Comments Add Comment

रौतहटमा एकैदिन चार ठाउँमा पुल शिलान्यास

ramesh-lekhak-rautahat

२५ पुस, रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले रौतहटमा एकैदिन चारवटा पुलको शिलान्यास गरेका छन् ।

रौतहटको चाँदी र वागमती नदीका विभिन्न स्थानमा पुल शिलान्यास गर्न मन्त्री लेखक रौतहट आएका छन् ।

रौतहटको चन्द्रपुर-गैंडाटार जोड्ने चाँदी खोलामा निर्माण हुन लागेको पक्की पुलको मन्त्री लेखकले सोमबार शिलान्यास गरे । पुल बनाउन पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख ४६ हजार २६७ रुपैयाँ ८१ पैसामा ठेक्का सकार गरेको छ । पुलको लम्बाई ४६९.५० मिटर र चौडाई ७.५० मिटर रहने छ ।

११ वटा स्पान रहने सो पुल २०७६ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने डिभिजन सडक कार्यालय रौतहटका प्रमुख अरबिन्द गुप्ताले जानकारी दिए ।

मन्त्री लेखकले चन्द्रनिगाहपुर-कोठियार जोड्ने लमहा खोलामा बन्ने पुलको पनि शिलान्यास गरेका छन् । त्यसको ठेक्का पनि पप्पु शिवशंकर जेभीले नै पाएको छ । सो पुलको निर्माण लागत ९ करोड १८ लाख २५ हजार ५५९ रुपैयाँ ५७ पैसा छ । सो पुल १२० मिटर लामो हुने छ ।

पाँच करोड ४३ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुने पिपरिया-दोस्तिया तरहरी पुलको पनि सोमबार नै मन्त्री लेखकले शिलान्यास गरेका छन् । सो पुल निर्माणको जिम्मा पनि पप्पु शिवशंकर जेभीलाई नै दिइएको छ । ६० मिटर लम्बाई र ७ मिटर चौडाईको सो पुल २०७५ जेठ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने छ ।

मन्त्री लेखकले सोमबार नै गंगा-पिप्रामा पनि पुल शिलान्यास गरेका छन् ।

चन्द्रपुर-गैडाटार जोड्ने पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक रहेको बताए । सबैको स्वीकार्यता भएन भने संविधान कार्यान्वयनमा कठिनाइ हुने र निर्वाचन लगायतका सबै महत्वपूर्ण काम प्रभावित हुने मन्त्री लेखकको भनाइ छ ।

उनले सोमबार नै बागमती नदी पुलको बडरहवा क्षेत्रमा निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment