१७ मंसिर, काठमाडौं । सिनामंगलस्थित सूचना विभागको हलमा शुक्रबार बेग्लैखालको वातावरण थियो । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तीय कमिटी अन्तरगत पब्लिक डिपार्टमेन्टका उपनिर्देशक लु योङमिङ उपस्थित थिए । र, उनका साथमा चीनका एक चर्चित फोटोग्राफर यिन स्याओजुनसहित अन्य १२ चिनियाँ पत्रकार ।
चिनियाँ फोटोग्राफर यिन सियाओजुन चीनका पुराना फोटोग्राफर हुन् । उनले सन् १९८० को दशकमा खिचेका तस्वीरहरु यतिबेला बेइजिङको नेशनल म्युजियममा सजिएका छन् । बेइजिङमा मात्रै होइन, उनका तस्वीरहरु चीनका अन्य सहरमा रहेका म्युजियममा पनि सजिएको झाओ जिनले शुक्रबार सूचना विभागमा आयोजित कार्यक्रममा बताइन् ।
उनै चर्चित चिनियाँ फोटो ग्राफर नेपालमा भूकम्प आउनुअघि काठमाडौं र लुम्बिनी लगायतका सहरहरुमा डुलेका थिए । उनीसँगै चिनियाँ पत्रकारको टोली नेपाल आएको थियो । त्यसबेला उनले खिचेका तस्वीरहरु चीनको युआन प्रान्तमा प्रसारित गरिएको र चीनमा नेपाललाई चिनाउन यसले मद्दत पुर्याएको चिनियाँ पत्रकारले बताए ।
चिनियाँ फोटोग्राफरले खिचेका ती तस्वीरहरुको शुक्रबार सुचना विभागमा प्रदर्शन गरियो । साथै चिनियाँ पत्रकारले खिचेका ऐतिहासिक तस्वीरहरु प्रेस काउन्सिलमार्फत नेपाललाई हस्तान्तरणसमेत गरियो । कार्यक्रममा चिनियाँ पत्रकारको टोलीको नेतृत्व गरेका लु योङमिङले नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठलाई ती तस्वीरहरु हस्तान्तरण गरिएको थियो ।
साथै प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाई पनि चिनियाँ फोटोग्राफरले खिचेका तस्वीर उपहार दिइएको थियो ।
विभिन्न पुरातात्विक मन्दिरहरु, वौद्ध स्तुपा एवं संस्कृति र जनजीवन झल्काउने ती तस्वीरले चीनमा नेपाललाई चिनाउने काम गरेको कार्यक्रममा वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष श्रेष्ठले नेपाल र चीनवीचको सम्बन्ध मामा-भाञ्जाका रुपमा रहेको बताए । नेपाली चेली भृकुटीसँग विवाह सम्बन्ध गाँसिएकाले चिनियाँहरुका लागि नेपाल मावलीघर भएको बताए ।
कार्यक्रममा बोल्दै चिनियाँ नेता लु योङमिङले नेपाल र चीनवीचको सम्बन्ध पुरानो रहेको बताउँदै केपी ओलीका पालामा भएको भ्रमण र सहयोग आदान-प्रदानको समेत स्मरण गरे ।
फोटोग्राफर यिन ले नेपालका ९ हजार तस्वीर खिचेको र यसमा वौद्ध संस्कृति झल्कने तस्वीरहरु बढी रहेको बताए ।
हेर्नुहोस् चिनियाँ फोटोग्राफरले खिचेका केही तस्वीर