+
+

राजधानीमा एमालेको शक्तिः कति मान्छे उत्रिए सडकमा ?

पार्टी नेता भन्छन्- दुई लाख, प्रहरी भन्छ-५० हजार

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १८:११

uml-protest-at-kathmandu-10

२२ पुस, काठमाडौं । रुपमा संसदका ९ विपक्षी दलको जनप्रदर्शन भनिए पनि सारमा  शुक्रबारको जुलुस र सभा एमालेको एकल शक्ति प्रदर्शनजस्तो देखियो । अन्य साना दलको पनि प्रतिनिधित्वमूलक सहभागिता रह्यो ।

राजधानीका सडक एमालेका झण्डा र एमालेकै कार्यकर्ताले भरिएका थिए । एमालेका प्रत्येक तीन कार्यकर्तामध्ये एकले सूर्य, अर्कोले हँसिया हथौडा र तेस्रोले चन्द्र-सूर्य अंकित झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।

एमाले कार्यकर्ताका लागि यो जुलुस र शक्ति प्रदर्शन निकै वर्षपछि प्राप्त भएको उत्सवजस्तो देखियो । संविधानसभाको चुनावमा समेत परिचालित नभएको एमालेको पंक्ति यसपटक राजधानीका सडकमा पोखियो ।

कति थिए सहभागी ?

एमालेका नेताहरुले जनप्रदर्शनमा २ लाखको सहभागिता रहेको दाबी गरेका छन् । हरेक पार्टीले आफ्नो प्रदर्शनलाई ठूलो देखाउनु स्वभाविक हो । उनीहरुले ८३ हजार सदस्यले त सहभागिताको हाजिरी नै जनाएको दाबी पनि गरेका छन् ।

यस्ता प्रदर्शन र सभाहरुमा टाउको गनेर यति नै सहभागिता रहृयो भन्ने कुनै वैज्ञानिक मापदण्ड हुँदैन । प्रहरीले ५० हजारभन्दा बढी मानिस प्रदर्शनीमार्ग, भद्रकाली, भोटाहिटी, पुतलीसडक, बागबजार, रत्नपार्क लगायतका क्षेत्रमा सहभागी रहेको अनुमान गरेको छ ।

संख्या हजार वा लाखमा गनेर धेरै देखाउनु आयोजकको चलन हो । विपक्षीहरुले कम आँक्नु पनि चलन नै हो । तर, विहीबारको एमालेको शक्ति प्रदर्शनमा देखिएको सहभागिताले एमालेको सम्पूर्ण शक्ति परिचालन भएको पुष्टि गरेको छ । भलै उसले भनेको जति संख्यामा कार्यकर्ताहरु सडकमा आएनन् ।

एमालेको एक्लै मात्रै नभएर यो भीडमा नेमकिपा र राष्ट्रिय जनमोर्चाको पनि थोरबहुत योगदान थियो ।

केही प्रत्यक्षदर्शी पत्रकारहरुले गरेको आँकलनमा सडकमा २५/३० हजार प्रतिवद्ध कार्यकर्ताहरु उत्रिएका देखिन्थे । बाँकी कार्यक्रम स्थलभन्दा बाहिर छरिएका थिए ।

एमालेको प्रतिष्ठाः कार्यकर्ताको सहभागिता

गुटका कार्यक्रममा मात्रै सहभागी हुने बानी परिसकेका एमालेका कार्यकर्ताहरु यसपटक एक दिनका लागि पार्टीको प्रतिष्ठा जोगाउन सडकमा आए । विहीवारको प्रदर्शनलाई एमालेका शीर्ष नेतादेखि सामान्य कार्यकर्ताले समेत पार्टीको प्रतिष्ठासँग जोडेको पाइयो ।

धेरै लामो समयपछि पार्टीले प्रतिष्ठाका रुपमा आयोजना गरेको जुलुस भएकाले ‘एक दिन पार्टीलाई’ दिन सबै कार्यकर्ता तयार भए । योबेला पार्टीमा कुनै विवाद र नेताहरुमा गुटबन्दी समेत शान्त भएकाले कार्यकर्तामा उत्साह देखिन्थ्यो ।

महानगरीय ट्राफिक प्रहरीका एक उच्च अधिकृतका अनुसार काठमाडौंमा ०६२/६३ सालको जनआन्दोलनपछि जुलुस सहभागिताको हिसाबले सम्भवतः यो सबैभन्दा ठूलो सहभागिता हो । अपेक्षाकृत रुपमा जुलुस सभ्य र शान्त रहेकाले यातायात व्यवस्था मिलाउन केही सहज भएको उनले बताए ।

ठूलो प्रदर्शनका साना कारण

यो यसकारणले ठूलो प्रदर्शन भयो कि, एक त एमालेका कार्यकर्ताले पार्टी नेतृत्व एक ढिक्का भएर गरेको प्रदर्शनमा भाग लिन नपाएको धेरै समय भइसकेको थियो । दोस्रो चाहिँ हरेक कार्यकर्ताको संगठित सदस्यता र आवद्धता भएको ठाउँबाट अनिवार्य सहभागी हुने हृवीप जारी भएको थियो ।

तेस्रो कारण भनेको उपत्यकामा केन्दि्रत एमालेको शक्ति सम्पूर्ण रुपमा सडकमा उत्रिनु हो । काठमाडौंमा एमालेका ७२ जिल्लाका सम्पर्क मञ्चहरु बाह्रै महिना क्रियाशील छन् । विहीवारको प्रदर्शनमा ती सबै सम्पर्क मञ्चले औषत ५ सय सहभागी जुटाएका थिए ।

karmachari-in-uml-protest

ट्रेड युनियनको निर्वाचनबाट पुष्टि भएको तथ्य के हो भने निजामति कर्मचारीको तल्लो तहमा एमालेको बलियो पकड छ । काठमाडौंमा खटिएका कर्मचारीहरुमध्ये अधिकृत तहभन्दा मुनिका करिव १० हजार निजामति कर्मचारी एमालेका सदस्य छन् । ती अधिकांश कर्मचारीसमेत जुलुसमा सहभागी थिए ।

जल, जमिन, जंगल, जडिबुटी, सहकारी, शिक्षा, स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष गाँसिएका क्षेत्रमा कार्यरत गैरसकारी संस्थाहरुमा एमालेको बलियो पकड छ । मध्यमवर्गीय ‘राष्ट्रवादी’ तप्काले समेत यिनै संस्थाहरुको सेरोफेरोमा जिविका चलाउने गरेका छन् । ती खुलेरै जुुलुसमा सहभागी भए ।

त्यस्तै एमालेनिकट कलाकार, पत्रकार, कर्मचारी, शिक्षक, प्राध्यापक, वकिल, इन्जिनियर, डाक्टर, नर्सजस्ता पेशागत क्षेत्रका एमाले समर्थकहरु पनि ब्यानरसहित सहभागी थिए । त्यस्तै विभिन्न जातीय तथा धार्मिक संस्थाको ब्यानरमै सहभागिता थियो । यसले पनि जुलुस अपेक्षाकृत ठूलो भयो ।

अर्को कारणचाहिँ देशभक्ति र राष्ट्रिय स्वाभिमानको भावनात्मक नाराले पनि निष्त्रिmय रहेका वा आफ्नै निजी काममा रहेका सामान्य शुभेच्छुकहरुलाई पनि प्रदर्शनमा सहभागी हुन प्रेरित गरेको देखियो । त्यसैले कतिपय गैरएमालेहरु पनि प्रदर्शनमा सहभागी भए ।

को हाजिर ? को गयल ? रेकर्ड राखियो

पार्टीका सदस्यहरु हाजिरी जनाउनकै लागि पनि आ-आफ्नो कमिटीको ब्यानरमा उभिन पुगे । किनकि प्रत्येक कमिटीलाई आफू अन्तर्गतका सदस्यहरु को-को सहभागी भए, को गयल भए ? यसको हाजिरी रेकर्ड राख्न र भविश्यमा अवसर प्रदान गर्दा त्यसलाई आधार बनाउने भनिएको थियो ।

एमालेमा मोर्चा संगठन प्रमुख गोकर्ण विष्टले त प्रत्येक जनसंगठनलाई आ-आफ्नो ब्यानरको पछाडि सहभागी हुनेहरुको फोटो खिचेर राख्न निर्देशन दिएका थिए । एमालेका पेशागत समेत गर्दा करीव तीन दर्जन जनसंगठनहरु छन् ।

प्रत्येक कमिटी तथा भातृसंगठनका कार्यकर्ता आ-आफ्नै कमिटीको ब्यानर पछाडि रहनुपर्ने उर्दी थियो । अनि ती सबै ब्यानरको अग्रभागमा कम्तिमा एकजना पदाधिकारी वा स्थायी कमिटी सदस्य उभिएर जुुलुसको कमाण्ड गरेका थिए ।

काठमाडौं बाहिरका तर नजिकका जिल्लाबाट पनि एमालेका अगुवा कार्यकर्ताहरु काठमाडौं आए । मधेसमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेका बेला एमालेका मधेसीहरुले पनि यो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाए ।

राजेन्द्र महतोले बाजा बजाएर एमालेलाई मधेशबाट खेद्ने भने लगत्तै एमालेका मधेसी नेताहरुले बाजासहित काठमाडौं आउने तयारी गरेका थिए । जनकपुरबाट बाजागाजासहित गम्छा ओढेर आएका एमाले नेता श्रीप्रसाद साहले भने- आज गनेर ५ हजार मधेसी हामीले जुलुसमा सहभागी गरायौं ।

कार्यकर्तालाई कोरामिन

यो प्रदर्शनले लामो समयदेखि निष्क्रिय रहेका एमालेका तल्ला तहका कार्यकर्ता परिचालन भएका छन् भने आउने चुनावको तयारी पनि यो प्रदर्शन हो । काठमाडौं उपत्यकाबासीमा रहेको भारतबिरोधी मानसिकतालाई समेत एमालेले क्यास गर्न खोजेको छ ।

एमाले विरुद्ध कांग्रेस माओवादीसहित प्रायः सबै दलहरुको गठबन्धन बलियो बन्दै गएका बेला कार्यकर्तालाई उत्साह भर्न यो प्रदर्शन कोरामिन बनेको छ । सँगसँगै पार्टीमा लामो समयदेखि गुटका मात्र भेला,बैठकमा सहभागी हुने गरेका कार्यकर्ताको पुनर्मिलन जस्तो पनि देखियो यो प्रदर्शन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?