+
+
Shares

हङकङमा नेपाली ‘म्याड’ महमाथि प्रश्न उठ्यो, अधिकारीहरुले थाले छानविन

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १०:५४

honey

१२ माघ, काठमाडौं । नेपालबाट लगेको मह खाएका कारण एक नागरिक विरामी भएपछि हङकङका स्वास्थ्य अधिकारीहरुले छानविन थालेका छन् ।

मह खाएको करिव ४५ मिनेटपछि ६१ वर्षीय बृद्धलाई जनवरी १८ मा कमजोरी हुनुका साथै काम छुटेको र श्वास फेर्न समेत गाह्रो भएको थियो । उनले नेपालबाट लगेको एक चम्चा मह खाएको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ ।

उनलाई तत्काल प्रिन्स अफ वेल्स हस्पिटलमा भर्ना गरिएको थियो । र, त्यही दिन नै घर फर्किएका छन् । उपचारका क्रममा पिसाबको नमूना परीक्षण गर्दा ग्रायानटक्सिन नामक स्नायु प्रणालीलाई हानी पुर्‍याउने विषाक्त पदार्थ भेटिएको छ ।

ग्रायानटक्सिन लालीगुराँस र त्यही समूहमा पर्ने अरु फूलहरुमा पाइन्छ । परागसेचनका क्रममा माहुरीले पार्ने महमा लालीगुराँस जस्ता फूलहरुको पराग मिसिन जान्छ र त्यस्तो महलाई ‘म्याड हनी’ समेत भन्ने गरिन्छ ।

म्याड हनीको सेवनले टाउको दुख्ने, झाडाबान्ता हुने, रिंगटा लाग्न सक्ने चिकित्सकहरु बताउँछन् । यसले मुटुको गतिलाई समेत घटाउँछ ।

सेन्टर फर हेल्थ प्रोटेक्सनको अनुसन्धानका क्रममा पीडितले नेपालमा रहेका आफ्नो साथी कहाँबाट मह ल्याएको पाइएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अधिकारीहरुले विश्वसनीय र नाम चलेका कम्पनीको मह मात्र प्रयोग गर्न आग्रह गरेका छन् । यदि मह खाँदा विगि्रएको जस्तो स्वाद लागेमा वा घाँटीमा पोलेको जस्तो अनुभव भए उक्त मह नखान समेत अधिकारीहरुले आग्रह गरेका छन् ।

सेप्टेम्बर २०१६ मा ५० वर्षीय पुरुष र मे २०१४ मा एक जना ४९ वर्षीया महिलालाई पनि मह खाएपछि पोइजनिङ भएर अस्पताल भर्ना गर्नु परेको थियो । ती महिलालाई आईसीयूमै राखेर उपचार गर्नु परेको थियो ।

अगष्ट २०१३ मा पनि महसँग सम्वन्धी तीन वटा केस हङकङमा भेटिएको थियो । र, यो सबै घटनामा प्रयोग भएको मह नेपालबाट लगिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?