+
+

इतिहासको पाना: कलाकारको जीवनमा त्यस्ता काँडेतार

स्टेजमा नाट्यकर्मीको 'गर या मर' हालत

हरिहर शर्मा हरिहर शर्मा
२०७३ मंसिर २८ गते १८:३३

harihar-sharma-1-final

तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले त्यो समय नियमित नाटक देखाउँथ्यो । एउटै नाटक महिना दिनसम्म मञ्चन हुन्थ्यो । विजय मल्लले लेखेको र मैले निर्देशन गरेको नाटक ‘पहाड चिच्याइरहेछ’ प्रज्ञा प्रेक्षालयमा मञ्चन भइरहेको थियो । दुई घन्टा लामो नाटक २५ दिनसम्म लगातार चलेको थियो ।

१६औं दिनमा पनि हलभरि दर्शक खचाखच थिए । नाटक मञ्चन भइरहेको थियो । मञ्चमा म, शकुन्तला शर्मा र मुरलीधर गरी तीन जना अभिनय गर्दै थियौं । शकुन्तला मुख्य महिला पात्र थिइन् । त्यतिबेला हाम्रो विवाह भइसकेको थियो । वास्तविक जीवनमा उनको पति भए पनि नाटकमा भने म शकुन्तलाको प्रेमी बनेको थिएँ, जो एउटा खुट्टा नभएको अपांग हुन्छ ।

रिटायर्ड मेजरको भूमिकामा मुरलीधर हुनुहुन्थ्यो । ग्रामीण परिवेशको चित्रण रहेको नाटकमा उहाँँले शकुन्तलालाई मन पराउने कथावस्तु थियो । शकुन्तलाले मसँग बिहे गर्न लागेको भनरे उहाँ बीचमा आएर शकुन्तलालाई तानेर लैजानुपर्ने दृश्य थियो ।

नाटक पूरा भावमा बगिरहेको छ । डायलगहरु रफ्तारमा चलिरहेको छ । मुरलीधरले शकुन्तलाको पाखुरामा समातेर तान्नुभयो ।

एकछिनमा मैले स्टेजमा देखेँ, शकुन्तलाको कुहिनाबाट रगत चुहिएर आहाल बनिसकेछ । नाटक उत्कर्षमा अघि बढिरहँदा मुड एउटा छ, त्यसरी रगत देख्दा मेरो एक्सप्रेसन नै चेन्ज हुने अवस्था आयो । तर, म विचलित भइनँ । म त देख्ने मान्छे मात्र थिएँ, रगत नै बग्दा शकुन्तलालाई झन् के भएको होला भन्ने लाग्यो । तर, शकुन्तलाको अनुहारमा कुनै परिवर्तन देखिनँ ।

harihar-sharma-2-final

उनले अभिनयकै क्रममा सारीको सप्को पाखुरामा बेरेर घाउ थामथुम पार्ने प्रयास गरिन् । नर्भस भएर त्यत्तिका दर्शकको अगाडि नाटक कमजोर पार्ने त त्यहाँ मौकै थिएन । त्यसपछि पनि करिब आधा घण्टा नाटक बाँकी नै थियो । बाँकी समय पनि उस्तै स्पिरिटमा अभिनय गर्दै ‘सो’ पूरा गर्‍यौं ।

नाटक सकिएपछि ‘ब्याक स्टेज’मा गएर हेरियो, फुटेको चुरा गढेर शकुन्तलाको पाखुरामा गहिरो र लामो घाउ भएछ । चुराका टुक्राहरू पनि गाडिएको रहेछन् । त्यहाँबाट उनलाई तुरुन्तै वीर अस्पतालको एमर्जेन्सीमा लगियो । दस वटा टाँका लगाउनुपर्‍यो ।

त्यसको भोलिपल्ट पनि त्यो नाटक गरियो । उसैगरी शकुन्तला उभिइन् मञ्चमा । त्यसरी नियमित रुपमा नाटक गरिरहँदा आफूलाई तलमाथि भए पनि त्यहाँ कसलाई देखाउने ? कसलाई भन्ने ? कलाकार भएपछि कुनै बहानामा छुट पाइँदैन भन्ने उदाहरण हो त्यो । हामी ‘गर या मर’को स्थितिमा हुन्छौं । त्यही हो कलाकारको इमान्दारी र नैतिकता ।

मरेको मान्छेले आँखा झिम्काउन नपाउँदा

आफू मुख्यगरी नाट्यकर्मी भए पनि मैले फिल्म पनि धेरै खेलेको छु । अधिकांश फिल्मका सुटिङमा रमाइलै हुन्छ । तर, कलाकारको जीवनमा अप्ठेराहरू पनि आइपर्छन् ।

करिब १२ वर्षअघिको कुरा । आकाश अधिकारीको चलचित्र ‘शासन’ मा रेखा थापाको बुवाको भूमिकामा खेल्दै थिएँ । माघ महिनाको मुटु कमाउने जाडो, रातिको सुटिङ र खुला सडक । ललितपुरको पुल्चोकमा सुटिङ हुँदै थियो ।

 

म सवारी दुर्घटनामा परेर मरेको दृश्य खिच्नुपर्ने थियो । त्यस्तो जाडोमा दमकलले माथिबाट पानीको फोहोरा हाल्दिएर मुसलधारे पानी परेको दृश्यमा सुटिङ हुँदै छ ।

मरेको बूढो मान्छे बनेर म सडकमा उत्तानो लडेको छु । मुख आँ भएर खुल्लै छ । आँखा आधा खुल्लै छ । मरेको मान्छेले आँखा झिम्काउन पनि पाइएन, मुख बन्द गर्न पनि मिलेन ।

harihar-sharma-3-final

माथिबाट मुसलधारे पानी बर्सिरहँदा आँखा र मुखमा पानी परिरहेको छ । ‘क्लोज सट’ मा खिचिँदै गरेकोले राम्ररी सास पनि फेर्न पाइरहेको थिइनँ ।

सट लिइरहँदा मलाई त बीचैमा सास रोकिएला जस्तो भयो । प्राणै जाने अवस्था आएपछि म जुरुक्क उठेँ । लामो सास फेरेँ । नाक र मुखबाट पानी पसेर मलाई गाह्रो भएको थियो । पछि जेनतेन सुटिङ पूरा गरियो ।

कलाकारिता यात्रामा यस्ता जोखिम र असहजताहरु थुप्रै हुन्छन् । कतिपय अवस्थामा त काँडेतारमा लथपथ हुँदै अगाडि बढ्नुपर्छ । त्यसका बाबजुद पनि बडो रमाईरमाई काम गर्ने बानी पार्नुपर्दो रहेछ ।

मागेको कोटले वासुदेव मख्ख !

चलचित्र ‘वासुदेव’ मा मुख्य चरित्र प्रोफेसर वासुदेवको भूमिकामा छानिएको थिएँ ।

मेरो पहिलो सट रातिको समयमा खिचिने तयारी हुँदै थियो । दरबारमार्गको सेतो दरबारभित्र इन्डोर सुटिङ थियो । म वासुदेव क्यारेक्टरको लुगा लगाएर सुटिङको लागि तयार हुँदै थिएँ ।

प्यान्ट, कमिज र टाई त मेरो आफ्नै थियो । कोट चाहिँ मसँग थिएन । प्रोडक्सनबाट कोट दिइयो ।

हेर्दाखेरि लम्बाइ-चौडाइ सबै हिसाबले कोट मलाई ठिक्क नै भएको छ । तर, मलाई कता के नमिले जस्तो असहज भइरहेको थियो । जुन रुपमा फिटिङ भएर क्यारेक्टरलाई आत्मविश्वास दिनुपर्ने हो, त्यो भइरहेको थिएन । मलाई मात्र त्यस्तो महसुस भएको होला भन्ठानेको थिएँ, तर होइन रहेछ । निर्देशक नीर शाहलाई पनि त्यस्तै लागिरहेको रहेछ ।

उहाँले असन्तुष्टि पोख्नुभयो, ‘यो कोट अल्लि खाएन तपाईंको जिउमा ।’

त्यो कोटले मलाई कस्तो अप्ठेरो पारेको थियो भने, आफ्नो संवाद पनि बिर्सिरहेको थिएँ । मुड अफ भइरहेको थियो ।

रातिको साढे आठ बजेको हुँदो हो । त्यति राति अर्को कोट खोज्न पनि कता जाने ? सबै पसलहरू बन्द भइसकेका थिए ।

त्यत्तिकैमा सुटिङ हेर्नका लागि साहित्यकार डा. ध्रुवचन्द्र गौतम त्यहाँ टुप्लुक्क आइपुग्नुभयो । उहाँकै उपन्यास ‘कट्टेल सरको चोटपटक’ मा आधारित भएर ‘वासुदेव’ बन्दै थियो । फिल्मका लागि उहाँले नीर शाहसँग मिलेर पटकथा पनि लेख्नुभएको थियो ।

मेरो आँखा झट्ट उहाँको कोटतिर गयो ।

नीर शाहलाई खुसुक्क भनेँ, ‘दिए त डा. सा’बको कोट पो मलाई हुन्छ जस्तो छ ।’

उहाँले हाँस्दै ध्रुवचन्द्रसँग भनिहाल्नुभो, ‘डा. सा’ब, कोट चाहिँ वासुदेवलाई लगाउन दिने कि क्या हो ?’

डा. सा’ब पर्नुभो साह्रै सहृदयी मान्छे । ‘हुन्छ नि’ भन्दै अत्यन्त सहज रुपमा कोट सरक्क फुकालेर दिनुभयो ।

त्यो कोट पनि ठीक नहोला कि भनेर मनमा अलिकता धुकचुक छँदै थियो । तर, लगाउने बित्तिकै मेरो मुड त तुरुन्तै अन भयो । एकदम सहज लाग्यो ।

harihar-sharma-4-final

मैले पहिले लगाइरहेको कोट डा. सा’ब लाई दिन खोजेँ । जाडो महिना थियो । तर, उहाँले ‘हैन, ठीकै छ’ भनेर लगाउनुभएन । उहाँ स्कुटरमा आउनुभएको थियो । चिसो रातमा आफ्नो कोट सुटिङ युनिटकै जिम्मामा छाडेर उहाँ घर जानुभयो ।

त्यो कोट पाएपछि सुटिङ अघि बढ्यो । ‘वासुदेव’ को सुटिङ अवधिभरि मैले त्यही कोट अन्तिम समयसम्म लगाएँ ।

त्यही फिल्मको सुटिङ गरिरहँदा एक ठाउँमा निर्देशक नीर शाह र मलाई टेन्सन भयो । सुटिङ अन्तिमतिर पुगेको थियो । सिनेमाटोग्राफर प्रेम उपाध्यायको विशालनगरस्थित घरको बैठक कोठामा सुटिङ थियो ।

वासुदेव (म) र उसको मित्र कुमार (नीर शाह) बीचको दृश्य खिच्ने तयारी थियो । कुमारलाई वासुदेवले मार्नुपर्ने दृश्य थियो । तर, कुन तरिका अपनाएर मार्ने भन्ने चिन्ता छायो । निर्देशकका रुपमा नीरजी एकदम मौलिकतामा ध्यान दिनुहुन्छ । उहाँको राम्रो पक्ष चाहिँ कसो गर्दा राम्रो हुन्छ भनेर हामी साथीभाइहरुसँग पनि सोध्ने गर्नुहुन्थ्यो ।

वासुदेव त प्रोफेसर हो, त्यस्तो मान्छेले असभ्य रुपमा फाइट खेल्ने कुरा पनि भएन । तरबार चलाउने कुरा पनि भएन । के गर्ने भनेर नीरजी बगैंचामा चक्कर लगाइरहनुभएको थियो । यो पनि भएन, त्यो पनि भएन भनेर विभिन्न विकल्प सोचिरहँदा उहाँले नै आइडिया ल्याउनुभयो, वासुदेवले आफ्नो टाई निकालेर त्यसैले घाँटीमा कसेर कुमारलाई मार्ने ।

वासुदेव क्यारेक्टरले त सधैं टाई लगाइरहेको हुन्थ्यो । यसै कारण टाईले पासो लगाएर मार्नु पनि विश्वसनीय र स्वाभाविक हुन्थ्यो ।

गरेर हेरौं, राम्रो भयो भने त्यही अनुसार गर्ने भनेर हामीबीच कुरा भयो । अन्ततः सुटिङमा हामीले त्यही तरिका अपनायौं । प्राक्टिकल्ली गरेर हेर्दा त्यो जत्तिको उपयुक्त, त्यो जत्तिको मौलिक र त्यो जत्तिको सजीव अरु हुन्थेन भन्ने लाग्यो ।

टाईले मार्दा त्यति हिंसा पनि झल्किएन । खुकुरी, बञ्चरोको सहारा लिएको भए हिंस्रक देखिन्थ्यो होला । फिल्ममा हेर्दा सानो चिज लाग्छ, तर सुटिङका बेला कुनै चिज जीवन्त रुपमा खिच्ने क्रममा मथिंगल कतिसम्म हल्लाउँछ भन्ने एउटा उदाहरण हो त्यो ।

‘वासुदेव’ चलचित्र सबैले रुचाए । वासुदेव क्यारेक्टरको रुपमा मेरो काम पनि मन पराइयो ।

मार्ने सिनमा वासुदेवले आफूसँगै भएको वस्तुको उपयोग गरेकोले कतैबाट पनि अस्वाभाविकता झल्किएन । आफ्नो वरपर र साथमा कुनै पनि चिजहरु छन् भने तिनीहरुको प्रयोग गरेर राम्रो नतिजा ल्याउन सकियो भने सबैले सहज रुपमा स्विकार्ने रहेछन् ।

प्रस्तुति: जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?