Comments Add Comment

तीन दलको नश्लवादी रवैया नसुध्रिए संविधान खारेज हुन्छः उपेन्द्र यादव

upendra-yadav

१ माघ, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रमुख तीन दलको कार्यशैली र चिन्तनमा परिवर्तन नआए संविधान नै खारेज हुन सक्ने चेतावनी दिएका छन् ।

तीन दलका नेताहरुको नश्लीय सोच नै मुख्य समस्या भएको भन्दै उनले जबरजस्ती संविधानलाई लाद्न खोजिए विद्रोह हुने चेतावनी दिए । संघीय गठबन्धनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा संयोजक समेत रहेका फोरम अध्यक्ष यादवले संविधानलाई सर्वस्वीकार बनाउन आफूहरुले सार्थक परिमार्जन खोजेको प्रष्ट पारे ।

उनले परिमार्जन विनाको संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताए । संविधान संशोधन विधेयक परिमार्जन नभए संशोधन विधेयक पारित हुनु वा नहुनुको कुनै अर्थ नभएको बताए ।

यादवले भने, ‘उत्पीडित जनताको लासमाथि टेकेर जबरजस्ती ढंगले जारी गरिएको विभेदकारी संविधानलाई मान्न हामी बाध्य छैनौं । संविधानको कार्यान्वयन र त्यसलाई सर्वमान्य बनाउने हो भने मधेसी, आदिवासी जनजाति, खस, महिला लगायत उत्पीडित समुदायले उठाएको माग अनुसार संशोधन हुनुपर्छ ।’

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संविधान खारेज भए मुलुकमा प्रतिक्रान्ति हावी हुन सक्नेतर्फ सबैलाई सचेत गराएका छन् । यथास्थितिवादी प्रमुख तीन दलबाट परिवर्तनको अपेक्षा गर्न नहुने भन्दै नेता भट्टराईले मुलुकमा प्रतिक्रान्तिको खतरा अत्याधीक रहेको औल्याए ।

पूर्व राजतन्त्र र हिन्दूवादी शक्तिलाई लक्षित गर्दै उनले भने, ‘प्रतिगमनकारी शक्तिहरुले उपलब्धिलाई मास्न लागिपरेका छन् । यदि संविधान खारेज हुने अवस्था आयो भने प्रतिक्रान्ति हावी हुन सक्छ ।’

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता उपलब्धिको रक्षा गर्न तत्काललाई सम्झौता गरेर भएपनि संविधानको सफल कार्यान्वयनमा लाग्न उनले आग्रह गरेका छन् ।

‘उपलब्धि जोगाउन तत्काललाई सम्झौता नै गरेर भएपनि अधितकतम परिमार्जनसहित संशोधनलाई समर्थन गर्दै संविधान कार्यान्वयन गर्न जरुरी छ । बाँकी अधिकारका लागि संगठिन ढंगले पुनः आन्दोलन गर्ने बाटो सँधै खुला नै छ’ पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment