Comments Add Comment

गृह मन्त्रालयद्वारा तिवारी हत्याकाण्डको छानविन गर्न समिति गठन

गृहमन्त्री भन्छन्ः हत्यारालाई कारबाही हुन्छ

ministry-of-home-810

५ पुस, काठमाडौं । सरकारले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन भएको छ । समितिकामा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी छन् ।

गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको गृहका प्रवक्ता पन्थीले जानकारी दिए ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

हत्यारालाई कारबाही हुन्छः गृहमन्त्री निधि

यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुन बमोजिम कारबाही गर्ने बताएका हुन् ।

त्यस्तै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनालगत्तै घटनाको छानबिन प्रक्रिया अघि बढेको बताउँदै छिट्टै हत्यारा पत्ता लाग्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment