Comments Add Comment

स्थानीय चुनाव वैशाख २५ वा ३० बाट सुरु गर्ने प्रचण्डको घोषणा

prachand-photo

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता स्थानीय चुनाव हुने घोषणा गरेका छन् । साथै उनले मधेसी मोर्चालाई चुनावमा ल्याउन अर्को संविधान संशोधन विधेयक ल्याउने प्रस्ताव गरे ।

आइतबार ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्न ढिलो हुन लागेको बताए । तीन दलबीच सहमति भएको भन्दै उनले भने, ‘९ गतेदेखि १५ गतेभित्र निर्वाचनसम्वन्धी विधेयक संसदबाट पारित गर्ने र निर्वाचन आयोगलाई दिइनेछ ।’

आयोगले १०० दिन मागेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘छिटोमा वैशाख २५ गते र ढिलोमा ३० गतेसम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव छ ।’

वैशाखको अन्तिम हप्ताबाट सुरु गरेर जेठको पहिलो सातासम्म चुनाव गर्न सकिने उनले बताए ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

र, निर्वाचन आयोगले स्थानीय तहको चुनाव दुई वा तीन चरणमा गर्नु पर्ने प्रस्ताव गरेको छ ।

निर्वाचनको कुरा गर्दै गर्दा संविधान संशोधनलाई छाड्न नसकिने भन्दै उनले सरकारले संसदमा दर्ता गराएको संशोधन अघि बढाउने विकल्पहरु प्रस्तुत गरे । सबैको सहमति भए आवश्यक परिमार्जन गरेर पास गर्ने र नभए प्रक्रियामा सहमति गर्नुपर्ने भन्दै उनले भने, ‘त्यसो गर्दा पनि निर्वाचन गर्न अफ्ठ्यारो पर्छ भने अर्को बाटो पनि अपनाउन सकिन्छ ।’

उनका अनुसार यो अर्को बाटो भनेको संसदमा दर्ता भएको संशोधन प्रक्रियामा अघि बढ्दै गर्दा अर्को संशोधन दर्ता गर्ने हो ।

यसबारे उनले थप खुलाएनन् । तर, उनको संकेत राष्ट्रिय सभा सदस्य छनोटका लागि बनाइने निर्वाचन मण्डलमा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई मताधिकार दिने व्यवस्था हटाउन संविधान संशोधन गर्ने हो । तीन दलको शनिबारको बैठकमा उनले यो प्रस्ताव राखेका थिए । र, एमालेले यसबारे अध्ययन गरेर मात्र जवाफ दिने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्को तरिकाद्वारा पनि यस्तो संशोधन, जसले स्थानीय चुनावमा सहभागी हुन मधेसी मोर्चालाई पनि ढोका खोल्छ भन्ने विश्वासका साथ हिँडेको छु ।’

चुनाव घोषणा र संशोधनबारे मधेसी मोर्चा र संघीय गठवन्धनसँग सहमति खोजिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment