+
+

प्रिय पुस्तकः दुर्लभ कोटिको ‘सोधाइ र जवाफ’

अभय श्रेष्ठ अभय श्रेष्ठ
२०७३ मंसिर २५ गते १२:०६

बालकृष्ण पोखरेल भाषाशास्त्रीका रूपमा चिनिन्छन् । उनको कथासंग्रह ‘सोधाइ र जवाफ’ पढेपछि भाषाशास्त्रीभन्दा बढी उनी मलाई अब्बल कथाकार लाग्न थालेका छन् । २०११ सालमा छापिएको यो किताब चर्चा नभएको तर मेरो विचारमा नेपाली आख्यानकै पठनीय कृति हो ।

सस्तो मूल्यका किताबहरू स्वाभाविक रूपमा मेरो रोजाइमा पर्छन् । झन्डै २५ वर्षअघि ११ रुपैयाँ ४५ पैसामा मैले यो किताब किनेको हुँ । आखिर त्यही किताब मेरा प्रिय किताब बन्न पुग्यो । साहित्यिक भेटघाटमा बारम्बार यसबारे मैले चर्चा गरेको छु । साझा प्रकाशनका कुनाकाप्चामा कतै अझै यो किताब भेटिन सक्छ ।

मैले धेरैलाई यो किताब सिफारिश गरेको छु । कतिलाई उपहारै दिएको छु । यसका कथाहरू पक्का नेपाली बान्कीका छन् । आफूलाई विश्व परिस्थितिको चेतनासम्पन्न साहित्यकार भनेर आत्मश्लाघा गर्नेले पोखरेलबाट सिके नेपाली कथाकै भलो हुनेछ । तिख्खर भाषा र सुन्दर शैलीका यस्ता कथा नेपाली साहित्यमा झन्डै दुर्लभ छन् ।

‘सोधाइ र जवाफ’ अत्यन्त मार्मिक कथा हो । मेरो अनुभवमा यो नेपाली राजनीतिको सबैभन्दा ज्वलन्त समस्या पनि हो । कथाको नायक झुमकबहादुरले २००७ सालको मुक्तियुद्धमा एउटा खुट्टा गुमाएको हुन्छ । देशमा प्रजातन्त्र आउनुमा उसको रगतको ठूलो योगदान थियो । तर, प्रजातन्त्रमा पनि युद्धका बेला योद्धाको सुराक गर्ने प्रतिक्रियावादीकै रजगज भयो । युद्धमा गोली लागेर लड्दा साथीहरूले उसलाई त्यसै छाडेर हिँडेका थिए । उसले पानी पनि पाएन । बल्ल एउटा साथीले आफ्नो पाखुरा बन्दुकले प्वाल पार्‍यो । त्यसबाट झरेको रगत खुवाएर उसले झुमकलाई बचाएको थियो ।

किताबमा पाठकलाई भित्रैदेखि हल्लाउने अरु थुपै कथा छन् । ‘एउटा रमाइलो स्वर्गमा नारकी बादल’ ले पाठकलाई संवेदनाको शिखरमा पुर्‍याउँछ

झुमक अब अपांग मात्र थिएन, उसका सारा सपना बर्बाद भएका थिए । प्रतिक्रियावादीहरू उसैलाई हेपिरहेका थिए । कुनै बेलाकी प्राणप्यारी जुरेली पनि उसलाई लोप्पा खुवाएर अर्कै भुसतिघ्रेसित लहसिएकी थिई । झुमक छिमेककै एकखुट्टे केटीसित प्रेम गाँस्ने कल्पना गर्छ । तर, त्यस्तो विराम अब ऊ गर्न चाहँदैन । मान्छे भाले-पोथीको प्रेमका लागि मात्र होइन । उसकी प्यारी आमा केही महिनाअघि मात्र उसलाई चटक्क छाडेर गइन् ! त्यस्तो कुरामा चित्त बुझाउनेले स्वास्नीसितको साइनोको मूल सुक्दैमा किन चिन्ता गर्नु ?

पाँच वर्षअघि मुक्तियुद्धमा उसलाई गोली लाग्दा उसको ‘साँचो मीत’ ले भनेको थियो, ‘तिमीलाई थाहा हुनुपर्ने हो, तिम्रो ज्यान देशको ज्यान हो । तिमी यसलाई मनपरी नास्न पाउन्नौ ।’ बिचरा झुमक यो सम्झेर खिसिक्क हाँस्नबाहेक केही गर्न असमर्थ छ । यो कथा हरेक क्रान्तिका जिउँदा शहीदहरूको ज्वलन्त र हृदयविदारक कथा हो । नयाँ व्यवस्था ल्याउन रगत दिनेहरू लंगडा र डुँडे, काम र मामविहीन हुन्छन् । यता, चमेराहरूले भाउ पाउँछन् । गणतन्त्र नेपालमा पनि यही भइरहेको छ ।

किताबमा पाठकलाई भित्रैदेखि हल्लाउने अरु थुपै कथा छन् । ‘एउटा रमाइलो स्वर्गमा नारकी बादल’ ले पाठकलाई संवेदनाको शिखरमा पुर्‍याउँछ । बंगाली युवक अजोय बोस, नेपाली मूलका केशव र नारान दार्जिलिङबाट हिमालको पैदलयात्रामा हिँड्छन् । प्रकृतिको स्वर्गीय आनन्दको बयानबाट कथा थालनी हुन्छ अनि बेथा र वेदनाको चुलीमा पुगेर सकिन्छ । जुम्लाको रिमी गाउँ अर्थात् आधुनिक रिमालहरूको पूर्वथलोमा सैनिकहरू अजोयको नाममा स्थानीय बासिन्दामाथि गर्नु अन्याय गर्छन् । प्रतिक्रियामा अजोय त्यहीँ बसेर प्रायश्चित गर्ने प्रण गर्छ । मानवताप्रति उसको प्रेमले भक्कानो छुट्ला झैं हुन्छ ।

‘अजोयको नाममा जोन अत्याचार भयो, त्यसलाई मेटाउन ऊ ह्याइँ बोस्छ,’ छुट्टिन लाग्दा आँसुको रुवावासी गरिरहेका दुई साथीलाई अंकमाल गर्दै बंगाली लेघ्रो तानेर अजोय भन्छ, ‘प्रियो नारान, छि, तुमी क्यान रुन्छ ? तुमी तो कलाकार । तुमी दार्जिलिङको प्राण । प्रियो केशोव, तुमीसोङ पनि मो माफी माग्छ । अजोयको जम्मोइ त्रुटिलाई बिर्सनू ल ? दार्जिलिङलाई भनिदिनू अजोय मोर्‍यो । तोइपनि उसले चिनो पोठाएको छ एउटा उपन्यास । यो उपन्यास मेरो घरका मानिसलाई दिनू ।’

‘तिमी अर्काकी देशकी भयौ’ मा आफूलाई प्रगतिशील भन्ने तर कुहिएको परम्पराकै दास बन्ने हुतिहाराप्रति व्यंग्य छ । ऊबाट धोका पाएपछि एक मगर युवती अर्कै देशको बुढो ठाकुरसाहेबकी कान्छी बन्न बाध्य हुन्छे । नेपालमा युवतीहरूको कमी छैन । यस्तै युवकका कारण तिनीहरू फेरि पनि मुम्बई, बनारसलाई रङ्गीन बनाउन बाध्य छन् ।

ऐतिहासिक घटनामा आधारित ‘सुनकेशा मैया’ मा जाड राजा र खस राजकुमारीको प्रेमको अनुपम कथा छ । नेपालमा सबै वर्ग र जात रगत र प्रेममा जुगदेखि मिल्दै आएका थिए भन्ने कथाले मार्मिक सन्देश दिन्छ । जाडहरू बर्बर हुन्छन् भन्ने एकपाखे धारणालाई कथाले गलत सावित गरिदिएको छ । ‘अरुन्धती’, ‘ढुंगामा टुसाएको उनिउ’, ‘भ्यागुतो भएको बाकस’ अन्य सुन्दर कथा हुन् ।

नेपाली सञ्चारमा किताबसम्बन्धी वार्ता वा अध्ययनसम्बन्धी रिपोर्टिङहरू पढेर हाँस्नबाहेक केही गर्न सकिन्न । साहित्यको सामान्य रूपरेखा पनि नबुझेकालाई साहित्यिक अध्येता भनिएका उदाहरण अनेक छन् ।

एसिएन एजको आइतबारे परिशिष्टांकको झल्को दिने कतिपय वार्ता स्तम्भमा प्रश्न गरिएका हुन्छन्, तपाईँले सबैभन्दा बढी पटक पढेको किताब कुन हो ? कुन किताबको कुन पात्रलाई सबैभन्दा बढी सम्झनुहुन्छ ? जवाफमा कि त प्रायोजित हिसाबले आफ्ना मान्छेको किताबको नाम लिइन्छ । कि त विदेशी किताब ।

एउटा प्रवृत्ति नै छ, जति बढी विदेशी पात्र र किताबको नाम लिन सक्यो, यहाँ त्यति नै बढी बौद्धिक ठानिन्छ । तर, तिनीको हालत त्यस्तै हुन्छ जो भनिरहेका हुन्छन्, ‘शेक्सपियरको उपन्यास बिलोभेड र टनी मरिसनको नाटक ह्यामलेट’ वा ‘गीताञ्जलीका अनुवादक जोन यिट्स र नोबेल पुरस्कार विजेता विलियम बटलर किट्स’ ।

नेपालीमा पढ्नलायक किताब र सम्झनलायक चरित्रहरू छैनन् ? अवश्य छन् । एउटा आत्मस्वीकृति, झन्डै ६ वर्षघि छापिएको मेरो कथाकिताब ‘तेस्रो किनारा’ को मूल्य दुई सय रुपैयाँ थियो । त्यसको बजार र पाठक प्रतिक्रिया ठीकठीकै भयो । पोखरेलको किताब मेरो किताबभन्दा झन्डै १८ गुणा सस्तो छ । तर, त्यसको गुणस्तर मेरो किताबभन्दा २० गुणाभन्दा बढी छ । उनी झन्डै मेरा हजुरबाको समवयी होलान् । तर, उनको भाषा र शैली मेरोभन्दा कैयन् गुणा बढी छरितो, सम्प्रेष्य र आधुनिक छ ।

तपाईँ साहित्यको असल पारखी हुनुहुन्छ भने ‘सोधाइ र जवाफ’ अवश्य पढ्नुहोस् । कतै नपाइए यसको पुनः मुद्रणका लागि प्रकाशकरूलाई झकझक्याउनुस् ।

[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?