सपथग्रहणको तयारीमा रहेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाँस हाल्नु अगाडि नै ढुंगा परेको छ । उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउने एक ४१ वर्षीया महिलाले अहिले मानहानीको मुद्दा दर्ता गरेकी छिन् ।
ट्रम्पविरुद्ध मुद्दा हाल्ने महिला एउटा रियालिटी शोकी पूर्व सहभागी समर जर्वास हुन् । उनले सन् २००७ मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । आफ्नो व्यवहारलाई लिएर ट्रम्पले देशसँग झूटो बोलेको उनको भनाई छ ।
जर्वासले पत्रकार सम्मेलन आयोजना गरी मुद्दा दर्ता गर्ने घोषणा गरेकी हुन् । लस एन्जेलसमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘ट्रम्प झूटा र महिलाविरोधि हुन् । उनले मेरो मानाहानी गरेका छन् ।’
उनले फेरि भनिन्, ‘ट्रम्पसँग मैले आग्रह गरेकी थिएँ कि उनले मेरो बारेमा जे भनेका छन् ती शब्दहरु फिर्ता लिउन् । तर उनले यसो गर्न इन्कार गरिदिए । मेरोअगाडि मुद्दा दायर गर्नेभन्दा अर्को विकल्प थिएन । मैले सत्यलाई पुष्टी गर्न मुद्दा दायर गरेकी हुँ ।’ ट्रम्पले आफ्ना शब्दहरु फिर्ता लिएमा आफू मुद्दाबाट पछि हट्ने पनि उनले बताइन् ।
पत्रकार सम्मेलनमा जर्वाससँग उनकी वकिल ग्लोरिया एलर्ड पनि थिइन् । ग्लोरिया डेमोक्रेटिक पार्टीकी कार्यकर्ता हुन् । उनले ‘लाइ डिटेक्टर’बाट अनुसन्धान गरिनुपर्ने बताइन् ।
ट्रम्प राष्ट्रपति चुनावको दौडमा सामेल भएपछि थुप्रै महिलाहरुले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जर्वासले भनिन्, ‘ट्रम्पसँग म एउटा नोकरीको विषयमा कुरा गर्न बिवर्ली हिल्स होटलमा गएकी थिएँ । त्यही दौरान उनले ममाथि यौन हमला गरेका थिए । म बल्लतल्ल उम्किएकी थिएँ ।’
ट्रम्पले यी आरोपलाई फर्जी र बकवास भनेर खण्डन गरेका छन् । उनले जर्वासमाथि कानूनी कारवाहीको कुरा पनि गरेका छन् । यद्यपि उनले अहिलेसम्म कुनै पनि महिलामाथि आफूलाई लगाएको यौन दुव्र्यवाहरको आरोपको प्रतिरक्षामा मुद्दा दायर गरेका छैनन् ।
सन् २००५ मा एउटा भिडियो टेप सार्वजनिक भएको थियो जसमा ट्रम्पले महिलाहरुमाथि भद्दा टिप्पणी गरिरहेको देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि धेरै महिलाहरुले उनीविरुद्ध मुख खोलेका थिए ।
(बिबिसी)