८ पुस, बिराटनगर। लामो प्रतीक्षापछि पूर्वाञ्चलमा नेपाली खेलकुदको महामेला मानिने राष्ट्रिय खेलकुदको सातौं संस्करण सुरु भएको छ ।
पूर्वाञ्चलका १३ जिल्लाहरुमा सञ्चालन हुने प्रतियोगिताका लागि करिव ४ हजार खेलाडी तथा २ हजारभन्दा बढी अफिसियल अहिले पूर्वाञ्चलमा छन् । हामीले प्रतियोगिताका लागि पूर्वाञ्चल आएका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतलाई पटक पटक मिति घोषणा हुँदै सर्दै गरेको सातौं राष्ट्रिय खेलकुुदको समग्र व्यवस्थापन र यसले भविश्यमा नेपाली खेलकुदको स्तरबृद्धिमा पुर्याउने योगदान कस्तो रहन्छ भनेर सोधेका थियौं ।
रोशण थापामगर, सदस्य, संखुवासभा खेलकुद विकास समिति
खासमा राष्ट्रिय खेलकुद सुरु भएको ३५ बर्ष बितिसक्दा पनि पूर्वाञ्चलले अहिलेसम्म आयोजनाको अवसर पाएको थिएन । यस अर्थमा पहिलो पटक यहाँ हुन लागेको प्रतियोगिता सफल पार्नुपर्ने चुनौति निक्कै देखिन्छ ।
छनौट प्रक्रिया सम्पन्न भइसक्दा पनि राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको तितो यथार्थ हामीसँग छ । खेलकुदमा राजनीति हावी बन्दा खेलकुदको बिकास हुन सकेको देखिँदैन । राम्रो खेलाडी भन्दा हाम्रो खेलाडीलाई प्राथमिकता दिँदा खेलस्तर विकास हुन नसकेेको हो ।
सातौं खेलकुद पूर्वाञ्चलमा हुँदैछ । हामीले अपेक्षा गरेअनुरुप प्रतियोगिताप्रति पूर्वाञ्चलका बासिन्दा उत्साहित नभएको मैले पाएँ । बिशेष गरी इटहरीका बासिन्दा सातौं प्रतियोेगिताप्रति उत्साहित देखिएनन् । सायद प्रचारप्रसारको अभावले गर्दा हो कि जस्ता लाग्छ ।
अको कुरा पूर्वाञ्चलका मानिसहरु (बिशेष गरी इटहरी, बिराटनगर क्षेत्र) खेलकुदप्रति पनि आकषिर्त नभएको मैले पाएँ । यसको कारण के हो भने खेलकुदमा उत्कृष्ट योगदान दिने खेलाडीहरु यहाँ अहिले दुःख पाएका छन् । उनीहरुलाई राज्यले हेर्दैन भने खेलकुदमा लागेर के गर्ने भन्ने सोच यहाँका मानिसहरुमा छ ।
इश्वरी तामाङ, भलिवल खेलाडी सुदूरपश्चिम
प्रतियोगिताका लागि हामी सबैभन्दा टाढा धनगढीबाट आएका हौं । २४ घण्टाको गाडीयात्रापछि आज दिउँसो १२ बजे इटहरी आइपुग्यौं ।
प्रतियोगितामा सहभागिताका लागि व्यवस्थापन निक्कै कामजार लाग्यो । कम्तिमा २ दिनअघि बिराटनगर आउन सकिएको भए हामीलाई सहज हुन्थ्यो ।
यहाँ आइसकेपछि पनि हामीले अहिलेसम्म प्रशिक्षण मैदान पाएका छैनौं । बस्ने होटल र खानाको व्यवस्था भने राम्रो लाग्यो ।
पुरुषोत्तम पोखरेल, रेफ्री कराते
खेलकुदमा राणनीति भन्दा राजनीति हावी भएका कारण नेपाली खेलकुद उकालो लाग्न नसकेेको हो । २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियागिता ३५ बर्षको बीचमा ७ पटकमात्रै आयोजना हुनु नेपाली खेलकुदकै लागि दुर्भाग्य हो ।
लामो समयको अन्तरालपछि हुन लागेको प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।
साथै नेपालमै हुन लागेको आसन्न साग गेम्सका लागि उत्कृष्ट खेलाडीहरुको उत्पादनमा पनि यस प्रतियोगिताले सहयोग पुग्नेछ ।
अघिल्लो प्रतियोगितामा भन्दा यसपटक करातेमा उच्च प्रतिस्पर्धा हुने अनुमान गरेको छु ।
साग गेम्सको तयारी भएकाले पनि खेलाडीहरु उत्साहित देखिन्छन् । विकास क्षेत्र र बिभागीय टिमहरुबीचको फरक स्तरले गर्दा प्रगियोगिता अपेक्षाकृत प्रतिस्पर्धात्मक नहुनसक्छ ।
प्रदीप रोक्का, टेवलटेनिस खेलाडी, नेपाल पुलिस
खेल जीवनको सुरु सुरुका दिनमा मेरो प्रदर्शन उत्कृष्ट थियो । तर, बीचमा केहि समय ब्रेक लागेपछि प्रदर्शन खस्कियो । आसन्न सााग गेम्समा सहभागी हुने लक्ष्यसहित मैलै यसपटक तयारी गरेको छु । आशा छ यसपटक मैले पदक हासिल गर्नेछु ।
विभागीय टिमको नाताले हाम्रो सबै व्यवस्था नेपाल पुलिस क्लबले गरेको छ । यहाँको व्यवस्थापन राम्रो लागेको छ । छैटौंमा भन्दा यहाँको व्यवस्थापन राम्रो छ ।
प्रतिक्रिया 4