+
+

बानेश्वरको एभरेष्ट होटलमा डेढ वर्षदेखि किन झुण्डियो ताल्चा ?

लागूऔषधको लफडादेखि कर्मचारीको आन्दोलनसम्म

सुदिल पोखरेल सुदिल पोखरेल
२०७३ मंसिर २८ गते २०:४२

the-everest-hotel-kathmandu-1

२८ मंसिर, काठमाडौं । भूकम्प गएको एक महिनासम्म लगातार सञ्चालनमा रहेर मनग्य नाफा कमाएको नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट होटल एकाएक बन्द भएपछि अहिलेसम्म सञ्चालनमा आएको छैन । बाहना भूकम्पको भनिए पनि यो होटल बन्द हुनुको रहस्य बेग्लै छ ।

गलत रिपोर्ट पेश गरेर बीमा दाबी गर्ने दाउ र पुराना २ सय ७७ जना कर्मचारीहरु हटाएर नयाँ कर्मचारी राख्ने होटल सञ्चालकहरुको रणनीतिका कारण होटल हालसम्म सञ्चालनमा आउन नसकेको कर्मचारीहरु बताउँछन् ।

होटलका मालिकलाई लागू औषधको मुद्दा चलेको र उनले अहिले होटल बेच्ने प्रयास गरिरहेको आन्दोलनरत कर्मचारीहरु बताउँछन् । होटल यतिबेला पूर्ण रुपमा बन्द गरेर व्यवस्थापन पक्ष यसको पुनर्निर्माणमा भन्दा पनि सर्वोच्च अदालतसम्म मुद्दा मामिला गर्नतिर लागेको छ ।

शंकामा रातो स्टीकर ?

राजधानीका कैयन होटल बन्द हुँदा पनि यो होटल भने भूकम्पपछि जेठ १४ गते सम्म सञ्चालनमा आएको थियो । बैशाख १२ मा भूकम्प गएपछि पर्यटन विभाग र हानको संयुक्त टोलीले एभरेष्ट होटलमा बैशाख २३ गते हरियो स्टीकर टाँसेको थियो ।

तर, बैशाख २९ गते आएको भूकम्पपछि फेरि होटलमा क्षती पुगेको भन्दै सोही टोलीले रातो स्टीकर टाँसेको हो ।

everest-hotel-red-sticker-unsafe

होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यका अनुसार पछिल्लो भूकम्पबाट होटलका पिल्लरमा क्षति पुगेको छ । र, यो रेट्रोफिटपछि मात्रै सञ्चालनमा ल्याउन सकिन्छ ।

उनले भने, ‘बैशाख १२ गते गएको भूकम्पमा खासै असर नदेखिएको एभरेष्ट होटलमा बैशाख २९ गते आएको भूकम्पले भने तीनवटा पिल्लरमा क्षती पुर्‍याएको देखेका हौं, त्यसैका आधारमा रातो स्टीकर दिएको हो ।’

तर, कर्मचारीहरु भने षडयन्त्रपूर्वक स्टीकर टाँसेको दाबी गर्छन् । रातो स्टीकर टाँसेपछि जेठ १४ गते एक सूचना जारी गर्दै कम्पनीले कर्मचारीलाई एक हप्ताको छु्ट्टीमा बस्न भनेको थियो ।

फेरि २१ गते पनि निर्माणका लागि एक हप्ता बिदा बस्न सूचना दिएको एभरेष्ट होटलले जेठ ३२ गते भने सम्पूर्ण कर्मचारीलाई एकाएक जागिरबाट बर्खास्त गरेको थियो ।

बर्खास्त भएपछि केही कर्मचारीहरुले राजीनामा दिएर अन्तै जागिर गर्न सुरु गरेका छन् भने केही कर्मचारीहरु भने होटल पुनःसञ्चालन गर्नुपर्ने र तलब पाउनुपर्ने माग राख्दै धर्नामा बसेका छन् ।

होटलकी कर्मचारी इन्द्रकमल कुमारी कुवँर भन्छिन्, ‘भूकम्प आउँदा रातभर बारीमा सुतेर होटलको ड्युटीमा आइयो, ड्युटीमा नआएको भए त्यसबेलै राजिनामा देउ भन्थे, तैपनि बचेन जागिर ।’

बोल्नै चाहँदैन व्यवस्थापन समूह

the-everest-hotel-kathmandu-4

सन् १९८७ मा मक्बुल अहमद लारीले स्थापना गरेको एभरेष्ट होटलमा अहिले उनका भतिजा मस्कुर अहमद लारी प्रमुख रहेका छन् ।

मस्कुर अहमद लारी बिरुद्ध लागुऔषध ओसार-पसारको मुद्दा छ । जिल्ला अदालत काठमाडौंको फरार सूचीमा राखे पनि मस्कुरलाई अहिले प्रहरीले खोज्नसमेत छाडेको छ ।

केही होटल व्यवसायीहरु मस्कुरले यो होटल बेच्न खोजेको बताउँछन् । एक होटल व्यवसायीले भने-‘आन्तरिक कलहका कारण एभरेष्ट सञ्चालनमा आएको छैन, व्यवस्थापन समूह होटल बेच्न खोजिरहेको छ ।’

होटलको रेखदेखमा रहेका कर्मचारीहरुका अनुसार पनि अहिले कैयन मानिसहरु बेलाबेलामा होटल बिक्रीमा छ रे भन्दै हेर्न आउँछन् ।

भूकम्पबाट क्षति पुगेको भनिए पनि होटलले अहिलेसम्म पुनर्निर्माणलाई अघि बढाएको छैन ।

