Comments Add Comment

काव्य-मुसायरामा कविता र गजलको जुगलबन्दी

१५ पुस, काठमाडौं ।

केही छैन मसँग त्यस्तो
जसलाई हेरेर कसैले वाह भन्न सकोस्
र रैनछ यहाँ कोही यस्तो
जो बस्ने जिउको चौडाइ र हिँड्ने जिउको लम्बाइ नहेरी
विवाह गर्न सकोस्
म त अझ त्यो फूल जस्तै नफुलेकी नारी
जसले उम्रिन पनि परालै कुहिनुपर्छ

कवि नवराज पराजुली शुक्रबार मण्डला थिएटरमा ‘च्याउ’ शीर्षकको कवितामा दृष्टिविहीन महिलाको व्यथा सुनाइरहेका थिए । सौन्दर्यबारे समाजको परम्परागत परिभाषाभित्र नपरेर एक्लो जीवन बाँच्न विवश तमाम नारीको वेदना रहेको कविता गुञ्जिरहँदा खचाखच हल पनि पूरै सामसुम थियो ।

कविताको मर्मले हुरुक्क भएर बेलाबेला ‘वाह’ भन्ने आवाज बाहेक कविताप्रेमीहरु कविको विम्बात्मक भावमा मग्न थिए ।kavya-mushayara-nawaraj-parajuli

काव्य-मुसायरा नाम दिइएको कार्यक्रमको पहिलो शृङ्खलामा नवराज र अग्रज गजलकार ज्ञानुवाकर पौडेल उभिएका थिए ।

नवराजले ‘च्याउ’ सहित आफ्ना चर्चित कविता ‘सगरमाथाको गहिराइ’, ‘ब्रह्माजीको रजस्वला’, ‘पीर ती’ सुनाए । एउटा सन्तानप्रति आमाको ममतालाई केस्रा-केस्रा केलाइएको ‘ह्याभी बर्थडे’ कवितासँगै उनले मैजारो गरे । उनका कवितामा वैदेशिक रोजगारीका पीडा, सुदूरपश्चिमका जिल्लाहरुमा छाउपडी प्रथाले थोपरेको सास्ती र समाजमा हराउँदै गएको मानवताको खोजी  लगायत विविध सन्दर्भ मार्मिक रुपमा व्यक्त भएको थियो ।

त्यसअघि मञ्चमा उक्लिएका गजलकार पौडेलले आफ्ना एक दर्जन गजल सुनाए । गजलहरुको बिटो नै बोकेर देखा परेका उनले प्रेम रसको गजलबाट मेलो सार्ने सुर कसे ।

त्यस क्रममा हँस्यौली गरे, ‘कपाल फुलेको मान्छेले रोमान्टिक गजल सुनायो भन्ने कुरा आउला, तर प्रेसर कुकर जति पुरानो भयो, उति जोडसँग सिठी लाउँछ ।’

हाँसोले हलको माहौल लामो समय गर्मायो ।

प्रेम-प्रणयसँगै उनले राजनीतिक बेथिति र सामाजिक विडम्बनासम्मका गजल सुनाए । त्यस क्रममा ०४६ सालको आन्दोलनका क्रममा सुनाएको गजल पनि उनले ब्युँताए :

तरबारको धारमा हिँड्नुपर्छ यहाँ हरदम, के लाग्छ
पचाउन थालेपछि मानिसले लाज सरम, के लाग्छ !

जसका श्रम र पसिनाले झलमलाए ती महल र अट्टालिकाहरु,
तिनैको झोपडीमा छ आज उज्यालो सारै कम, के लाग्छ !

वाचनको बीचमा उनले मन्तव्य पनि जोड्दै काव्यिक गुणले नै गजल शक्तिशाली बन्ने भन्दै आजको समयमा गजलको प्रभाव बढिरहेको बताए । उनले नयाँ पुस्तालाई लेखनमा सजग भएर लाग्न समेत उत्प्रेरित गरे ।

काव्य-मुसायरा रचनावाचन समूह र मण्डला थिएटरको सहकार्यमा आयोजना गरिएको हो । कार्यक्रम अबदेखि हरेक महिना गरिने आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment