयसम्म कायमै राख्यो र राखिरहेको छ ।

उनको नयाँ सुत्रको सफल व्यवहारिक प्रयोग सन् २०१५ को सिजनमा एथ्लेटिको मडि्रडबिरुद्धको खेलबाट भयो । त्यस खेलमा बार्सिलोनाका तीन महान खेलाडीले पहिलोपटक एकै खेलमा गोल गरेका थिए ।

त्यसको पाँच महिनापछि उनीहरुले जित्नुपर्ने सबै उपाधि जिते । त्यसको एक बर्षपछि बार्सिलोनाले ला लिगा उपाधि रक्षा गर्‍यो । यसले बार्सिलोनाको पुरानै स्तरको पुनर्ताजगी गरायो ।

enrique-and-messi
इनरिके र मेस्सी

यति धेरै उपलब्धीका बाबजुद बार्सिलोनाका समर्थकहरु इनरिकेकै कारणले यति सफलता मिलेको स्वीकार गर्दैनन् ।

यसको कारण के हुनसक्छ भने बार्सिलोनालाई नयाँ प्रणालीमा ढाल्न इनरिके जिम्मेबार होइनन्, यो उनलाई लागेको सबैभन्दा ठूलो आरोप हो ।

बार्सिलोनाको डियरो स्पोर्ट अखबारका पत्रकार अल्वर्ट रोजलाई मान्ने हो भने समर्थकहरु बार्सिलोनाको परिवर्तनको कारक इनरिके होइन, लियोनल मेस्सीलाई मान्छन् । ‘स्वारेजसँगको पहिलो अभ्यास सत्रमा पनि मेस्सीले भनेका थिए कि उनी एक शानदार स्ट्राइकर हुन् र उनलाई विङमा लगेर थन्क्याउनु हुँदैन,’ रोजले भनेका छन् ।

अहिले एउटा गुनासो पनि सुन्ने गरिएको छ कि बार्सिलोनाको पूरै प्रदर्शन तीन सुपरस्टारको हातमा पुगेको छ ।

उनीहरुले गोल गरे खेल जितिन्छ, नत्र जितिन्न । यसकारण बार्सिलोनाको नयाँ खेलशैली आकषिर्त भने देखिदैन । ‘बार्सिलोनाको सबै कुरा तीन सुपरस्टारको प्रदर्शनको आधारमा हुन्छ,’ रोजले भने, ‘मिडफिल्डरको मूख्य भूमिका पनि रहेन । जब खराब समय सुरु हुन्छ, त्यसलाई समाधान गर्न बलियो बेञ्च छैन, सिस्टम छैन र युवा खेलाडीहरु पनि छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment