Comments Add Comment

मोदीलाई पद्मासनमा बस्न नआएको भन्दै राहुलको कटाक्ष

modi२७ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योगलाई लिएर कांग्रेस आइका नेता राहुल गान्धीले मजाक उडाएका छन् । उनले मोदीलाई राम्रोसँग पद्मासनमा बस्न पनि नआउने बताए ।

दिल्लीमा बुधबार आयोजित जनवेदना सम्मेलनमा भाषण गर्दै राहुलले भने, ‘म उहाँको सबै कुरा याद गर्छु । उहाँ (मोदी)ले धेरै योग गर्नुभयो, तर अहिलेसम्म पद्मासन गर्नुभएको छैन । उहाँलाई पद्मासनमा बस्नै आउँदैन ।’

राहुलले अगाडि भने, ‘म पनि योगा गर्थेँ । मेरो योग गुरु भन्नुहुन्थ्यो, जसले योग गर्छ उसले पद्मासन गर्न सक्छ र जसले योग गर्दैन उसले पद्मासन गर्न सक्दैन ।’

गुजरात भमणमा गएका मोदीले मंगलबार एक ट्वीट गरेका थिए । उनी बिहान अहमदावादमा आमालाई भेट्न पुगेका थिए । त्यसपछि उनले ट्वीटरमा लेखेका थिए, ‘आज बिहान योग गर्न सकिनँ किनकी आमालाई भेट्न गएँ । उहाँसँगै खाजा खाएँ ।’

मोदीले गरेको नोटबन्दीलाई लिएर पनि राहुलले चर्को आलोचना गरे । उनले भने, ‘नोटबन्दीको निर्णयभन्दा अगाडि प्रधानमन्त्रीले आरबीआईका गभर्नरको सुझावलाई नजरअन्दाज गर्नुभयो । उहाँले आम जनताको कमाई र वचतलाई कागजको खोस्टोमा बदलिदिनुभयो । अहिले परिस्थिति उहाँको नियन्त्रणमा छैन । यतिबेला प्रधानमन्त्री आफ्नो ‘घरेलु अर्थशास्त्री’ रामदेव र बोकलेजीको पछाडि लुकिरहनु भएको छ ।’

नोटबन्दीले घरेलु उद्योगधन्दा तहनहस बनाएको उल्लेख गर्दै राहुलले गाडीको बिक्रीमा ६० प्रतिशतले गिरावट आउनुको कारण के हो सरकारले जवाफ दिनुपर्ने बताए ।

राहुलले देश फेरि १६ वर्षअगाडिको स्थितिमा पुगेको भन्दै अब कांग्रेसको सरकार आएपछि मात्रै राम्रो दिन सुरु हुने जिकिर गरे ।

मोदीको सरसफाई अभियानलाई पनि उनले कटाक्षा गरे । राहुलले भने, ‘मोदीजी कुनै काम पुरा गर्नुहुन्न । पहिले उहाँले भन्नुभयो, हिन्दुस्तानलाई सफा बनाइदिन्छु । त्यसपछि ३-४ दिन झाडु लगाउनुभयो र हराउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment