Comments Add Comment

एउटा ‘गुड न्युज’ ले बजारमा पारेको प्रभाव कति होला टिकाउ ?

goodnews

१५ पुस, काठमाडौं । सेयर बजारमा बुधबार नै पनि लगभग ७ अंकको वृद्धि देखिएको थियो । विहीबार भने नेप्से थप ३० अंकले वृद्धि भयो । विहीबार मध्यान्नसम्म थोरै अंकको उतारचढाव देखिएर १४२२ मा रहेको नेप्से परिसूचकमा त्यसपछि भने राम्रै वृद्धि देखियो र १४५४को उचाई भेट्यो ।

बजारलाई सकारात्मक दिशामा लैजान ‘एउटा गुड न्युज’ नै पर्याप्त भयो । त्यो थियो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओले धितोपत्रबाट स्वीकृती पाएको मूल्य । हुनतः बुधबार र विहीबार लगानीकर्ताहरुले नेप्से र धितोपत्र बोर्डमा  ६ बुँदे माग राखेर धर्ना समेत दिएको थिए । यसको तत्कालिक प्रभाव देखिएपनि यही कारणले मात्र बजारलाई १४२२ माथी लान सकिरहेको थिएन । तर, जब नेपाल लाइफको एफपीओले पाएको मूल्य सार्वजनिक भयो यसले लगानीकर्ताको मनोविज्ञानमा ‘पोजेटिभ भाइब’ बनायो र बजार पुनः वृद्धिको बाटोमा देखियो ।

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओले प्रिमियम सहित १ हजार ४ सय २५ रुपैयाँ पाएको थियो । एफपीओले पाएको यो मूल्य ऐतिहासिक मूल्य पनि हो । शूरुवात मै २ हजार ९ सय ५१ रुपैयाँ मूल्य प्रस्ताव गरेको कम्पनीले पाएको यो मूल्य नियामकले स्वीकृत दिएको हालसम्मकै उच्च मूल्य हो । फलस्वरुपः विहीबार अधिकांश बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै बढ्न सक्यो र मूल्यको आधारमा प्रमुख १० स्थानमा प्रवेश पाए । १० मध्ये ७ बीमा कम्पनीको मूल्य ५ देखि ९ प्रतिशतसम्म वृद्धि भयो ।

मनोवैज्ञानिक तह

नेप्से बढ्न ठुलो कारण नभएपनि केही कारणहरु भने छन् । नेप्सेमा सय बिन्दु मनोवैज्ञानिक तहको रुपमा रहने गरेको छ । १ हजार ४ सय विन्दु पनि यसैको एउटा उदाहरण हो । ‘पछिल्लो सयम हेर्ने हो भने नेप्सेमा १४ सय देखि १६ बिन्दुसम्म पुग्ने र पुनः ओर्लने क्रम दोहोरिने गरेको छ, अहिलेको १४ सयको तहमा सेयर किनेर १६ सय माथी पुग्दा पनि कम्पनी अनुसार १० प्रतिशतसम्म प्रतिफल पाउँने अवस्था रहेकोले पनि बजारमा लगानीकर्ता आकर्षित भएका हुन्,’ सेयर ब्रोकर नन्द किशोर मुन्दराले भने ।

अल्पकालिन लगानी गर्नेहरुले यस्तो प्रक्रिया अपनाउने गरेका छन् । पुस मसान्त नजिकिदै जाँदा लगानीकर्ताहरुले त्रैमाशिक कर्जा तथा व्याज भुक्तान गर्ने समय पनि हुँदै गरेकोले यो समय बजारमा केही समय वृद्धि देखिने पुरानै चलन रहेको मुन्दरा बताउछन् ।
‘यसलाई कतिपयले चलखेल पनि भन्छन् तर यसलाई स्वभाविक नै मान्नु पर्छ,’ मुन्दराले भने । बजारमा मूल्य बढेपछि केही सेयर बिक्री गरेर पनि यस्तो भुक्तानी दिने चलन रहेको छ ।

पुस अन्त्यसँगै कम्पनीहरुको वित्तीय विवरण प्रकासित हुन थाल्ने भएकोले पनि कम्पनीहरुको नाफा बढ्ने अपेक्षामा लगानीकर्तामा रहने गर्छ । यद्यपी दोस्रो त्रैमाशको रिपोर्टबाट बार्षिक नाफा र लाभांश आँकलन गर्न सजिलो नहुने भएकोले सबैले यो नीति आत्मसाथ भने गर्दैनन् । कम्पनीहरुको सेयर मूल्य उच्च तहमा रहेकोभन्दा ५० प्रतिशतसम्म गिरावट आएकोले पनि लगानीकर्ताहरुले खरिददारी बढाएको देखिन्छ । तर, बजारमा वृद्धिको अझै पर्याप्त आधार भने बनिसकेको छैन् । विशेष गरी बैंकहरुले निक्षेपमा दिने व्याज दरमा भइरहेको वृद्धि, सेयर कर्जा प्रवाहमा कडाईले भने बजार बढ्न अवरोध गरिरहेकै छ ।

प्राविधिक विश्लेषण

nepse-wedge
यता, यो बिन्दु आसपास नेप्सेले सानोतिनो टेवा पाउदै आएको देखिन्छ । मंगलबारको कारोबारमा न्युनत्तम विन्दु १ हजार ३ सय ९४ सम्म पुगेर नेप्से केही फर्किएर १ हजार ४ सय ८ बिन्दुमा आएको थियो ।  रेखा चित्र विश्लेषण गर्ने हो भने नेप्सेले १३८० देखि १४१० बिन्दुसम्म सानो सानो टेवा यसअघि पनि पाएको देखिन्छ । यसैले पनि यो विन्दुमा टेवाको सम्भावना देखिएको हो ।

रेखाचित्र विश्लेषणमा वेड्ज प्यार्टनबाट हेर्दा नेप्सेमा फलिङ वेड्ज प्यार्टन बनेको छ । यसले बजारमा बिक्री दबाब कम भइहरेको संकेत गर्छ । यद्यपी यो प्यार्टन दिर्घकालिन प्रकृतिको हुने  भएकोले यो प्रवृत्ती केही समयसम्म चल्न सक्छ । टेवा बिन्दुमा पुगेर बढ्ने क्रममा नेप्से देखिएपनि प्रतिरोध पार नगर्दासम्म लगानी गर्न नहुने मान्यता रहेको छ ।

नेप्सेको आरएसआई भने १५ स्केलसम्म पुगेर बढ्ने क्रममा रहेको छ । यसले सेयर खरिददारी बढिरहेको संकेत गर्छ । यद्यपी बजार अहिले पनि ओभरसोल्ड जोन अर्थात् बिक्री चाप उच्च रहेकै अवस्थामा छ । यता सम्पिल मुभिङ एभरेजका ७ दिने र २१ दिने रेखा पनि नजिक आउन सकेका छैनन् ।

rsi-and-moving-average

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment