Comments Add Comment

वायाँतिर विप्लव, दायाँतिर लोकमान !

हस्ताक्षर गर्नै लागेका लोकमानमाथि यसरी भयो हमला

समाचार टिप्पणी

७ पुस, काठमाडौं । विहीबार दिउँसो सर्वोच्च अदालतमा लोकमानसिंह कार्कीविरुद्ध ७ वटा मुद्दामा बहस भयो । बहस शुक्रबार पनि जारी हुनेछ । सकेसम्म शुक्रबार नै मुद्दाको किनारा लाग्ने अनुमान गरिएको छ । तर, अदालत परिसरमै लोकमान सिंहमाथि भएको विप्लव माओवादीको छापामार हमला र लगत्तै लोकमानबाट जारी ‘दैवी’ वक्तव्यले एकैसाथ कानूनी शासनको बस्त्र उतारेको छ ।

biplab and lokman sing
अदालतमा पसेको अतिवाद

बिहीबार निकै लामो बहस सकिएपछि सवा ४ बजेतिर लोकमान अदालतको तारेख बुझ्न सेतो कार चढेर सेतै कोटमा अदालतभित्र प्रवेश गरे । गार्डसहित आएका उनी दुई हात जोडेर नमस्कारको ‘पोज’ मा ८ नम्बर कोठातिर छिरे, त्यहाँ उनले तारेख बुझेको कागजमा हस्ताक्षर गर्नुपर्ने थियो ।

केही समय अघि डा. गोविन्द केसीले लोकमानमाथि संसदमा छानविन हुनुपर्ने माग राख्दा उनले डा. केसीलाई मानसिक रोगी घोषणा गरेर अख्तियारको तर्फबाट वक्तव्य निकालेका थिए । बिहीबारको उनको अपील त्यसैको दोस्रो संस्करणजस्तै देखिएको छ

त्यसबेला अदालतमा सामान्य भीडभाड र मानिसहरु हुनु स्वाभाविकै हो । पत्रकारहरु पनि त्यहीँ थिए, कतिपय सेवाग्राही पनि थिए । त्यही भेषमा अदालत परिसरमा छिरेका दुई माओवादी कार्यकर्ताहरु छेवैमा मोटरसाइकल राखेर त्यहाँ पुगेका रहेछन् । उनीहरुले कोठाभित्र पसेर हस्ताक्षर गर्नै लागेका लोकमानको अनुहारमा केही दलेको र कोखामा मुड्की हानेको दृश्य कर्मचारीहरुले देखे ।

लोकमानको अनुहारमा कालोमोसो दलेको भनिए पनि स्टाम्प प्याड वा त्यस्तै केही चिजको रंग दलिएको जस्तो दृश्य देखिएको थियो । घटना भएलगत्तै सुरक्षाकर्मीले केहीबेर ढोका थुने । उनले त्यहाँ रहेको पानीले मुख थोएर बाहिर निस्किई गाडी चढेर निवासतिर बाटो लागे ।

उता लोकमानमाथि आक्रमण गर्ने दुई युवा ‘माओवादी जिन्दावाद’ भन्दै भाग्नै लागेका थिए । डराएर छेउछाउका केही मानिसहरु पनि दौडादौड गर्न थाले । एकजना आक्रमणकारी मोटरसाइकल चढिसकेका थिए, अर्काे व्यक्ति पछाडि बस्नै लागेका थिए, प्रहरीले घोक्राउँदै उनीहरुलाई नियन्त्रणमा लियो ।

यसरी नियन्त्रणमा लिइएका दुबै विप्लवनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।

सुरक्षाकर्मीमाथि प्रश्न, कानूनी शासनको धज्जी

अदालत उसै पनि सुरक्षाको हिसाबले सम्वेदनशील क्षेत्र मानिन्छ । अझ लोकमानसिंह कार्की सुरक्षागार्ड सहित अदालतमा पुगेका थिए । उनले झकेर कागजमा हस्ताक्षर गर्न लाग्दा आक्रमण गर्न आउनेलाई पन्छाउन नसक्नु लोकमानका अंगरक्षकको ठूलो कमजोरी देखिन्छ ।

lok-man-singh-karki-attacked-on-supreme-court-4

लोकमानका अंगरक्षकमात्रै होइन अदालतमा रहेका अन्य सुरक्षाकर्मीले पनि घटनाको सुइँको नपाउनु र कार्कीमाथि आक्रमण हुनबाट उनलाई जोगाउन नसक्नुले हाम्रो सुरक्षाकर्मीहरु कति सचेत र सतर्क पोजिसनमा भीआइपीको सुरक्षामा खटिँदारहेछन् भन्ने विहीबारको यो घटनाबाट पटाक्षेप भएको छ ।

हुन सक्छ, लोकमानसिंह कार्की दोषी होलान्, उनले अख्तियारको दुरुपयोग गरेका पनि होलान् । तर, न्याय निरुपण गर्ने अदालतभित्रै कुनै व्यक्तिमाथि भौतिक हमला हुने लोकतन्त्र र कानूनको शासनमा शोभनीय विषय हुन सक्दैन । कार्कीमाथि जुन तरिकाले माओवादी कार्यकर्ताले आक्रमण गरे, त्यो लोकतन्त्रमा कुनै हालतमा पनि सही तरिका होइन ।

विहीबार अदालतमा भएको घटनाले लोकमानसिंह कार्कीमाथि भइरहेको अदालती एवं संसदीय कार्यविधिलाई विषयान्तर गर्ने र अन्यत्रै मोडिदिने खतरा सिर्जना गरिदिएको छ । मानवअधिकारको दृष्टिकोणले पनि यस्तो कारवाही अनुचित छ ।

लोकमानको धम्कीः दाहिने अति

अदालतमा आफूमाथि आक्रमण हुनुपूर्व नै लोकमानले एउटा लामो वक्तव्य तयार पारेका रहेछन् । आफ्नो निजी ब्लगमा र फेसबुकमा पोष्ट गरिएको लोकमानको त्यो सार्वजनिक अपील आफूबाहेक यो देशका सबै नेताहरु असुर हुन् भन्ने शैलीको छ ।

lokman-singh-karki

अदालत र व्यवस्थापिका संसद जस्तो सम्मानित संस्थाले आफ्नो बारेमा परीक्षण गरिरहेका बेला लोकमानले जसरी धैर्यता नै गुमाएको शैलीमा नेताहरुलाई आसुरी शक्ति करार गर्दै उनीहरुको बस्त्र उतारिदिने धम्की दिएका छन्, यो विप्लव माओवादीले गरेजस्तै अर्को अति हो । विप्लवको कालो मोसो ‘वायाँ अति’ हो भने ‘लोकमानको अपील’ दायाँ अति हो ।

जननिर्वाचित संस्था र अदालतलाई नै धम्की दिने तरिकाले आएको लोकमानको यस्तो अपील पनि विप्लव माओवादीको भन्दा अलि भिन्न तरिकाको अलोकतान्त्रिक हरकत नै हो ।

केही समय अघि डा. गोविन्द केसीले लोकमानमाथि संसदमा छानविन हुनुपर्ने माग राख्दा उनले डा. केसीलाई मानसिक रोगी घोषणा गरेर अख्तियारको तर्फबाट वक्तव्य निकालेका थिए । बिहीबारको उनको अपील त्यसैको दोस्रो संस्करणजस्तै देखिएको छ ।

लोकतन्त्रमा कानून र जनताभन्दा कोही पनि माथि हुँदैन । तत्कालीन राजा ज्ञानेन्द्रले त जनताको इच्छा अगाडि सहजै राजगद्दी छाडेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पद राजाको पदका अगाडि सामान्य हो । यसबाट एउटा पदाधिकारी हट्दाखेरि देशमा भ्रष्टाचार मौलाउने भन्ने हुँदैन ।

लोकमानले आफ्नो अपीलमा के भन्न सक्नुपर्ने थियो भने जनताले निर्वाचित गरेको संसदलाई म सम्मान गर्छु । अदालतलाई म सम्मान गर्छु । र, यी संस्थाले आफूमाथि न्याय गर्ने विश्वास गर्छु भन्नुपर्ने थियो । तर, उनले अरुलाई असुर र आफूलाई ईश्वरको अनुकम्पा रहेको रुढीवादी तर्क गरे ।

असुर भनेको राक्षस हो । लोकमानले नेताहरुलाई राक्षस र आफूलाई देवताको सन्तान दाबी गर्न पुगे । जुन लोकले पत्याउने विषय होइन ।

कोरियाको राष्ट्रपतिलाई महाअभियोग लागेर उनी पदच्युत हुँदा कोरिया ध्वस्त हुँदैन । सरकारको एकजना सामान्य कर्मचारी हट्दैमा आफैंले सगर थामेको थिएँ, अब सगर खस्छ भनेर कोकोहोलो मच्चाउनु लोकतान्त्रिक संस्कार हुनै सक्दैन ।

सार्वजनिक पद धारण गरेका लोकमानले सपथ ग्रहण गरेका बेला यो कसम खाएका छन् कि आफू पदमा रहँदा वा नरहँदा भएका गोप्य कुराहरु खुलासा गर्ने छैन ।

आफ्नै बस्त्र पहिले उतार्ने हो कि ?

सरकारी जागिरेकालमै लोकमान अख्तियारको तारेख बोकेका मानिस हुन् । उनले अहिलेसम्म लोकतन्त्र र गणतन्त्रलाई आत्माले स्वीकार गरेका छैनन् । र, उनी यति अपारदर्शी छन् कि उनका हरेक गतिविधि कम्मलले छोपिएका छन् ।

भन्सार छल्ने, सरकारी कर छल्ने र तस्करीको जालो बिच्छ्याएकाहरुको नेटवर्कको संरक्षण गरेका प्रमाणहरु यत्रतत्र छरिएका छन् । त्यसैले लोकमानले अरुको बस्त्र उतार्ने चेतावनी दिनुपूर्व आफैंले ओढेको अपारदर्शिताको बर्को उतार्न जरुरी देखिन्छ ।

महाअभियोग लागेर हटे पनि लोकमानले भ्रष्टाचारविरुद्ध अभियान चलाउने बताएका छन् । यो राम्रो निर्णय हो । तर, त्यसो गर्नुपूर्व उनले आफ्नो सम्पत्ति विवरण जनताका अगाडि सार्वजनिक गर्न सक्छ्न ? सक्दैनन् । सम्पत्ति सार्वजनिक गर भनेर माग गर्‍यो भने उनी कानूनी बाध्यता कहाँ छ भनेर तर्किन्छन् ।

जसले आफूसँग रहेको अकूत सम्पत्ति जनतालाई देखाउन हिच्किचाउँछ, उसैले जीवनभरि भ्रष्टाचार विरोधी अभियान चलाउँछु र अरुको बस्त्र उतार्छु भन्नु साधु बिरालोको काशीयात्रा गर्नु जस्तो मात्रै हो ।

अहिलेका जनता ०१६ साल पहिले भूपालमानसिंह कार्कीका पालाको बिर्तावाल जमानाका प्रजाहरु हैनन्, उनीहरु सचेत नागरिक भइसकेका छन् । र, जनतासँग सबै भीआइपीहरुको कर्मको एक एक हिसाब किताब छ । को सही र को गलत भन्ने छुट्याउन नेपाली जनता सक्षम छन् ।

लोकमानमाथि कथंकदाचित कारवाही भयो भने त्यो राक्षसले गरेको हो कि देवताले हो भन्ने जनताले आफैं फैसला गर्न सक्ने गरी नेपाली जनतामा चेतना आइसकेको छ । यसबारेमा सबैलाई हेक्का रहोस् । र, डा. गोविन्द केसीलाई पागल भन्ने लोकमानसिंहलाई पनि हेक्का रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment