Comments Add Comment

माओवादी मन्त्रीको जायजेथाः धनमाया धनपति, प्रचण्ड सर्वहारा !

सुँगुर र भैंसीदेखि भारतमा श्रीमतीको घरसम्म

२९ मंसिर, काठमाडौं । सरकारमा सहभागी माओवादीका मन्त्रीमध्ये सबैभन्दा धनीमानी को होला ? प्रधानमन्त्री प्रचण्ड ? होइन, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगु माओवादीका सबैभन्दा धनी ठहरिएका छन् भने शिक्षा राज्यमन्त्री धनमाया बिक खनाल दोस्रो धनी देखिएकी छिन् ।

सरकारमा सहभागी माओवादी मन्त्रीहरुको सम्पत्ति विवरण यस्तो छः

प्रधानमन्त्री प्रचण्डः ३ तोला सुन, एक कट्ठा जमीन

prachanda-001

सर्वहारा वर्गको पार्टी भनिने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘सर्वहारा प्रधानमन्त्री’ भएको सम्पत्ति विवरणले देखाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग श्रीमती सीता दाहालका नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुनबाहेक कुनै सम्पत्ति नभएको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति पनि प्रचण्डको पैत्रिक सम्पत्ति हो । (प्रचण्डको थप समाचार यहाँ पढ्नुहोस्)

अर्थमन्त्री महराः बाँझो जमीन र ८० हजार

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस वडा नम्बर-८ मा पैतृक सम्पत्तिका रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ ।

यस्तै लिवाङ्गमै ८ रोपनीको सुख्खा पाखो रहेको छ । उक्त जमीन पनि उत्पादनमा प्रयोग भएको छैन । महराका नाममा एभरेष्ट बैंकमा जम्मा ८० हजार रुपैँया बचत रहेको छ ।

शिक्षामन्त्री पौडेल: ४ लाख नगद, दुईवटा भैंसी, ५ तोला सुन

Dhaniram-Paudelशिक्षा मन्त्री धनीराम पौडेलसँग चितवन माडीमा २ विघा जमिन छ । यो उनले वि.स. ०५५ सालमा पैत्रिक सम्पत्तिबाट खरिद गरेका हुन् । उनीसँग ५ तोला सुन छ । त्यो सुन उनकी श्रीमती, आमा र भाइबुहारीले प्रयोग गदै आएका छन् ।

यस्तै उनका नाममा विभिन्न बैंकमा करिब ४ लाख बचत छ । सांसदको तलब भत्ता र क्रमिक बचतबाट उक्त पैसा बचत भएको उनले उल्लेख गरेका छन् ।

यस्तै श्रीमती र उनका नाममा ५ लाख बराबरको २८ सय कित्ता शेयर रहेको छ ।

मन्त्री धनीरामसँग धनमात्र छैन, थप १ लाख ५० हजार ऋण समेत छ । यस्तै उनीसँग २ वटा भैंसी र २ वटा बाख्रा छन् ।

स्थानीय विकास मन्त्री पाण्डेः १३ लाख ९ तोला सुन

स्थानीय विकास मन्त्री हितराज पाण्डेसँग विभिन्न बैंकमा १३ लाख रुपैँया बचत छ । शिक्षकको पेन्सन, शहिद परिवारका लागि राज्यले दिएको पैसासहित गरेर उक्त पैसा बचत भएको हो ।

यस्तै उनका नाममा १६ सय १४ कित्ता शेयर रहेको छ । उनले कुलमान गिरीलाई पसल चलाउन १० लाख ऋण सापटी समेत उपलब्ध गराएका छन् । यस्तै गोरखा पालुङटारमा १० हजारमा खरिद गरेको १ रोपनी ३ आना जमीन छ भने गाउँमा १६ रोपनी पैत्रिक पाखो जमीन छ । पाण्डेसँग ९ तोला सुन छ ।

सञ्चारमन्त्री सुरेन्द्र कार्कीः २० लाख बचत, भारतमा घर

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग १२ लाख बैंक बचत छ । उनका छोराका नाममा ८ लाख बचत छ । भने १० तोला सुन छ । यस्तै श्रीमतीका नाममा सिक्किम र दार्जीलिङ्गमा घर जग्गा रहेको उनले उल्लेख गरेका छन् ।

उर्जामन्त्री शर्माः १३ लाख बचत, सगोलमा ६० लाख

उर्जामन्त्री जनार्दन शर्माकी श्रीमतीका नाममा १३ लाख लाख ६० हजार बैंक बचत छ । यस्तै श्रीमतीकै नाममा ५ हजार कित्ता शेयर छ । उनका तीन दाजुभाइका नाममा ६० लाख रुपैँया बराबरको सम्पत्ति छ ।

रुकुममा रहेको ४८ रोपनी पैत्रिक सम्पत्ती ६० लाखमा बिक्री गरेको र त्यो सगोलमा रहेको विवरणमा उल्लेख छ ।

कानुनमन्त्री नायकः १३ विघा जमीन

कानुन मन्त्री अजय शंकर नायकसँग आफ्नै नाममा कत्तिपनि सम्पत्ति नभएको विवरणमा उल्लेख छ । सिराहा वडमरामाल गाविस वडा नम्बर ६ मा सगोलमा ५ विघा ८ कट्ठा जमिन रहेको छ । उक्त जमिन उनको पैतृक सम्पत्ति हो । यस्तै सिराहा, धनुषा र उदयपुरमा गरेर थप ९ विघा पैत्रिक जमिन रहेको छ ।

यस बाहेक उनीसँग व्यक्तिगत रुपमा कुनै सम्पत्ति नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

राज्यमन्त्री धनमायाः ५८ लाख बचत, डेढ लाखको पलङ

Dhanmaya BKशिक्षा राज्यमन्त्री धनमाया वि.क.ले पेश गरेको सम्पत्ति विवरणमा विभिन्न बैंकमा करिब ५८ लाख रुपैँया बचत देखाइएको छ । योसँगै उनीसँग धनकुटामा ४५ रोपनी पाखो जमीन छ । उक्त जमिन उनका बुवाको नाममा छ ।

यस्तै धनमायाले धनकुटा नगरपालिकामा ५ आना घडेरी किनेकी छिन् । यो उनले पारिश्रमिकबाट आर्जन गरेको उल्लेख गरेकी छिन् । यस्तै इटहरी नगरपालिकामा अर्को ६ आना घडेरी किनेकी छिन ।

सम्पत्ति विवरणमा जनाइए अनुसार धनमायासँग १० तोला सुन छ । विभिन्न बैंकमा गरेर उनीसँग ५८ लाख रुपैँया बचत छ । उक्त रकम शहिद परिवारलाई राज्यबाट दिएको पैसा र तलबभत्ताबाट जम्मा भएको विवरणमा उल्लेख गरेकी छिन् ।

यस्तै उनी विलासिताको सामानमा बढी खर्च गर्ने माओवादी नेतृमा दरिएकी छिन् । उनी करिब डेढलाख पर्ने महंगो पलङमा सुत्ने गरेकी उनैले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले एक थान आइफोन खरिदका लागि एक लाख ५० हजार खर्च गरेकी छिन् ।  यस्तै एक थान कम्प्युटरलाई ६५ हजार तिरेको उल्लेख गरेकी छिन् । उनले हरेक बस्तु खरिदमा तिरेको मूल्य र उपभोग गरेको सामानको मूल्य अस्वाभाविक देखिन्छ । यतिमात्रै होइन, धनमायाले २ थान ल्यापटपका लागि २ लाख ४० हजार तिरेको देखाएकी छिन् भने २ थान टिभीलाई १ लाख ५० हजार तिरेकी छिन् । चार थान दराजका लागि २ लाख ५० हजार तिरेको उल्लेख गरेकी छिन् ।

उनले एक थान सोफा सेटका लागिमात्रै १ लाख ५५ हजार खर्च गरेकी छिन् ।

राज्यमन्त्री तामाङः ऋण गरेर कृषि फार्म

कृषि राज्यमन्त्री राधिका तामाङ्गसँग ९ लाख ऋण छ । उनले काठमाडौं तारकेश्वरमा चार आना जग्गा खरिद र टहरा निर्माण गर्दा ऋण लागेको हो । त्यहाँ उनले कृषि फार्म रहेको बताएकी छिन् । उनले उक्त घडेरी १२ लाखमा खरिद गरेकी थिइन् । यस्तै उनीसँग पाँच तोला सुन छ ।

युवा तथा खेलकुद मन्त्री श्रीपाइलीः ऋणको भारी

Daljit-shreepailiयुवा तथा खेलकुद मन्त्री दलजीत विश्वकर्माका नाममा रुकुमको महत गाविसमा पुख्र्यौली घरबारी रहेको छ । यस्तै उनले जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाशबाट प्राप्त रकमले दाङ घोराही नगरपालिकास्थित सुकुम्बासी बस्तीमा १५ कठ्ठा जमीन खरिद गरेको देखाएका छन् ।

यस्तै उनकी श्रीमती सुनकुमारी वि.क.ले माइतीबाट विवाहमा पाएको २ तोला सुन रहेको छ । उनले आफ्ना नाममा कृषि विकास बैंक र एभरेष्ट बैंकमा गरी करिब ११ हजार रुपैयाँ बचत देखाएका छन् । यस्तै वि.क.ले विभिन्न व्यक्तिसँग १० लाख ऋण सापटी समेत लिएका छन् । उनले आफ्नी श्रीमतीको उपचारका लागि उक्त रकम ऋणमा लिएका हुन् ।

उनीसँग ५ हजार ५ सय पर्ने एक थान मोबाइल छ भने ८ हजारको एउटा घडी छ । यस्तै १२ हजार ५ सयको एउटा टीभी खरिद गरेका छन् । यो सबै उनले ०७२ सालमा खरिद गरेका हुन् ।

कृषि मन्त्री चौधरीः कैलालीमा घरजग्गा

कृषि मन्त्री गौरीशंकर चौधरीका नाममा कैलालीको बसौटीमा ४ वटा कच्ची घर छन् । धनगढीमा २ वटा पक्की घर छन् भने थप २ अर्को कच्ची घर रहेको छ ।

मन्त्री चौधरीसँग कैलालीमा पुख्र्यौली सम्पत्तिका रुपमा ४ विघा ६७ धुर जमीन छ । उनीसँग पाँच तोला सुन छ भने १० लाख रुपैँया बचत छ । सवारी साधनमा २ थान मोटरसाइकल रहेको छ ।

राज्यमन्त्री जगेबुः ५ करोडको जमिन, ५ लाखका किताब

Shree Prasad Jabeguस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुसँग पाँचथरमा करिब २२ लाख पर्ने ५३ रोपनी पाखो जमीन छ । यस्तै इलाममा २० लाख बराबरको ४ आनाको घडेरी छ ।

राज्यमन्त्री करोडपति मन्त्री हुन् । उनका नाममा पाँचथर फिदिममा थप करिब ५ करोड बराबरको जमीन र घडेरी रहेको उल्लेख छ । त्यसमध्ये बुवाका नाममा तीन करोडको जमीन छ । बाँकी श्रीमतीका नाममा रहेको छ ।  यस्तै उनीसँग थप १५ तोला सुन छ । विभिन्न बैंकमा ५ लाख ४० हजार बचत छ ।

जबेगुले करिब ५ लाख बराबरका मार्क्सवादी दर्शनशास्त्र र राजनीतिक विषयवस्तुका किताब खरिद गरेका छन् । त्यो उनले आफैँ खरिद गरेको बताएका छन् । मन्त्री जबेगुसँग १० वटा सुँगुर पनि छन् ।

राज्यमन्त्री भगतः १० लाख बचत

उर्जा राज्यमन्त्री सत्यनारायण भगतका नाममा करिब १ विघा जमीन छ । पारिश्रमिकबाट १ लाख बचाएका छन् । यस्तै पुरानो जीप बेचेको ९ लाख उनीसँग छ । उनीसँग सुन भने २१ तोला छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment