+
+

‘क्रिसमस डे’का अवसरमा कसले के भने ?

राष्ट्रपतिदेखि दलका नेता सम्मले दिए इसाइलाई शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १३:५८

bidhya-bhandari

१० पुस, काठमाडौं । इसाई धर्माबलम्बीहरुको महान पर्व ‘क्रिसमस डे’ का अवसरमा सरकारले शनिवार अबेर सार्वजनिक विदा घोषणा गर्‍यो । यसअघि इसाइहरुका लागि मात्र बिदा दिइएको भन्दै इसाई धर्म सम्बन्धित संस्थाहरुले सार्वजनिक बिदाको माग गरेका थिए ।

धर्म निरपेक्ष मुलुकमा सबै धर्मका पर्व राष्ट्रिय पर्व हुन् । त्यसैले राष्ट्रपतिदेखि राजनीतिक दलका नेताहरुले समेत शुभकामना दिने गरेका छन् । क्रिसमसका अवसरमा पनि बिभिन्न नेताहरुले शुभकामना पठाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ- इसाई धर्माबलम्बीहरुको यस पर्व मनाउनका लागि जसरी हामी एकताबद्ध भएर लाग्छौं त्यसरी नै यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा सम्बृद्ध नेपाल बनाउन सबेमा प्रेरणा प्राप्त होस् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि क्रिश्चियन समुदायका लागि शुभकामना सन्देश दिएका छन् । उपराष्ट्रपतिको सन्देशमा भनिएको छ- आजको यस पावन अवसरले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदैे प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् ।

prachanda-(4)

क्रिसमसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्रीले क्रिसमसले मुलुकलाई निकास दिनका लागि सबै दलहरुलाई एक ठाउँमा उभिने प्रेरणा देओस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

उनको सन्देशमा भनिएको छ- हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषका पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु राष्ट्रिय एकता, पारस्परिक सदभाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहदै आएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्वीटरमार्फत क्रिसमसको शुभकामना दिएका छन् । उनले इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमसले सुख, शान्ति र सम्बृद्धिको बहार ल्याओस् भन्ने कामना गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सन्देशमा भनेका छन्- हामी नेपालीको मुख्य चिनारी नै सबै चाडपर्व मिलेर मनाउनु हो । यसलाई राष्ट्रिय एकतालाई बलियो बनाउनेछ भन्ने मैले विश्वास लिएको छु ।

क्रिसमका अवसरमा नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पठाएको सन्देशमा भनिएको छ- राज्यले सबै धर्महरुलाई बराबरी संरक्षण र सम्बर्धन गर्नुपर्छ भन्ने मान्यताका आधारमा आज इसाई धर्माबलम्बीहरुप्रति शुभकामना व्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?