पुननिर्माणका बारेमा जान्न खोज्दा होटलको उच्च तहमा रहेका कर्मचारीहरु बोल्नै चाहँदैनन् ।

एभरेष्ट होटलका मानव संसाधन म्यानेजर नारायण पौडेलले अनलाइनखबरसँग कुरा गर्दै आफुलाई होटलको पछिल्लो स्थितिबारे केही पनि थाहा नभएको बताए ।

उनले भने, ‘मैले होटलबाट राजीनामा दिएको छैन, तर मलाई यो होटलका बारेमा केही पनि जानकारी छैन ।’ साथै उनले यही होटल सम्बद्ध अन्य मानिसहरुका बारेमा पनि आफूलाई जानकारी नभएको दाबी गरे ।

१० अर्बको सम्पती अलपत्र

the-everest-hotel-kathmandu-3

३२ रोपनी क्षेत्रफलमा फैलिएको एभरेष्ट होटल कुनैबेला देशकै चर्चित ५ तारे होटलमा पर्दथ्यो । र, विदेशी पाहुनाको विशेष आकर्षणमा समेत पर्दथ्यो । तर, अहिले कर्मचारीसँगको विवाद र व्यवस्थापनको होटल व्यवसायप्रतिको उदासीनताले एभरेष्ट होटललाई उजाड बनाएको छ ।

लारी परिवारमा पनि यो होटलको विषयलाई लिएर विवाद चलिरहेको छ । मक्बुल अहमद लारी र उनका छोरा मजफुर अहमद लारीको यसमा कुनै समय ५० प्रतिशतभन्दा बढी सेयर भएको कर्मचारीहरु बताउँछन् । तर, पछि कीर्ते कागज गरी मस्कुरले मक्बुलको सेयर आफ्नो नाममा सारेको भन्दै मजफुर अहमद लारीले आरोप लगाएका थिए । जसका कारण यसको भित्री व्यवस्थापन पनि आन्तरिक कलहमै गुजँदै आएको छ ।

कर्मचारीः कोही राजीनामा ठोक्दै, कोही धर्ना बस्दै

होटल सञ्चालनमा नभए पनि यसअन्तर्गतको मजदुर संगठनको कार्यालय भने खुल्ला रहने गरेको छ । होटल सञ्चालनमा नआएका कारण कैयन कर्मचारीहरु लामो समयदेखि तलबविहीन भएका छन् ।

everest-hotel-karmachari

कैयनले राजीनामा दिएर गएका छन् भने केही कर्मचारीहरु होटल पुनः सञ्चालन हुने आशमा अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुरा महासंघको एभरेष्ट होटल मूल इकाइ समितिको कार्यालय अघि धर्ना दिइरहेका छन् ।

कुल २ सय ७७ जना कर्मचारीमध्ये १ सय ३३ जना कर्मचारीहरुले राजीनामा दिइसकेका छन् । बाँकी कर्मचारीहरु धर्नामा संलग्न छन् । अहिले कर्मचारीहरु पालैपालो दिनमा ३० जनाको दरले धर्ना बस्ने गरेका छन् ।

होटल पुनःसञ्चालनमा ल्याउनुपर्ने कर्मचारीहरुको माग छ । गलत रिपोर्ट पेश गर्दै बीमा दाबी गर्ने सञ्चालकहरुको दाउका कारण कर्मचारीहरु मर्कामा परेको अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुरा महासंघको एभरेष्ट होटल मुल इकाइ समितिका सचिब राजु बरुवाल बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘श्रम ऐनवमोजिम श्रम मन्त्रालयको अनुमतीपछि मात्रै केही सीमित कर्मचारी कटौती गर्न पाइने प्रावधान छ, तर एभरेष्टको व्यवस्थापनले एकाएक सबै कर्मचारी हटायो, यो षडयन्त्र हो ।’

बरुवालका अनुसार होटलले ओरियन्टल इन्सुरेन्समा ४० करोडको बीमा गरेको छ । यही बीमा दावी गर्नका लागि नै गलत रुपमा होटलमा रातो स्टीकर टाँसेको कर्मचारीहरुको आरोप छ ।

पुनर्निर्माण छाडेर मुद्दा मामिलामा रुची

the-everest-hotel-kathmandu-2

जेठ १४ गते होटलले एकाएक निस्काशन गरेपछि कर्मचारीहरु तत्कालीन पुनरावेदन अदालत पुगेका थिए । असार ६ गते अदालतमा कर्मचारीले होटल प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए । अदालतले असार ९ गते अन्तरिम आदेश दिँदै उक्त निर्णय बदर गर्दै कर्मचारी हटाउने निर्णय तत्काललाई खारेज गर्न भनेको थियो ।

तत्कालीन श्रममन्त्री दीपक बोहराले पनि उक्त निर्णय खारेज गर्न भनेका थिए । श्रम कार्यालयले पनि निर्णय खारेज गर्दै कर्मचारीलाई तलब प्रदान गर्न निर्देशन दिएको थियो । अहिले होटलको व्यवस्थापन समूह उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै उक्त फैसला बोकेर सर्वाेच्च अदालत पुगेको छ ।

त्यस्तै श्रम कार्यालयको निर्णय चित्त नबुझेको भन्दै होटल व्यवस्थापन समूहले श्रम कार्यालयको फैसला उपर पनि श्रम अदालतमा मुद्दा दायर गरेको छ । अहिले होटलको व्यवस्थापन होटलको पुननिर्माण गरेर सञ्चालनमा ल्याउने भन्दा पनि मुद्दामामिलामै व्यस्त देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?