Comments Add Comment

रुपन्देहीमा हतियारसहित दुईजना पक्राउ (भिडियोसहित)

३ माघ, भैरहवा । रुपन्देहीको पूर्वी क्षेत्र धकधई बजारबाट हतियार (पेस्तोल) सहित दुई जना पक्राउ परेका छन् । आइतबार अपरान्ह करिब साढे ४ बजे धकधई क्षेत्रको एक रेष्टुरेण्टबाट हतियारसहित एक युवक र एक महिला पक्राउ परेका हुन् ।

पक्राउ परेका युवक भारतीय नागरिक रहेको र उनको नाम अरविन्द मल्लाह (सहनी) रहेको प्रहरी स्रोतले बताएको छ । तर पक्राउ परेकी महिलाको विषयमा केही खुल्न सकेको छैन ।

पक्राउ परेका युवकले प्रयोग गरेको लु ८ प ५२८० नम्बरको एनएक्सजी मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

रेष्टुरेण्टमा हतियारसहित बसिरहेको अवस्थामा प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको हो भने महिलालाई भने प्रहरीले केही समयपछि धकधई बजारको सडकबाट पक्राउ गरेको थियो ।

तर आइतबार साँझ धकधई क्षेत्रबाट कोही पनि पक्राउ नपरेको रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले दावी गरे । प्रहरीले आइतबार धकधई क्षेत्रबाट एकजना युवकलाई पक्राउ गरेर लगिरहेको भिडियो अनलाइनखबरले फेला पारेको छ । भिडिओमा पक्राउ परेका युवाको हातमा हतकडी लगाएर लगेको देखिन्छ ।

घटनाको प्रत्यक्षदर्शी एवं सामुदायिक सेवा केन्द्र धकधई अध्यक्ष जयप्रकाश यादवले भने घटनाको पुष्टि गरेका छन् । उनले आइतबार साँझ प्रहरीले एक युवक र एक महिलालाई धकधईबाट पक्राउ गरेको बताए ।

‘प्रहरीले धकधईबाट एक युवकलाई पक्राउ गरेको हो र युवाको साथमा पेस्तोल पनि देखिएको थियो,’ अध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘युवकलाई पक्राउ गरेको केही समयपछि एक महिलालाई पनि प्रहरीले पक्राउ गरेर लगेको थियो ।’

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल हालै भैरहवा आएका बेला भैरहवा क्षेत्रमा एक हप्ताभित्र विशेष सुरक्षा लागू गर्ने बताएका थिए । त्यसको केही समयमै प्रहरीले हतियारसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment