+
+

बमको त्रासले विद्यालयको पूर्वाधार निर्माण ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते १६:४८

dullab-mabi-gorkha

१३ माघ, गोरखा । सरकार र तत्कालिन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएपछि नेपाललाई बारुदी सुरुङमुक्त देश घोषणा गरिएको छ तर, गोरखाका बिभिन्न ठाउँमा बेवारिसे अवस्थामा बिष्फोटक पदार्थ भेटिन छाडेको छैन ।

यही माघ ६ गते गोरखाको मसेल गाविस ९ घ्याम्पेसालस्थित दुल्लब माविको नवनिर्मित भवन नजिकै सकेट बम फेला परेपछि विद्यालयको भौतिक पूर्वाधार निर्माणको काम ठप्प भएको छ ।

भवनको करिव २५ मिटर दुरीमा शौचालयका लागि सेफ्टी ट्यांकी खन्ने क्रममा डेढ फुट गहिराइमा रकेट आकारको तारसहित सकेट बम फेला परेको थियो । नेपाली सेनाको टोलीले ति बम निष्कृय पारिसकेको छ तर थप बम भेटिन सक्ने भन्दै कामदारहरु आउनै छाडेका छन् ।

कामदार आउन छाडेपछि विद्यालयको शौचालय र खेलकुद मैदान निर्माणका काम ठप्प छन् ।

‘शौचालय निर्माणका लागि खाल्डो खन्दै गर्दा बम भेटियो,’ विद्यालयका निमित्त प्रधानाध्यापक कमल प्रसाद भट्टले भने, ‘डराएर कामदारहरु काम गर्न आउनै छाडे ।’

थप बम फेला पर्न सक्ने भन्दै कामदारहरु काम गर्न नमान्ने गरेको भट्टले बताए । बिष्फोटक पदार्थ भेटिएसँगै अहिले खाल्डो खन्ने काम पनि सम्पन्न हुन सकेको छैन । त्यस्तै विद्यालयको खेलकुद मैदान निर्माण गर्ने योजना पनि अपूरै छ । ‘विद्यालयमा शौचालय र खेलकुद मैदान बनाउने भनेर काम शुरु गरेको बम भेटियो, फेरी बिष्फोटक पदार्थ भेटिने डरले कामदाहरु काम गर्न मान्दैनन्,’ भट्टले भने ।

यसअघि पुष १८ गते स्वाँरा गाविस ९ को थला जंगलमा ढुंगाले च्यापेर राखिएको अबस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिए । दुई वर्ष अघि पनि सोही ठाउँमा बेवारिसे अवस्थामा बिस्फोटक पदार्थ खेलाउँदा गोठालो गएका दुई बालबालिका घाइते भएका थिए ।

घ्याम्पेसालस्थित दुल्लब मावि रहेको विद्यालय रहेको स्थानमा तत्कालिन द्वन्द्वको समयमा व्यारेक बनाएर नेपाली सेना बसेको थियो । त्यसैले नेपाली सेनाले नै छाडेका बमहरु अहिले भेटिएको हुनसक्ने शिक्षक भट्ट बताउँछन् । उनले भने, ‘द्वन्द्वको बेला यस ठाउँमा नेपाली सेनाको क्याम्प थियो, त्यही बेला ओछ्याइएका बिष्फोटक पदार्थहरु अझै हुन सक्ने अनुमान गरेका छौं ।’

बम भेटिएपछि डरै डरमा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । बेवारिसे अवस्थामा बिष्फोटक पदार्थ भेटिन थालेपछि विद्यालयको भौतिक संरचना निर्माणको काममा समेत बाधा पुगेको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयको सात रोपनी जग्गा छ । बिष्फोटक पदार्थ भेटिने डरले विकास निर्माणका कामहरु हुन सकेका छैनन् । सो क्षेत्रमा रहेको उक्त भवनमा बिहान स्नातक तह तर्फको शिक्षा र व्यवस्थ्ाापन संकायको पढाइ हुन्छ भने दिउँसोमा कक्षा ११ र १२ को कक्षा सञ्चालन हुन्छ ।

-बिकास मरहट्टाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?