+
+

कुलेखानी तेस्रोका ‘हेपाहा’ चिनियाँ ठेकेदार खोज्दै कुलमान

असारभित्रै काम सक्न दबाव दिने तयारी

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ मंसिर २१ गते १:४०

kulman-ghising-1

२० मंसिर, काठमाडौं । ठूला आयोजना विदेशी ठेकेदार दिने तर, तिनलाई काम गर्न दबाव नै नदिने गर्दा कस्तो समस्या आउँछ भन्ने गतिलो उदाहरण बनेको छ, कुलेखानी तेस्रो जलविद्युत आयोजना ।

निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीको लापरबाही र नेपाल विद्युत प्राधिकरणको बेवास्ताले खर्च मात्रै बढाउने माध्यम बनेको छ । मकवानपुरको भैंसेमा १४ मेगावाट क्षमताको निर्माणाधीन कुलेखानी-तेस्रोबाट बिजुली निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रशारणलाइनसम्म पहुँच विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनी सम्पर्कबिहीन जस्तै छ ।

सरकारी लगानीमा बनिरहेको आयोजनाका प्रमुख सुभाषकुमार मिश्र कुलेखानी तेस्रोमा इलेक्ट्रोमेकानिकलको जिम्मा लिएको कम्पनीले युद्धस्तरमा काम नगरेर ठूलो समस्या परेको बताउँछन् ।

मुख्य कन्ट्रयाक्टर झेजियाङ जिल्लुनका जिम्मेवार प्रतिनिधि नै आयोजनाको साइटमा नआएर चीनमा नै बसिरहँदा स्थानीय ठेकेदारले सुस्त गतिमा काम गरिरहेको उनले बताए ।

केही दिनअघि कुलेखानी तेस्रोको काम हेर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीलाई उनले यही दुःख पोखेका थिए । लोडसेडिङ हटाउने अभियानमा लागेका घिसिङले यो गुनासोलाई गम्भिरतापूर्वाक लिए र आवश्यक पहल थाले ।

ठेकेदारले भने-अब आउँछौं

मिश्रकाअनुसार प्राधिकरण उच्च स्रोतले बेला-बेलामा आश्वासन दिए पनि कामको गति पटक्कै नबढाउने चिनियाँ कन्ट्रयाक्टरलाई कूटनीतिक पहल गरेर नेपाल आउन दबाव दिएको छ । कूटनीतिक पहलपछि अहिले आयोजनाको सम्पर्कमा आएका चिनियाँ अधिकारीले कामको गति बढाउने आश्वासन दिएका छन् ।

‘एमडी घिसिङलाई आयोजनाका सबै समस्याबारे जानकारी गराएपछि चिनियाँ दूतावासमार्फत ति चिनियाँ ठेकेदारलाई छिटो नेपाल बोलाइएको बुझेको छु । मसँगको कुराकानीमा पनि जिल्लुङका प्रतिनिधिले डिसेम्बरभित्रै कम्पनीका निर्देशकसहित नेपाल आउने आश्वासन दिएका छन्,’ मिश्रले अनलाइनखबरसँग भने ।

काम कति भयो ?

प्राधिकरणको पहलपछि चिनियाँ ठेकेदारले नेपाल आएर कामको गति बढाउने आश्वासन त दिएका छन् । साइटमा भने अहिले पनि काम गर्ने कामदार निकै न्युन छन् ।

kulikhani-iii

कुलेखानी तेस्रो जलविद्युत आयोजनाको सुरुङ

इलेक्ट्रोमेकानिकल निर्माणको काम अहिले ४० प्रतिशत पनि सकिएको छैन । चीनबाट ल्याइएका टर्वाइन र प्राविधिक उपकरण जोड्नै बाँकी छ । कति उपकरण आइपुगेकै छैनन् ।

उत्पादित बिजुलीलाई प्रशारण लाइनमा जोड्ने गरी पूर्वाधार बनाउनै पनि बाँकी छ । स्थानीय ठेकेदारले धिमा गतिमा भर्खर पेनस्टक पाइप जडानको काम गर्दैछ । इलेक्ट्रोमेकानिकलको काम नसकिँदा सिभिल ठेकेदारको करिब ७ प्रतिशत काम अधुरै छन् । आयोजनाको सिभिल वर्क ९३ प्रतिशत मात्रै सकिएको छ ।

‘चिनियाँ ठेकेदार यहाँ बसेर गम्भिर रुपमा काममा लागेकै छैनन्, उसले जिम्मा लगाएको स्थानीय ठेकेदारलाई हामीले दबाव दिँदा कुनै असर नै देखिएन,’ आयोजना प्रमुख मिश्रले भने ।

म्याद थपेको थप्यै

आयोजना सन् २०११ डिसेम्बरसम्म सकिने गरी सन् २००८ अपि्रलमा सुरु भएको थियो । ठेक्काको तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि काम सकिएको छैन ।

पहिलो पटक ३० महिना म्याद थपिएको थियो । फेरि क्रमशः ९ महिना, ३ महिना र ६/६ महिना गरी आयोजनाको म्याद थपिएको हो ।

इलेक्ट्रोमेकानिकलले आगामी पुसको १६ गते सम्पन्न गर्ने गरी विद्युत् प्राधिकरणले चौथो पटक म्याद थप गरेको थियो । तर, अब पाँचौपटक म्याद थपेर यो आयोजना आगामी असारभित्र सक्न पनि मुस्किल हुने देखिएको छ ।

‘यही गतिमा काम भइरहने हो भने आगामी असारभित्र पनि सक्न गाह्रो छ । तर, चिनियाँ ठेकेदारलाई नेपाल बोलाएर दबाव दिन सकियो भने असारसम्म सकिन सक्छ,’ मिश्रले भने, ‘ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वले अहिले थालेको पहलअनुसार काम भयो भने इलेक्ट्रोमेकानिकलको काम सक्न ७ महिनाभित्र सम्भव पनि हुन्छ ।’

नयाँ नेतृत्वले जगायो

इलेक्ट्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले पाँचौपटक थप गरिएको समयमा पनि सम्पन्न नहुने स्थिति छ । निर्माण ढिला हुँदा आयोजनाको लगानी पनि वृद्धि हुँदै गएको छ ।

आयोजनाको निर्माण भइसक्दा झण्डै ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । ‘अहिले आयोजनाको कामको प्रगतिबारे हामी प्राधिकरणका एमडी घिसिङसँग नियमित हटलाइनमा हुन्छौं,’ मिश्रले भने, ‘यहाँको अप्ठेरो पनि हामीले भन्न पाएका छौं । आवश्यक पहल र निर्देशनले काम गर्न सहज वातारण बनाउँदै लगेको छ ।’

सुरुको लागत दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको म्याद लम्बिँदा झण्डै चार अर्ब बढी खर्च भइसकेको छ । ‘हाम्रो नेतृत्वले गरेको पहलले पुगेन भने मन्त्री तथा प्रधानमन्त्री तहबाटै पहल गरेर भएपनि ठेकेदारलाई झिकाउनुपर्छ,’ मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?