+
+

स्थानीय प्रशासन भन्छ– रुपन्देहीबाहेक तराईका अन्य जिल्लामा आन्दोलन छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १८ गते १२:२९

5-pradesh१८ मंसिर, काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशका रुपमा प्रस्तावित बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीसमेत गरी छवटा जिल्लामध्ये पाँचवटा जिल्लाहरु शान्त रहेको स्थानीय प्रशासनको विश्लेषण छ । रुपन्देही जिल्लामा शुक्रबार विशाल जनप्रदर्शन भए पनि तरार्इका अन्य जिल्लाहरुमा भने त्यस्तो असन्तुष्टि नदेखिएको स्थानीय प्रशासनले अनलाइनखबरलाई जानकारी दियो ।

प्रस्तावित नयाँ प्रदेशका साढे ५ वटा जिल्लाहरुको अवस्थाबारे बुझ्न अनलाइनखबरले स्थानीय अधिकारीहरुसँग सम्पर्क गर्दा त्यहाँको स्थिति यस्तो पाइयो–

bardiyaबर्दियाः शान्त छ

सरकारले संसदमा दर्ता गरेको सीमांकन हेरफेरसम्बन्धी प्रस्तावबारे बर्दिया जिल्लामा खासै असन्तुष्टि देखिएको छैन । स्थानीय प्रशासनको विश्लेषण अनुसार जिल्लामा स्वतःस्फूर्तरुपमा खासै ठूलो विरोध प्रदर्शन हुने छनक अहिलेसम्म देखिएको छैन ।

शुक्रबार बर्दियामा एमाले समर्थित कार्यकर्ताले एक घण्टा विरोधका कार्यक्रमहरु गरे पनि सहभागिताको हिसाबले त्यो कार्यकर्ताको लेबलमा मात्रै देखिएको स्रोतले बतायो ।

बर्दियाको अवस्थाबारे त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले अनलाइनखबरसँग भने– ‘यहाँ अहिलेसम्म त्यस्तो उल्लेखनीय राजनीतिक घटनाक्रम देखिएको छैन, बर्दिया जिल्ला शान्त छ ।’

बाँकेः चुपचाप छ

बर्दियामा जस्तै बाँके जिल्लामा पनि सीमांकन हेरफेरबारे खासै आन्दोलन नदेखिएको जिल्ला प्रशासनले जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरसँग भने–‘बाँके आन्दोलित छैन, शान्त छ ।’
जिल्लामा एमाले समर्थित केही कार्यकर्ताहरु सीमांकनको विरोधमा उत्रिए पनि त्यो जनस्तरमा नभएर कार्यकर्तास्तरमा मात्रै रहेको स्थानीय प्रशासनको ठहर छ ।

बाँके जिल्लामा मधेसी र मुस्लिम समुदायको पनि उल्लेख बसोबास रहेको र उनीहरु सीमांकन हेरफेरप्रति सडकमै आउने गरी असन्तुष्ट नदेखिएको स्रोतको विश्लेषण छ ।

दाङः ठूलो आन्दोलन छैन, थारु पनि मौन छन्

तराईको नयाँ प्रदेशमा समावेश गरिएको दाङ जिल्ला पनि खासै आन्दोलित नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले अनलाइनखबरलाई बताए ।

dandदुलालले अनलाइनखबरसँग भने– ‘जिल्लाको अवस्था अहिलेसम्म शान्त छ, एमाले, माले र जनमोर्चाका कार्यकर्ताहरुले समान्य प्रदर्शन गरे पनि त्यो शान्तिपूर्ण नै रहेको छ । अहिलेसम्म ठूलो प्रदर्शन देखिएको छैन ।’
काठमाडौंका पत्रपत्रिकामा थारुहरु पनि आन्दोलित हुने समाचार आए पनि दाङमा अहिलेसम्म थारु समुदायको कुनै असन्तुष्टि बाहिर नआएको दुलालले भने ।

रुपन्देहीको भन्दा दाङको ‘इन्ट्रेस्ट’ फरक भएकाले पनि जिल्लामा ठूलो आन्दोलन नउठेको हुनसक्ने स्रोत बताउँछ ।

 

नवलपरासीः गुनासो छैन, शान्त छ

सीमांकनमा यसअघि नै जिल्लालाई विभाजित गरिएका कारण अहिले नवलपरासीमा खासै ठूलो गुनासो नसुनिएको स्थानीय प्रशासनले विश्लेषण गरेको छ । नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले अनलाइनखबरसँग भने– ‘रुपन्देहीको प्रदर्शनका कारण नवलपरासी जिल्लामा पनि यातायात अवरुद्ध भएको छ, तर सीमांकन हेरफेरमा यो जिल्लामा गुनासो सुनिएको छैन, जिल्ला शान्त छ ।’

नवलपरासीलाई दुईवटा प्रदेशमा पारिएकोमा केही असन्तुष्टि देखएि पनि त्यो पहिले नै सेलाइसकेको विषय भएकाले हाल जिल्लाले खासै प्रतिक्रिया नदेखाएको ढुंगानाले बताए ।

नवलपरासीको बर्दघाटमा एमालेसमर्थित कार्यकर्ताले सामान्य प्रदर्शन गरेको भए पनि त्यो प्रदर्शन स्थानीय तहको पुनसंरचना विवादलाई लिएर भएको स्रोतको भनाइ छ । अहिलेको संविधान संशोधन प्रस्तावका कारण नवलपरासीमा खासै ठूलो आन्दोलन उठ्नेमा स्थानीय प्रशासन विश्वस्त छैन ।

कपिलवस्तुः सुनसान

रुपन्देहीको सीमासँग जोडिएको कपिलवस्तु जिल्लालाई पनि सीमांकन हेरफेरप्रति खासै चासो देखिएको छैन । अनलाइनखबरका रुपन्देही सहकर्मी सलमान खानका अनुसार कपिलवस्तुमा अहिलेसम्म आन्दोलन देखा परेको छैन । जिल्ला पूर्णरुपमा शान्त रहेको छ ।

बुटवल किन तातियो ?

सरकारले संशोधन प्रस्ताव दर्ता गर्दा नगर्दैदेखि रुपन्देही जिल्लाको प्रमुख शहर बु्टवल एकाएक तातिएको छ । शुरुमा सडकमा टायर बालेर प्रदर्शनहरु भए । माओवादीको शहीद स्मारक तोडफोडको प्रयास भयो । र, शुक्रबार विशाल जनप्रदर्शन भयो ।
आखिर बुटवलमा यसरी किन उर्लियो जनसागर ? यसबारे प्रश्न गर्दा जिल्ला प्रशासनका एक अधिकारीले यस्तो विश्लेषण सुनाए–

butwal-protest-3

एक– रुपन्देही देशकै बढी जनघनत्व भएको जिल्ला हो । यहाँको मर्चवार क्षेत्रभन्दा बाहेक पहाडे समुदायको बाहुल्य छ । यहाँ गुल्मी, अर्घाखाँची र पाल्पा लगायतका पहाडका मानिसहरुको बसोबास छ ।

दुई– बुटवल आसपास नगरपालिकै नगरपालिका भएकाले यहाँ मानिसहरुको जमघट ठूलो हुनु स्वाभाविकै हो । जस्तै बुटवल आसपासमा भैरहवा, देवदह र तिलोत्तमा नगरपालिकाहरु जोडिएका छन् । त्यहाँबाट मानिसहरु सजिलै भेला हुनु स्वाभाविकै हो ।

तीन– सरकारले ल्याएको सीमांकन हेरफेरसम्बन्धी प्रस्तावमा सबैभन्दा बढी असन्तुष्टि गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रोल्पा लगायतकमा पहाडमा परेको छ र त्यसको भावनात्ममक एवं भौगोलिक सम्बन्ध रुपन्देहीसँग जोडिएको छ ।

4-pradesh-populationचार– रुपन्देहीको बुटवल एमालेको राम्रो पकड रहेको जिल्ला मानिन्छ । शुक्रबारको प्रर्दशनमा एमालेका नेता विष्णु पौडेल, गोकर्ण विष्ट, घनश्याम भुसाललगायतका नेताहरु सहभागी भएकाले जनउभार देखिएको हो । साथमा कांग्रेस र माओवादीका नेतासमेत बुटवल आएपछि सबै पार्टीका मानिसहरु एकैठाउँ जम्मा भए ।

र, पाँच– सधैं बन्द र हडतालको विरोध गर्ने विद्यालय सञ्चालक र व्यापारी व्यवसायीहरु शुक्रबार आफैं बन्दमा उत्रिए । शिक्षकहरुले विद्यालयमा बालवालिकाको पठनपाठन बन्द गराए । अरुबेला बन्दको विरोध गर्ने उद्योग वाणिज्य महासंघका पदाधिकारी नै बजार बन्द गरेर प्रदर्शनमा उत्रिए । यसले गर्दा शुक्रबार बुटवलमा मानव सागर उत्रिन सम्भव भयो ।

शुक्रबार विशाल जनप्रदर्शन देखिए पनि बुटवलमा शनिबार स्थिति सामान्य देखिएको ल्लिा प्रशासन कार्यालय स्रोतले बतायो । तर, यहाँ अझै केही दिन प्रदर्शनहरु हुने र क्रमशः स्थिति सामान्य बन्ने आँकलन प्रशासनले गरेको छ ।

पहाडका ५ जिल्ला आन्दोलित

सीमांकन हेरफेरसँगै तराईमा रुपन्देही बाहेकका जिल्लाहरु प्राय शान्त नै देखिए पनि पहाडका ५ जिल्लामा भने आन्दोलन देखा परेको छ । प्युठान र रोल्पाका जनताले प्रदेशको सदरमुकामका लागि पोखरासम्म आउनुपर्ने भएकाले उनीहरुमा चिन्ता देखिएको छ र त्यहाँ आन्दोलन उठेको छ ।

prachanda-putla-dohan-5त्यसैगरी गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा पनि आन्दोलन देखा परेको छ । बुटवलसँग भावनात्मक साइनो रहेका यी जिल्लाले प्रदेशको राजधानीका लागि पोखरा जानुपर्ने भएकाले उनीहरुमा असन्तुष्टि स्वाभाविकै रुपमा देखिएको हो ।

तर, पहिले नै ४ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुमा भने खासै असन्तुष्टि देखिएको छैन । यद्यपि त्यहाँ एमालेका कार्यकर्ताहरुले आन्दोलनको उठान गर्ने प्रयत्न भने जारी नै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?