Comments Add Comment

जिविसका अधिकृतको सपनाः एकदिन मुख्यसचिव बनेर कुचो चलाउँछु !

'सार्वजनिक प्रशासनलाई प्रक्रियामुखी हैन, परिणाममुखी बनाऔं'

kiisan-neupane-810

११ पुस, काठमाडौं । किसान न्यौपाने अहिले मकवानपुर जिल्ला विकास समितिको योजना अधिकृत पदमा कार्यरत छन् । उनको सपना छ – एक दिन नेपाल सरकारको मुख्यसचिव बन्ने ।

सुरुमा गैरसरकारी संस्थामा जागिरे रहेका न्यौपाने सुरुमा सरकारी कार्यालयहरुको कामकाजप्रति त्यति सन्तुष्ट थिएनन् । तर, अहिले उनी आफैं सरकारी हाकिमको भूमिकामा आइपुगेका छन् । तर, आफू जागिर खान मात्रै निजामति सेवामा नआएको उनी दाबी गर्छन् ।

आखिर यी महात्वाकांक्षी युवा किन आएका होलान् निजामती सेवामा ? मुख्यसचिवको कुर्सी ताकिरहेका न्यौपानेसँग अनलाइनखबरले निजामती प्रशासनबारे उनको भिजन बुझ्ने प्रयास गरेको छ-

निजामतिमा नजरः पहिले र अहिले

आम नागरिकमा जस्तै करिब पाँच बर्षअघिसम्म अधिकृत न्यौपानेको बुझाइमा पनि सार्वजनिक प्रशासनले नागरिकलाई गुणस्तरीय सेवा दिइरहेको छैन भन्ने परेको थियो । सार्वजनिक प्रशासन परिणाममुखी भन्दा पनि ज्यादा प्रक्रियामुखी छ । कर्मचारीहरु ढीलासुस्तीमा रमाउँछन् र आफ्नो सेवा सुविधाका लागि मात्रै काम गर्छ भन्ने न्यौपानेको बुझाइ थियो ।

आम नागरिकहरुको जस्तै सरकारी कार्यालयमा सेवा लिन जानु पर्दा न्यौपानेको पहिल्यै नाक खुम्चिसकेको हुन्थ्यो । उनी सम्झन्छन्, ‘ त्यसबेला मेरो काम होला कि नहोला, गर्दिएला कि नगर्दिएला भन्ने चिन्ताले दिमाग भरिएको हुन्थ्यो ।’

प्रारम्भमा सरकारी कामकाजप्रति त्यति सकारात्मक धारणा नहरेका न्यौपानेको सरकारी जागिरमा प्रवेश गरेसँगै सार्वजनिक प्रशासनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।

अहिले न्यौपानेको बुझाइ पहिलेको जस्तो पुरै खराब अवस्थामा छैन, तैपनि केही मिल्दोजुल्दो पाइन्छ । निजामति प्रशासनबारे उनी भन्छन्- बाहिरबाट हेर्दाजस्तो पूरै बर्बाद भइसक्यो भन्ने अवस्था पनि छैन, तर भित्र बसेर राम्रो गरिरहेका छौँ भनेर गर्व गर्ने स्थिति पनि छैन ।’

सार्वजनिक प्रशासनमा जागिर खानुपूर्व न्यौपाने गैरसरकारी संस्थाहरुमा काम गरे । त्यहाँ उनको गुजारा राम्रैसँग चलिरहेको थियो । तर, विदेशिने साथीभाइको प्रभावमा परेर कहिलेकाँही विदेशतिर हिडौं कि जस्तो पनि लाग्थ्यो उनलाई ।

यत्तिकैमा न्यौपानेले निजामति सेवामा प्रवेश गर्ने निर्णय गरे र लोकसेवाको तयारीमा होमिए ।

उनी आफ्नो सेवा प्रवेशका दिनहरुलाई सम्झँदै भन्छन्- ‘सार्वजनिक प्रशासनप्रति नागरिकको बुझाइ सकारात्मक छैन भन्ने थाहा थियो तर मलाई यो चुनौती स्वीकार्य भयो । समस्या विरुद्ध लडेर निजामतिभित्र नीतिगत सुधार गर्न सकिन्छ भन्ने ठानेरै निजामति सेवामा प्रवेश गरेको हुँ ।’

निजामति सेवामा जुनसुकै बाहनामा प्रवेश गरेको भए पनि त्यसको उद्देश्य जीविकोपार्जन पनि एक हो । तर, न्यौपानेको दाबी के छ भने उनी जागिर खानका लागि मात्रै निजामति सेवामा प्रवेश गरेका होइनन् । आखिर किन आए पनि सरकारी जागिरमा ?

‘ठाउँ’ मै पुगेर ‘नीतिगत सुधार’ गर्ने सपना

न्यौपानेको अहिलेसम्मको बुझाइमा सार्वजनिक प्रशासनलाई सुधार्ने हो भने सबैभन्दा पहिले नीतिगत सुधार आवश्यक छ । उनी भन्छन्- अहिले पनि सबै नीतिहरु राम्रा छन्, तर व्यवहारमा त्यसको प्रभाव देखिँदैन ।

सरकारी कार्यालयहरुमा लामो प्रक्रियाबाट काम गर्ने नीतिमा सुधार ल्याउनुपर्ने न्यौपानेको बुझाइ छ । उनी भन्छन्- ‘नीतिगत तहबाटै सुधार गर्नुपर्छ भन्ने मेरो मूल बुझाइ हो, त्यसका लागि त्यो ठाउँसम्म पुग्ने सपना पनि मैले देखेको छु ।’

कुन हो त्यो ठाउँ ? न्यौपाने हाँस्दै भन्छन्- ‘निजामति प्रशासनको सर्वोच्च पद अर्थात मुख्यसचिव । त्यहाँ पुगेरै भए पनि कुचो चलाउनेछु ।

मुख्यसचिवको कुर्सीबाट हुने सुधारले मात्रै दीर्घकालीन प्रभाव पार्ने न्यौपानेको गहिरो विश्वास छ । उनी भन्छन्- ‘सक्दासम्म हरेक चुनौतीसँग लडेरै अगाडि बढ्ने हो, अब कसैमाथि आरोप लगाएर भाग्ने स्थिति छैन ।’

हरेक विषयमा कुरा गर्दा निकै आत्मविश्वासका साथ प्रस्तुत हुने स्वाभावका अधिकृत न्यौपाने भन्छन्,-‘थोरैमात्र सुधार गरेर जाने हो भने धेरै परिणाम निकाल्न सकिन्छ, जनताले हामीलाई पुरै अविश्वास गरिसकेका छैनन् ।’

न्यौपानेको नजरमा निजामति क्षेत्रका समस्या

योजना अधिकृत न्यौपानेको बुझाइमा सार्वजनिक प्रशासन विस्तारै सुधारतर्फ उन्मूख छ । उनी भन्छन्- ‘कतिपय कर्मचारीहरुको व्यक्तिगत आचरणलाई मात्र हेर्दा प्रशासन थप ध्वस्त भएको हो कि जस्तो पनि देखिन्छ, तर सुशासनको पक्षमा लागिपर्ने साथीहरु पनि छन् ।’

आफ्नै कार्यालय अर्थात् मकवानपुर जिविसकै विषयमा नि ? आफ्नो कार्यालयबारे चर्चा गर्दै उनी भन्छन्, ‘हामीले आफ्नो कार्यालयमा इ-गभर्नेन्स विधि अपनाएका छौं, जनताको गुनासो सुन्ने व्यवस्था गरेका छौँ । जिल्ला विकास कार्यालय मकवानपुरलाई प्रक्रियामुखी भन्दा पनि परिणाममुखी बनाउने कोसिस गरिरहेका छौँ ।’

कर्मचारी प्रशासनलाई कसरी सुधार गर्न सकिन्छ ? यसबारे चासो राख्दा उनले आफ्नो भिजन यसरी प्रस्तुत गरेः

पहिलो, जनता र सरकारसँग सीधा सम्पर्क हुनुपर्छ । राज्यले सम्पूर्ण माग पूरा गरिदिनुपर्छ भन्ने जनताको अपेक्षा हुन्छ । नागरिकले सबै सुविधाहरु नजिकको सेवा केन्द्रबाट खोजिरहेका हुन्छन् । कुनै पनि सुविधाका लागि उनीहरु सिंहदरबार जान चाहिरहेको देखिँदैन । जनताले चाहने भनेको सरकारसँग मेरो सीधा सम्पर्क हुनुपर्छ, मैले चाहेको कुरा वा मलाई चित्त दुखेका कुरा सरकारसँग भन्न पाउनुपर्छ भन्ने हो ।

