२६ पुस, बर्दिबास । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन एक लाख रुपैयाँ सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनलाई शिलान्यास समारोहमै ३५ लाख बराबरको सहयोग जुटेको छ ।
फाउन्डेसनले सोमबार बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमूना बस्तीको शुभारम्भ गरेको थियो । बस्ती निर्माणको शिलान्यास मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।
बस्तीको शिलान्यासका लागि पुगेका हास्य कलाकारद्वयले सहयोगको घोषणा गर्दै बस्ती बनाउन उल्लेख्य रकम जुट्ने विश्वास पनि व्यक्त गरे । ‘दोस्रो जनआन्दोलनको घाइतेहरूको उपचार गर्न हामीले यसैगरी एक लाख रकम प्रदान गरेर उपचार कोष खडा गरेका थियौं र सहयोगको आहृवान गरेका थियौं । यहाँ पनि यो घोषणासँगै बस्ती बनाउन पर्याप्त रकम संकलन हुने विश्वास लिएका छौं,’ कलाकार श्रेष्ठले भने ।
यसैगरी धुर्मुस, सुन्तलीले सिंगो कला जगतको प्रतिनिधित्व गर्दै बस्ती निर्माण गर्न लागेकाले आफूहरूले सहयोगको हात बढाएको कलाकार आचार्यले बताए ।
शिलान्यास समारोहमा विभिन्न ब्यक्तित्व, सामाजिक संघ संस्था र निकायबाट ३५ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया 4