+
+

बुटवलको आन्दोलनमा जे देखियो…

सलमान खान सलमान खान
२०७३ मंसिर १९ गते १४:२४
butwal-banda-2
बुटवलमा आमने सामने भएका प्रहरी र आन्दोलनकारी

पाँच नम्बर प्रदेशको सीमाना हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरुद्धमा रुपन्देहीको बुटवल शहर अहिले आन्दोलित छ । शुक्रवार बुटवलमा विशाल सभा भयो । अहिले पनि बुटवलमा प्रदर्शन एवं बन्द र हडताल जारी छ ।

राष्ट्रिय राजनीतिका निकै चतुर खेलाडी मानिने बुटवल क्षेत्रबाट निर्वाचित सांसद एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलको अगुवाइमा आन्दोलन उठाइएको हो, जसलाई बुटवलबासीले साथ दिएका छन् ।

विगतको ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई हटाएर तराईमा साढे ५ जिल्लाको एउटा प्रदेश बनाउने संशोधनको प्रस्ताव संसदमा दर्ता हुनासाथ बुटवलमा तातिएको हो । आखिर किन तात्तियो बुटवल ?

butwal-protest-3
शुक्रबारको सभामा सहभागीहरु

शुक्रबार बुटवलमा विशाल प्रदर्शन निकै सजिलो तरिकाले भयो । नाकाबन्दीपछि भारतप्रति पहाडी समुदायको नकारात्मक दृष्टिकोण बढेको राम्रैसँग बुझेका आन्दोलनका हर्ताकर्ताहरुले प्रदेश विभाजनमा देशै टुक्रयाउन लागेको भन्ने मूल नाराका साथ जनमानलाई त्राशदीको सन्देश दिए । त्यसैले भारतले तराईको भूभाग लिन लाग्यो भन्दै हजारौँको संख्या बुटवलका बासिन्दा सडकमा उत्रिए ।

नेकपा एमालेले शुक्रवार १२ वटा जिल्लाबाट सर्वसाधारण र कार्यकर्तालाई नि:शुल्क सवारी साधनको व्यवस्था गरेर बुटवलमा उतारेको थियो । उक्त प्रदर्शनमा रुपन्देहीका साथै बाहिरी जिल्लाबाट पनि मानिसहरु ल्याइएका थिए ।

स्थानीयहरु स्वःस्फूर्त रुपमा पनि आएका थिए । कतिपय मानिसहरु पसल र यातायात बन्द भएका कारणले कामविहीन बनेपछि आन्दोलनको दर्शक बनेर आएका थिए ।

बुटवलको जनसंख्या ०६८ को जनगणना अनुसार १ लाख १८ हजार छ । ०६८ पछि ५ वर्ष यता बुटवलमा पहाडबाट व्यापक रुपमा बसाइँ सराइ भएको छ । यो शहरमा ५ नम्बर प्रदेशबाट छुट्याइएका प्रस्तावित जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान लगायतका जिल्लावासीहरुको उल्लेखनीय बसोबास छ ।

आन्दोलनकारी के भन्छन् ?

butwal-aandolan-4
लठ्ठी बोकेर आन्दोलनमा उत्रिएकाहरु

पाँच नम्बर प्रदेश टुक्रिएमा देश भारतले लिने भन्ने आन्दोलनकारीको प्रतिक्रियाको निचोड एउटै छ । दुई नम्बरको प्रदेश तराईका जिल्लालाई मात्रै समावेश गरी बनाइए पनि देश टुक्रिने/नटुक्रिने भन्ने केही प्रतिक्रिया नदिने एमालेले ५ नम्बर प्रदेशमा तराईका जिल्लालाई मात्र समावेश गरेर बनाउँदा देश टुक्रिने तर्क गरेअनुसार आन्दोलनकारीले पनि एमालेको तर्क सापटी लिएर प्रतिक्रिया दिएका छन् ।

आन्दोलनमा सहभागिता जनाउन आएका शंकरनगरका मोति अर्यालले ५ नम्बर प्रदेशमा मिलेर बसेका जनतालाई प्रदेश टुक्राएर नेताहरुले देश भारतलाई दिन खोजेको लक्षण देखाएको आरोप लगाए । आफुहरु मिलेर बसे पनि प्रदेश टुक्राएर नेताहरुले जनतालाई लडाउन खोजेको उनले दाबी गरे ।

हामी मिलेर बसेका छौँ, तर नेताहरुले प्रदेश टुक्राएर जनतालाई लडाउन खोजेका छन्,’ उनले भने, ‘प्रदेश टुक्र्याउनु भनेको देश भारतलाई दिने लक्षण हो ।’

त्यस्तै बुटवल उपमनपा-८ का ६३ वर्षीय भुवनेश्वर दवाडीले पनि भारतकै डिजाइनमा प्रदेश टुक्रयाउने खेल भइरहेको आरोप लगाए । उनले यो राजनीतिक विषय भएको भन्दै सडकमा भन्दा सदनमै छलफल गरेर निकाश निकाले राम्रो हुने बताए ।

उनले बाबा, आमा पहाडी जिल्लामा रहेको र छोरो मधेसको जिल्लामा रहने गरेको अर्थात दुवै स्थानमा बसोबास रहेका कारण प्रदेश टुक्र्याउनु गलत रहेको बताए ।

तर, नाम उल्लेख नगर्ने आग्रहमा बुटवलका एक व्यवसायीले राजनीतिक समस्या भएको कारण यसबारे संसदमै लडाइ गर्नुपर्नेमा सडकमा आएर ताण्डव देखाउनु राम्रो नहुने बताए ।

butwal-banda-6
आन्दोलनकारीले तोडफोड गरेको ट्राफिक आइल्याण्ड

आन्दोलनबारे चारथरि मत

आन्दोलित शहर बुटवलमा विभिन्न चार पक्षका मानिसहरु भेटिएका छन् । एक- संशोधन विरुद्धको आन्दोलन आवश्यक रहेको ठान्नेहरु भेटिएका छन् । दोस्रो, आन्दोलनलाई गलत ठान्नेहरु पनि भेटिएका छन् । तेस्रो, आन्दोलन नेताहरुको खेल हो भन्दै मौन बस्नेहरु पनि छन् । र, चौथो कित्तामा रमाइलोका लागि आन्दोलनमा लागेको बताउने युवाहरु पनि भेटिएका छन् ।

आन्दोलन स्थलमा भेटिएका आफ्नो परिचय दिन नचाहने अञ्दाजी ६०/६५ वर्षीय एक वृद्धले आन्दोलन नेताहरुको राजनीतिक खेलमात्रै भएको बताए । निकै रुखो स्वभावमा प्रस्तुत भएका उनले यस्ता आन्दोलन जवानीमा धेरै देखिएको तर दलीय स्वार्थबाहेक अरु केही नपाइएको बताए । ‘आन्दोलन हुन्छ, ज्यान दिने आम जनताका छोराछोरी हुन्छन् तर आन्दोलनमा नेता र उनका छोराछोरी हुँदैनन् ।’ उनले भने- ‘ठुल्ठुला भाषण मात्रै गर्न जानेका नेताहरु खै त आन्दोलनमा ?’

कांग्रेस, माओवादीका जिल्ला नेता सहभागी छैनन्

butwal-aandolan
सडक अबरुद्ध गरेर बसेका आन्दोलनकारी

शुक्रवार भएको जनसभामा कांग्रेस, एमाले र माओवादी केन्द्र अर्थात मुख्य तीन दलको सहभागिता एकसाथ देखिएको चर्चा निकै चले पनि सभापछि आन्दोलनमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुको त्यस्तो खासै सहभागिता देखिएको छैन ।

स्रोतका अनुसार कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताले आफ्ना कार्यकर्तालाई आन्दोलनमा सहभागी नहुन निर्देशन दिएका छन् ।

बुटवलमा आन्दोलन अराजक भएको भन्दै आन्दोलनमा होमिएको अखण्ड ५ नम्बर प्रदेश बचाउ दवाव अभियान समितिले शनिवार साँझदेखि बन्दमा आफ्नो समर्थन फिर्ता लिएको छ । सो समितिका संयोजक रहेका विष्णु पोख्रेल नेपाली कांग्रेसका नेता हुन् ।

आन्दोलन अराजक बन्दै

butwal-banda-4
आन्दोलनकारीलाई लठ्ठीसहित नियन्त्रणमा लिँदै प्रहरी

बुटवलको आन्दोलन अराजक भएको अधिकांशको ठहर छ । आन्दोलनकारीले राजनीतिक दलको पार्टी कार्यालय, सरकारी कार्यालय, सरकारी संरचना तोडफोड गर्दा आन्दोलन अराजक भएको अधिकांशको ठहर छ ।

शनिवार मादक पदार्थ सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्दा केही युवा आन्दोलनकारी पक्राउ परेका थिए ।

आन्दोलनकारीले बुटवलका विभिन्न क्षेत्र ठेला व्यवसायीलाई कुटपिट गर्नुका साथै फलफूल पसलमा लुटपाट समेत गरेको प्रहरीको भनाइ छ ।

आन्दोलनमा ठेला व्यवसाय किन चलाएको भन्दै आन्दोलनकारीले उखु, स्याउ, बदाम लगायतका सामान बेच्ने ठेला व्यवसायीलाई कुटपिट गर्दै उनीहरुको फलफुल खाइदिएको व्यवसायीको गुनासो छ ।

butwal-shahid-park
आन्दोलनकारीले तोडफोड गरेको शहिद स्मारक

आन्दोलनमा बुटवलको पुष्पलाल पार्क एमालेको युवा संघका कार्यकर्ताले तोडफोड गराएको माओवादीको आरोप छ । त्यस्तै वाणिज्य क्याम्पसका पूर्वसभापतिको नेतृत्वमा होटल कस्तुरी र विप्लव माओवादी कार्यालयमा ढुंगामुढा प्रहार गरिएको माओवादी स्रोतले बताएको छ ।

यस्तै एमालेकै नेतृत्वमा नेकपा माओवादीको कार्यालयको भवनको सिसाका साथै आन्तिरक राजश्व कार्यालयको झ्यालको सिसा लगायत फोड्ने काम भएको माओवादीको आरोप छ ।

तर, एमाले कार्यकर्ताले माओवादीमाथि यसरी आक्रमण गरे पनि माओवादी सांसद टोपहादुर रायमाझी चाँहि ‘मान कि न मान, मै तेरा मेहमान’ भनेजसरी एमालेको सभामा सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?