म मकवानपुरको सबै गाविसमा पुगेर त्यहाँको नागरिकसँग छलफल गरेको छु । उनीहरुको अपेक्षा के छ बुझेको छु, हामीलाई सामान्य लागेको, यति काम त स्थानीय आफैँले गरे पनि हुन्थ्यो नि भनेका कामका लागि पनि जनताले गुनासो लिएर जिविससम्म आउनुहुन्छ । यसले पनिसरकारप्रति जनताको विश्वास गुमिसकेको छैन भन्ने देखाउँछ । अझै पनि जनतामा सरकारले केही गर्दिन्छ, गर्नुपर्छ भन्ने विश्वास छ ।

यदि सरकारी कार्यालयलाई परिणाममुखी बनाएर स्रोत र साधनलाई सही परिचालन गरियो भने सजिलै जनताको मन जित्न सकिन्छ । तर, अझै पनि सरकारी कार्यालयको कार्यशैली सुधारिएन भने भोलि नागरिकको विश्वास जित्नै नसक्ने गरी नागरिक भड्किने पो हो कि ?

दोस्रो, कर्मचारीहरु जनतासँग सोझो सम्पर्कमा बस्नुपर्छ । कर्मचारीमा देखिएको मुख्य समस्या उनीहरु जनतासँग सिधै सम्पर्कमा बस्न चाहँदैनन् । नागरिकहरु उनीहरुको माग, समस्या कर्मचारीले सुन्दामात्रै पनि धेरै खुशी हुन्छन् । उनीहरुका माग ऐन कानुन, स्रोत साधनको अभावका कारण पूरा नहुन पनि सक्छन् । तर, कर्मचारीले सुनिदिँदा मात्रै पनि जनतामा मेरो कुरा राज्यले सुनेको छ, पछि केही होला भन्ने आशा जाग्छ ।

यही कारण कर्मचारीले जनताको समस्या के हो भनेर सकेसम्म स्थानीय तहमै गएर उनीहरुसँग छलफल र अन्र्तक्रिया गरेर बुझ्ने गर्नुपर्छ ।

कर्मचारीहरुमा रहेका जिल्ला वा सिंहदरबारभित्रै बसेर शासन वा सरकार चलाउँछौँ भन्ने प्रवृत्तिले गर्दा कर्मचारीहरु जनतामा बढी आलोचित भएका हौँ । जनताको पीरमर्का, समस्या सुन्दिनेमात्र हो भने पनि जनता आफैँले धेरै कामहरु आफैँ गर्न सक्छन् । जनताको सहभागिता बढाउन र उनीहरुमा चेतना जगाएर उनीहरुसँग घुलमिल हुने हो भने तल्लो तहबाटै जनताका धेरैभन्दा धेरै काम गर्न सकिन्छ ।

तेस्रो, हरेक कामलाई परिणामसँग जोडेर हेर्न थाल्नुपर्छ । प्रक्रियाको पछाडि कुदिरहने हो भने कहीँ पनि पुगिँदैन ।

म मकवानपुरको जिल्ला विकास समितिको आयोजना अधिकृत भएर गएको एक बर्ष भयो । यो एक बर्षमा मैले मकवानपुरका ३५ गाविस र २ नगरपालिका सबै ठाउँमा पुगेको छु । स्थानीय तहको किन विकास हुन सकिरहेको छैन भन्ने बुझ्न भ्याएसम्म सबै गाउँ र गाविस पुगेर स्थानीयसँग छलफलमा जुटेको छु । मेरो बुझाइमा जनताका माग र आवश्यकता नसुनी विकास हुन सक्दैन । जनताको माग सम्बोधन हुन नसके पनि यो कारणले हुन सक्दैन भनेर जवाफ दिनु अनिवार्य छ । हरेक कुराको कारण र तर्क दिनुपर्छ ।

मकवानपुरमा पनि फाइल घुम्छ कि ?

कर्मचारीहरु मन नपरेको र फाइदा नहुने प्रस्ताव आएमा फाइल घुमाइदिन्छन् भन्ने सार्वजनिक आरोपमा न्यौपाने असहमत छैनन् । उनी भन्छन् – यो आरोपमा केही सत्यता छ । आफ्नो इच्छा अनुसार नभएको र मन नपरेको फाइल कर्मचारीले लुकाइदिने, प्रक्रिया लम्बाएर झुलाइदिने गरेको पाइन्छ ।

तर आफ्नो कार्यालयमा भने यस्तो हुन नदिएको न्यौपाने दाबी गर्छन् । उनले यसमा निकै जोड दिँदै भने- हाम्रो कार्यालयमा गुनासो सुन्ने व्यवस्था छ, तपाईलाई त्यस्तो समस्या छ भने सिधै आएर सम्पर्क गर्नुस्, त्यस्तो कर्मचारीलाई कारवाहीसहित तपाईको काम हामी गर्छौ भन्ने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment