Comments Add Comment

ऐतिहासिक चुनबाङ र गुरिल्ला पदमार्ग

chunbang

पछिल्लो समय निकै चर्चामा रहेको ठाउँ हो रुकुमको चुनवाङ । नेपालको पछिल्लो राजनीतिसँग जानकार देश विदेशमा त्यस्ता व्यक्त कमै होलान्, जसले चुनवाङ नसुनेको होस् । पछिल्लो नेपाली राजनीति चुनवाङकै कारण यो ठाउँमा आइपुगेको हो भन्ने बलियो मत पनि पाइन्छ ।

२०६२ असोजमा यही चुनवाङमा बसेको तत्कालीन युद्धरत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले सात दलसँग मिलेर लोकतान्त्रिक आन्दोलन अघि बढाउने निर्णयपछि नेपाली राजनीति नयाँ मोडमा अघि बढ्यो । १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन, अन्तरिम संविधान, अन्तरिक सरकार, संविधानसभाको चुनाव, गणतन्त्र घोषणा, संविधान जारी हुँदै मुलुक आजसम्म आइपुगेको छ । एघार वर्षअघि संकटकालको डरलाग्दो बेलामा तत्कालीन बिद्रोही माओवादीको झण्डै एक महिना केन्द्रीय कार्यालय स्थापना गरी ऐतिहासिक बैठक बसेको यो ठाउँमा चर्चा कमै हुने गर्दछ ।

त्यसो त त्यतिबेलाको बिद्रोही माओवादी पटक-पटक सरकारमा गएको र अहिले स्वयं त्यतिबेलाका सुप्रिमो प्रचण्ड प्रधानमन्त्री बनेका छन् । झण्डै ११ बर्षपछि फरक भूमिकासहित प्रचण्ड यो ठाउँमा पुगेसँगै चुनवाङले थोरै आशा जगाएको छ- लामो समयसम्म बेवारिसे बनेको चुनवाङलाई फेरि देशले सम्झिएको छ र गुरिल्ला ट्रेल र जनयुद्ध म्युजियम उदघाटन भएको छ । पर्यटकीय रुटका रुपमा परिकल्पना गरिएको गुरिल्ला ट्रेकिङले रुकुम, रोल्पाका साथै डोल्पालगायतका जिल्लालाई जोड्छ ।

यो हो गुरिल्ला पदमार्ग (फोटोफिचर)

के हो चुनवाङ, कहाँ पर्छ भेरीडाँडा ?

लाखरखोला र च्याङचुङखोलाको दोभानमा पर्छ गैरीगाउँ बजार । यहीको पानी चुनवाङखोला, माडीखोला हुँदै राप्ती नदी बनेर बगेको छ । माओवादी जनयुद्धका सहादत प्राप्त गरेकाहरुको सम्झनामा चुनवाङ १ गैरीगाउँमा सहिद गेट निर्माण गरिएको छ । यही गेटको नाममा युद्धकालमा माओवादी कलाकारले चर्चित गीत पनि बनाए- गैरीगाउँको बजारैमा, सहिद गेटैमा, सहिदहरु हाँसिरहेको, बोलिरहेको…

gairigaung-sahid-gate
गैरीगाउँको सहिद गेट

युद्धकालमा यो गाविसबाट ३५ जना मारिएका थिए भने युद्धबाट प्रभावित नभएको कुनै घर पाइँदैन । चुनवाङको गैरीगाउँमा यही वर्षमात्र घोराहीबाट बस सेवा सञ्चालनमा आएको छ । गैरीगाउँबाट अलि अगाडि बढेपछि शुरु हुन्छ भीरखोला, जहाँबाट गुरिल्ला पदमार्ग शुरु हुन्छ जुन पदमार्ग र संग्रहालयको प्रधानमन्त्री प्रचण्डले शनिबार उदघाटन गरेका थिए ।

हेलिकोप्टरमा चुनवाङ पुगेका प्रधानमन्त्रीसँग ‘गुरिल्ला’ को जम्काभेट !

यहाँ छानोसहितको काठे पुल बनाइएको छ । गैरीगाउँ बजारबाट च्याङचुङखोला तरेर खोलाको तिरैतिर चुनवाङ-महत सडकबाट गएपछि हुनाखोला पुगिन्छ । यहाँ २-४ वटा पसल भेटिन्छन् । त्यहाँबाट एक घण्टा पैदल हिडेपछि भेरीडाँडा पुगिन्छ । गत बर्ष सांसद विकास कोषको बजेटले ढुंगा बिछ्याउने काम थालिएको छ तर पूरा हुन सकेको छैन । यसलाई पूरा गर्न थप बजेट आवश्यक रहेको स्थानीयको भनाई छ ।

बाटोमा पर्ने मेलपोखरी गाउँ निकै सुन्दर छ । यसको अवलोकन गरेर पनि केहीबेर समय बिताउन सकिन्छ । भीरमा अझै पनि भीरमौरी देख्न सकिन्छ । बुढापाकाका अनुसार यहाँ प्रशस्त भीरमौरी (जसलाई स्थानीयस्तरमा भेरी भनिन्छ) भएकाले यो ठाउँलाई भेरीडाँडा भनिएको हो । दक्षिणतिर रोल्पाको राङकोट गाविस, उत्तरपूर्व माथिल्लो भेरीडाँडाको गाउँ, उत्तरतिर बिजौरागाउँ, पश्चिममा खालडाँडा रहेका छन् ।

भेरीडाँडाको माथिल्लो भेगमा धुपी, खर्सु, लालीगुराँस छन् भने अलि तल काफल, बाँझलगायतका बोटविरुवा रहेका छन् । त्योभन्दा तल ओखर, उत्तीस, पाँगर, सेतो चन्दनलगायतका पाइन्छ । यहाँ क्षेत्री जातिको ओली र डाँगी थरको मात्र बस्ती रहेको छ । जंगल नजिक भएकाले यहाँका बासिन्दाले पर्याप्त पशुपालन गर्ने गरेका छन् । यहाँ उत्पादन हुने भुटेको मकै र दही स्थानीय खाजाको रुपमा निकै चर्चित छ । यहाँ पुग्ने जोकोहीले पनि यसको रसस्वादन गर्न पाएमा फरक अनुभूति गर्न सक्नेछन् ।

chunbang-meeting-hall
चुनवाङ बैठक बसेको हल

यही भेरीडाँडामा माओवादीको चर्चित चुनवाङ बैठक बसेको थियो । माओवादी सरकारमा गएसँगै ऐतिहासिक बैठक बसेको र अध्यक्ष प्रचण्ड बस्ने गरेको घर खरिद गरेर संरक्षणको प्रयास थालिएको छ । त्यसका लागि भेरीडाँडा पर्यटन विकास तथा सूचना केन्द्र स्थापना गरेर काम अघि बढाइएको केन्द्रका सचिव विवेक पुन बताउँछन् । लोकेन्द्र बिष्ट मगर पर्यटनमन्त्री भएको बेला पर्यटन मन्त्रालयबाट २५ लाख बजेट विनियोजन गरी बैठकस्थल संरक्षणको काम थालिएको उनको भनाई छ । अझै धेरै काम गर्न बाँकी रहेको पुनको भनाई छ ।

त्यतिबेला स्थानीय तेजबहादुर ओलीको घर बैठकस्थलको रुपमा माओवादीले प्रयोग गरेका थिए । अहिले ओली उक्त घर बिक्री गरेर दाङ बसाइ सरेका छन् । आफ्नो घर देश बिदेशमै चर्चामा आएकोमा खुशी व्यक्त गर्दै ओलीले यसलाई संग्रहालय बनाएर संरक्षण दिनुपर्ने बताए ।

कदम-कदममा ऐतिहासिक स्थल

चुनवाङको भेरीडाँडा सहिदमार्गअन्तर्गत चुनवाङ-थवाङ सडकखण्ड नजिक पर्छ । अहिले चुनवाङ-महत खण्डमा सडक निर्माणको काम पनि भइरहेको छ । यो सडक निर्माण भयो भने चुनवाङबाट महतको लावाङ जान निकै नजिक पर्नेछ । चुनवाङबाट झण्डै बीस किलोमिटर सडक निर्माण भएपछि लावाङ पुग्न सकिनेछ, जो माओवादीको अर्को चर्चित बैठकस्थल हो ।

जुन बैठकबाट माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्राईलाई कारवाहीको निर्णय भएको थियो । संयोग कस्तो परेको छ भने लावाङ बैठकबाट कारवाही गरिएका भट्टराइ त्यही चर्चित चुनवाङ बैठकबाट पार्टीमा पुनस्थापित गरिएका थिए । त्यसैले युद्ध पर्यटनका हिसाबले चुनवाङ र लावाङ जोडिनु निकै सान्दर्भिक हुनेछ ताकि चुनवाङ पुग्ने पर्यटक लावाङ पनि पुग्न सकुन् ।

rolpa-thawang-photo-kuldip-neupane
थवाङ गाउँ

यहाँबाट थवाङ पुग्न झण्डै १५ किलोमिटरभन्दा बढी छैन । थवाङ यस्तो एतिहासिक ठाउँ हो, जो छ दशकदेखि निरन्तर कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङकै पनि फुन्टिवाङ माओवादी बैठककै कारण चर्चामा रहेको अर्को ठाउँ हो, यसलाई पनि युद्ध पर्यटनको रुटमा जोड्न सकियो भने यस क्षेत्रको युद्ध पर्यटनको रुट अझ विस्तार गर्न सहयोग पुग्ने स्थानीय बताउँछन् ।

यति मात्र होइन, दाङको घोराही पनि युद्ध पर्यटनको एउटा विन्दुु हुनसक्छ, जहाँ २०५८ मंसिर ८ गते नेपालमै पहिलोपटक सरकारी सेनाको ब्यारेक माओवादीले कब्जा गरेका थिए । यहाँबाट थवाङसम्म सबै ऐतिहासिक ठाउँले भरिएका छन् । घोराहीबाट गाडी चढेपछि होलेरी पुगिन्छ, जो दुईपटक चौकी आक्रमणपछि चर्चामा रहृयो । त्यसभन्दा थोरै अगाडि गए भेटिन्छ- दहवन, जहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन बसेको थियो । त्यसभन्दा थोरै अगाडि गए भेटिन्छ, नुवागाउँ, जहाँ पहिलोपटक सरकारी सेना र माओवादी सेना आमने-सामने भएका थिए भनेर ब्यापक चर्चा गरिएको थियो । त्यहीबाट माओवादीले युद्धकालमै सहिदमार्ग निर्माण शुरु गरेको थियो, जो अर्को युद्ध पर्यटनको आकर्षण हो ।

gurilla-treaking-route

त्यसभन्दा केही माथि गए भेटिन्छ टिला बजार, जहाँ माओवादी सेनाको एउटा बिग्रेड बसेको थियो, जहाँ अहिले सशस्त्र प्रहरी बसिरहेको छ । त्यसभन्दा केही अगाडि लोसेवाङ गाउँ छ, जहाँ चुनवाङ बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमालेका नेताहरु बामदेव गौतम तथा युवराज ज्ञवालीसँग वार्ता भएको थियो । त्यसभन्दा थोरै अगाडि भेटिन्छ, घर्तीगाउँ जहाँ माओवादीले प्रहरी चौकी आक्रमण गरेपछि देशभरिका प्रहरी चौकीहरु सदरमुकाम सारिएको थियो ।

त्यहाँबाट केही अगाडि चप्काखोला पुगिन्छ । जुन ठाउँमा माओवादी युद्ध शुरु हुनअघि नै प्रहरीले दुई जनाको हत्या गरेको थियो र स्थानीय नन्दकिशोर पुन पासाङ घाइते भएका थिए । पासाङ युद्धकालमा माओवादी सेनाका कमाण्डर हुँदै अहिले उपराष्ट्रपति बनेका छन् । यहीँबाट पासाङको घर प्रष्ट देख्न सकिन्छ । यही गाउँमा लामो समयसम्म प्रचण्ड सेल्टर लिएर बसेका थिए । यही चप्काखोलाबाट थोरै माथि बागमारा काटेपछि रोल्पाकै पाछावाङ हुँदै चुनवाङ आउँछ ।

यसरी हेर्दा घोराहीबाट चुनवाङ हुँदै थवाङ पुग्दासम्म सबै ठाउँमा युद्ध पर्यटनका ऐतिहासिक आकर्षण स्थल भेट्न सकिन्छ ।

chunbang-shelter-of-prachan
प्रचण्डले सेल्टर लिएको घर

आशा-निराशा-आशाको चक्रमा चुनवाङवासी

२०६२ सालमा चुनवाङमा बसेको माओवादी बैठकले नै देशको राजनीतिक लाइन परिवर्तन गरेसँगै यो ठाउँको थामिनसक्नु प्रचार भयो । यसबाट चुनवाङवासी निकै आशावादी बने- अब त केही होला । तर, त्यो आशा गरेको एक दशकसम्म पनि चुनवाङवासीले उल्लेख्य उपलब्धि देख्न नपाउँदा निकै निराश बने ।

यो ठाउँमा बस पुग्न पनि शान्ति प्रक्रिया टुंगिएको एघार बर्ष कुर्नुपर्‍यो, जबकि चुनवाङवासीले युद्धकालमै यहाँ केही किलोमिटर सडकको ट्र्याक खोलेका थिए । अहिले बल्लतल्ल यहाँ बाटो त पुगेको छ तर बाह्रै महिना गाडी चल्नेमा यहाँका बासिन्दा ढुक्क हुन सकेका छैनन् ।

kuldip-neupane
कुलदीप न्यौपाने

अचम्म त के छ भने दाङबाट यहाँ बाटो पुगे पनि आफ्नै जिल्ला रुकुम सदरमुकाम मुसीकोटदेखि चुनवाङसम्म सडक पुग्न सकेको छैन । आफ्नै सदरमुकाम जान चुनवाङवासीहरु रोल्पाको पाछावाङ हुँदै पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

यहाँका बासिन्दाले माथि लेकमा टावर राख्न माग गर्न थालेको वर्षौं भयो तर गैरीगाउँ, लाखरलगायतका ठाउँका बासिन्दा सञ्चारबाट वञ्चित छन् । स्थानीयवासीले आफै लघुजलविद्युत योजनामार्फत बत्ती बाले पनि राष्ट्रिय प्रसारणमा कहिले जोडिन्छ, थाहा छैन । त्यसो त अहिले संरक्षण थालिएको भेरीडाँडामै बजेट पर्याप्त पुग्न सकेको छै्रन । बजेट नहुँदा भीरखोलादेखिको पदमार्गमा ढुंगा बिच्छ्याउने काम पूरा भएको छैन ।

यो पंक्तिकार भेरीडाँडामा पुग्दा त्यहाँ लगाइएको पर्खाल ढलेको अवस्थामा भेटियो, जसले बजेट अभावको प्रष्ट संकेत गर्दथ्यो । भेरीडाँडाका बासिन्दाले सोझै धर्मशालासँग सडक सम्पर्क जोड्न सकियो भने थवाङसँग प्रत्यक्ष सडक सञ्जालमा जोडिने आशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment