Comments Add Comment

कामदारका लागि खाडीको बिकल्पमा नयाँ गन्तब्य खोज्ने काममा प्रगति ‘शून्य’

सिन्को भाँचेन सरकारले

Golf-country, Baideshik Rojgari
२७ मंसिर, काठमाडौं । सरकारले नेपाली कामदारका लागि मलेसिया र खाडी मुलुकबाहेक नयाँ श्रम गन्तब्य खोजेर खुला गर्ने योजना बनाएको वर्षौं बितिसक्यो । मलेसिया र साउदीमा नेपाली कामदारको माग घट्दै गएर देशमा थप बेरोजगारी बढ्ने स्थिति पैदा हुँदा पनि सरकारले यसका लागि सिन्को भाँचेको छैन ।

सरकारले नेपालीको नयाँ श्रम गन्तब्य प्रर्वद्धनका लागि भन्दै गठन भएको समितिले सिफरिस गरेका देशमा अध्ययन गर्न पनि भ्याएको छैन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पनि नयाँ श्रम गन्तब्य तयार गर्न कुनै काम गर्न नसकेको स्वीकार्छन्, बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले । उनले विभिन्न कारणहरुले नयाँ गन्तब्यको खोजीको लागि काम हुन नसकेको बताए ।

‘कुन-क्न देशमा नेपाली कामदार जानसक्छन्, ति देशको वातावरण र अवस्था र श्रम कानुन कस्तो छ, अनि कस्ता कामदार ति देशमा चाहिएको छ भनेर अध्ययन हुनुपर्ने हो । तर, बिबिध कारण यो काम हुन सकेके छैन ।’ उनले नयाँ गन्तब्य पहिचानका लागि बनेको समितिलाई पनि काम गर्न अप्ठेरो बताए ।

सो समिति अहिले निस्क्रीय छ । अब म्याद सकिन लागेकाले यो समिति विस्थापित भएपनि नयाा समितिमार्फत काम अघि बढाउने योजनामा सरकार छ ।

समितिले एकचरणमा अध्ययन गरेर पाँचवटा देशहरु सम्भाब्य भन्दै सिफारिस पनि गरेको थियो । थप अध्ययनका लागि समितिका सदस्यहरु विदेश जान चाहेका थिए ।

तर, अर्थ मन्त्रालयबाट समितिको विदेश भ्रमण स्वीकृत नभएपछि बोर्डसँग समति सदस्यहरु रुष्ट छन् । अहिले बोर्ड र समितिका सदस्यबीच तीब्र मतभेद छ । त्यसैकारण नयाँ गन्तब्य खोज्ने काममा कुनै प्रगति भएको छैन ।

कुन-कुन देश पहिचान भए ?

नयाँ बजारको खोजी गर्न बनेको समितिले सबैभन्दा बढी सम्भावना भएको मुलुकका रुपमा उत्तर अमेरिकी मुलुक क्यानाडालाई पहिचान गरेको थियो । क्यानडामा दक्ष कामदारहरुको माग उच्च भएकाले त्यहाँ विभिन्न सीप भएका नेपाली कामदार पठाउन सकिने समितिका संयोजक हरि लम्साल बताउँछन् । यो नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तब्य हुने समितिको निश्कर्ष छ ।

यसैगरी एसियाली देश सिंगापरमा पनि दक्ष कामदारको माग रहेकाले त्याहाँ बजार प्रर्वद्धन गर्न सकिने समितिले जनाएको छ । युरोपेली मुलुक पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता देखिएको लम्सालले बताए । समितिले १५ वटा मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि पाँचवटालाई प्राथकिता दिएर बजार प्रर्वद्धन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी मुलुकसम्म छन् । अफ्रिकामा डाक्टर, इन्जिनियर लगायत दक्ष कामदारको उच्च माग छ ।

दक्षिण एसियाली देश माल्दिभ्स सहित पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुनसक्ने समितिको प्रारिम्भक निश्कर्ष थियो ।

पहल नै भएन

समितिको प्रतिवेदनअनुसार नयाँ सम्भाब्य देशहरुमा सरकारले कामदार लैजानेबारे कुनै कुटनीतिक पहल भने गरेको छैन । कुटनीतिक पहल र बिस्तृत अध्ययन बिना नयाँ श्रम गन्तब्य पहचिान हुन नसक्ने बोर्ड बताउँछ ।

तर, अहिले कुनै पनि निकायले यसका लागि पहलकदमी लिएका छैनन् । खाडीको बिकल्प दिएर नेपाली कामदारको वैदेशिक यात्रालाई सहज, सुरक्षित र लाभदायी बनाउन सरकारकातर्फबाट काम गर्न नसकिएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारी पनि स्वीकार गर्छन् ।

एउटा निकायले अर्को निकायलाई दोष दिएर पन्छिने प्रवृत्ति यो काममा पनि देखिएको छ । त्यसैले नेपाली कामदारले तत्काल नयाँ श्रम गन्तब्य मुलुकमा जान पाउने सम्भावना न्युन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment