Comments Add Comment

नाकाबन्दीपछि नेपालमा हिन्दी भन्दा नेपाली चलचित्रको व्यापार माथि

के नेपाली चलचित्रले नै धान्दैछन् नेपाली हल ?

4-movie
हुनत, केहि नेपाली चलचित्रको व्यापार राम्रो हुने वित्तिकै रमाइहाल्ने बानी चलचित्रकर्मीको छ । १-२ वटा चलचित्र चल्ने वित्तिकै अब नेपाली चलचित्र उकालो लाग्यो भनेर लत्तो नै छाडिदिने बानी पनि नेपाली चलचित्रकर्मीको नभएको होइन । तर, एउटा कुरा सत्य के हो भने, अहिले नेपाली चलचित्रको व्यापारले सुखद सन्देश दिन थालेका छन् ।

‘छक्का पन्जा’को रेकर्ड तोड्न ठूला हिन्दी चलचित्रलाई पनि लामो समय मुश्किल पर्ने पक्का छ । नेपाली चलचित्रले राम्रो कमाउन थालेपछि, यतिबेला निर्माताहरु भन्न थालेका छन्-‘अहिले नेपाली हल नेपाली चलचित्रले नै धानेका छन् ।’

आखिर अवस्था के हो त ? हामीले यो बिषयमा वुझ्ने प्रयास गरेका छौ । नेपाली र हिन्दी दुबै चलचित्रले सवैभन्दा बढी व्यापार गर्ने हल हो, काठमाण्डौको क्यूएफएक्स । नेपाली र हिन्दी दुबै चलचित्रले क्यूएफएक्सबाट राम्रो शेयर पाएका छन् । तर, मल्टिप्लेक्समा पहिलो साता ५०, दोश्रो साता ४२, तेश्रो साता ३७ र चौथो हप्तादेखि ३० प्रतिशत मात्र शेयर नेपाली चलचित्रले पाउँछन् । यसैले पनि अब, यो भिन्नता हट्नुपर्ने माग निर्माताहरुले गर्न थालेका छन् ।

काठमाण्डौको कुमारी हलका म्यानेजर विनोद कुमार पोखरेल भन्छन्-‘नाकाबन्दीपछि केहि समय नेपालमा हिन्दी चलचित्र कम चलेको पक्का हो । तर, अहिले फेरि हिन्दी चलचित्र चल्न थालेका छन् ।’

उनका अनुसार ठूला कलाकारको चलचित्रले काठमाण्डौका मल्टिप्लेक्समा राम्रो व्यापार नै गरेका छन् । अहिले चलिरहेको ‘दंगल’ले पनि राम्रो शेयर कमाएको उनको भनाई छ । यसअगाडि रिलिज भएको ‘सुल्तान, रुस्तम, एयरलिफ्ट’ जस्ता चलचित्रले राम्रो कमाई गरेको उनले बताए । तर, साना बजेटका र नेपालमा खासै चर्चित नभएका कलाकारको चलचित्र भने नचलेको उनले बताए ।

चलचित्र ‘छक्का पन्जा’ले मल्टिप्लेक्समै धेरै हिन्दी चलचित्रलाई विस्थापित गरेको विनोदले बताए । तर, नेपाली चलचित्रकै कारण अहिले हल चलिरहेको भन्न नमिल्ने उनले बताए ।

यता, काठमाण्डौ बाहिर चलचित्र वितरणमा सबैभन्दा ठूलो संजाल खडा गरेको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन अहिले काठमाण्डौ बाहिर हिन्दी चलचित्रको व्यापार खस्किएको बताउँछन् । उनले भने-‘नाकाबन्दीपछि नेपाली चलचित्रले नै मोफसलमा राम्रो कमाइ गरिरहेका छन् । तर, कतिपय यस्ता चलचित्र पनि रिलिज भएका छन्, जसको व्यापार निकै दयनिय छ ।’

नरेन्द्रले अगाडि थपे-‘काठमाण्डौ बाहिर ‘दंगल’ पनि राम्रो चलेन । राम्रो नेपाली चलचित्रले काठमाण्डौ बाहिरबाट निकै राम्रो कमाई गरेका छन् ।’ तर, पहिले जस्तो, जुन नेपाली चलचित्र आएपनि ठिकै चल्ने अवस्था अहिले नभएको उनले सुनाए । काठमाण्डौ बाहिर, धेरै नेपाली चलचित्रले रेकर्ड ब्रेक नै गरेका छन् । ३ खान बाहेक अन्य कलाकारको चलचित्रबाट अहिले डराउनु पर्ने अवस्था नभएको उनले सुनाए । ‘सुल्तान’ले ठिकै व्यापार गर्दा ‘दंगल, फ्यान, डीअर जिन्दगी’ जस्ता खानका चलचित्रले खासै कमाल नगरेको नरेन्द्रले बताएका छन् ।

अहिले एफडी कम्पनीले राम्रा नेपाली चलचित्रलाई राम्रो रकममा ‘एमजी’ पनि दिन थालेको छ । सायद, नेपाली चलचित्रमा वितरकहरुको बढ्दै गएको विश्वास यो पनि हो ।
काठमाण्डौमा नेपाली चलचित्र वितरण गर्दै आएको पपकर्न कम्पनीका एक सदस्य माधव वाग्ले भन्छन्-‘अहिले नेपाली चलचित्र हाबी भएको कुरा सत्य हो । काठमाण्डौ भित्र राम्रा नेपाली चलचित्रको ग्रस निकै राम्रो छ ।’

उनका अनुसार हिन्दी चलचित्र हेर्दै आएका दर्शक अहिले नेपाली चलचित्रमा डाइभर्ट भएका छन् । ३ खान, अक्षय कुमार जस्ता कलाकारको चलचित्रले राम्रै व्यापार गरेपनि अन्य चलचित्रको भन्दा नेपाली चलचित्र धेरै माथि रहेको उनले सुनाए । ‘छक्का पन्जा, जात्रा’ जस्ता राम्रा चलचित्रले त हिन्दी चलचित्रलाई नै हलबाट उतारेको उनले संझिए ।

तर, बर्षका केहि ठूला स्टारका चलचित्र आउँदा काठमाण्डौका मल्टिप्लेक्सले राम्रो कमाई गर्ने भएकाले पनि उनीहरु हिन्दी चलचित्रलाई बढी महत्व दिने गरेको निर्माताहरुको वुझाई छ ।

नाकाबन्दीपछि नेपालीहरुमा नेपाली चलचित्रलाई नै प्रेम गर्ने सोच विकसित भएको छ । तर, नेपाली चलचित्रको स्तर पनि विकास भएको छ । कथावस्तु, मेकिङ, प्रचार शैलीदेखि प्राविधिक रुपमा नेपाली चलचित्र उच्च बन्दैछन् । जसले, हलमा हिन्दी चलचित्रको दबदबा तोडिएका छन् ।

एउटै रकम तिरेपछि दर्शक राम्रो चलचित्र हेर्न चाहन्छन् । नेपाली चलचित्रले यसको पुर्ती गर्ने हो भने नेपाली सिनेमा घरहरु नेपाली चलचित्र चलाएर राम्रोसँग चल्ने अवस्था छ । हुनत, अझै पनि केहि शहरमा नेपाली चलचित्र रिलिज नै हुँदैनन् ।

नाकाबन्दीपछि नेपाली चलचित्र देशभरै हिन्दी चलचित्रमाथि हाबी भएका छन् । अहिले नेपाली चलचित्रका मेकर, कलाकारलाई दर्शकले पत्याउन थालेका छन् । जसको फलस्वरुप, हललाई पैसा कमाउन खानकै चलचित्र कुर्नु पर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment