+
+

‘ट्रम्पको आदेशपछि काकीले हनिमुन मनाउन पाउनुभएन, हजुरआमा रोइरहनुभएको छ’

२२ वर्षीया अल्बाबा जसले मुस्लिम हुनुको पीडा यसरी पोखिन्

ब्यारेट लिमोगेज ब्यारेट लिमोगेज
२०७३ माघ १८ गते १७:३८

अमेरिका । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमाथि प्रतिवन्ध लगाउँदै कार्यकारी आदेश जारी गरे, विभिन्न ७ राष्ट्रमा छरिएको डानिया अल्बाबाको परिवार नराम्रोसँग छिन्नभिन्न भएको छ ।

अल्बाबाका बाबुआमा दुई दशक अगाडि पढ्न र डाक्टरका रुपमा काम खोज्न अमेरिका भासिएका थिए । सन् २०११ मा सिरियामा युद्ध भड्किएपछि उनका हजुरबा-हजुरआमा पनि दमास्कसमा रहेको आफ्नो सिमेन्ट फ्याक्ट्री छोडेर हाउस्टनमा छोरा-बुहारीसँगै बस्न गए ।

२२ वषर्ीया अल्बाबा युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्चमा अध्ययनरत मेडिकल विद्यार्थी हुन् । उनी र उनका दाजुभाइ-दिदीबहिनीहरु अमेरिकामै जन्मेका र अमेरिकी नागरिकता लिएका आफ्नो परिवारको पहिलो पुस्ता हुन् । ट्रम्पको कार्यकारी आदेशपछि अल्बाबा गन्जागोलमा फ्याकिएको एउटा परिवारको केन्द्रमा रहेकी छिन् ।

उनकी काकी अमेरिकामा आफ्नो परिवारलाई भेट्न जाने क्रममा शुक्रबार दुबईमै रोकिइन् । ग्रीन कार्ड होल्डर उनका हजुरबा-हजुरआमाहरु अब समुद्रपार रहेका आफ्ना ११ जना सन्तानहरुलाई भेट्नबाट वञ्चित बनेका छन् ।

अल्बाबाका काकाका छोराले सिरियामा यातना पाएपछि अमेरिकामा शरण लिएका थिए । अमेरिकामा उनलाई भेट्न आउन लागेको परिवारलाई भिसा पाएकै दिन रोकियो । युद्धग्रस्त सिरियामा फर्किने अवस्था नरहेकाले अमेरिका नै अल्बाबाको परिवारको घर बनेको छ ।

अल्बाबाले एक हप्तायता आफ्नो परिवारमा आइपरेको विपत्ति र अमेरिकामा एक मुस्लिम हुनुको पीडा यसरी व्यक्त गरिन्:

बुधबार म आफ्ना बाबुआमाका घरमा थिएँ र सबैजना मेरी काकी सानाको अमेरिका भ्रमणको विषयमा कुरा गरिरहनुभएको थियो । उहाँको आगमनका लागि हामी आफ्नो घरको जिर्णोद्दार गर्दै थियौं र उहाँहरु सबै कुरा समयमै सम्पन्न होस् भन्ने चाहनुहुन्थ्यो ।

म माथि उक्लेर फेसबुक खोलेँ, जहाँ मैले ट्रम्पले सात मुस्लिम देशका नागरिकमाथि अमेरिका आउन प्रतिवन्ध लगाएको विषयमा धेरै पोष्टहरु देखेँ । म तुरुन्त तल झरेर आमालाई भनेँ कि अब हाम्रो परिवारको कोही पनि यो देशभित्र पस्न सक्दैन ।

मेरो कुरा सुनेर सबैजना स्तब्ध हुनुभयो र हजुरआमा रुन थाल्नुभयो । यो मेरी काकीको पहिलो अमेरिका भ्रमण थियो । भर्खरै विवाह गर्नुभएका काका-काकीको यो हनिमुन जस्तो पनि थियो ।

म त्यति धेरै अचम्भित थिइनँ, जति मेरो परिवार थियो । उहाँहरुलाई यहाँको प्रणालीमा विश्वास थियो र भन्नुहुन्थ्यो कि ट्रम्पले शरणार्थीलाई रोक्नै सक्दैनन् ।

मेरी काकी साउदी अरेबियाबाट आउँदै हुनुहुन्थ्यो । दुबईमा उहाँको ट्रान्जिट थियो । उहाँ एयरपोर्टमा आइपुग्नुभयो र अमेरिका उड्ने आफ्नो जहाजमा पस्नुभयो । उडान हुनुभन्दा पाँच मिनेट अगाडि एयरपोर्टका व्यक्तिहरु उहाँ भएको ठाउँमा आए र भने, ‘तपाई ओर्लिनुपर्‍यो, तपाईंलाई अब अमेरिका जान अनुमति छैन ।’

उनीहरुले उहाँका सबै लगेजहरु साउदी अरेबियामै फिर्ता पठाए र उहाँ पनि र्फकन बाध्य हुनुभयो । उहाँले सम्भावित कार्यकारी आदेशको चर्चा सुन्नुभएको थियो, तर यति छिट्टै यस्तो होला भन्ने आशा गर्नुभएको थिएन । अब उहाँ र उहाँका श्रीमानले पर्खिने र हेर्ने भन्दा अर्को विकल्प छैन ।

मेरा हजुरबा र हजुरआमा सिरियामा बस्नुहुन्थ्यो । त्यहाँ उहाँहरुको सिमेन्ट फ्याक्ट्री थियो । ११ जना छोराछोरी थिए । अहिले उहाँहरुका  छोराछोरी संसारका विभिन्न देशमा छरिएका छन् । साउदी अरेयिबा, कतार, लन्डन, यूएई, जोर्डन, सिरिया र अमेरिकामा उनीहरु बस्छन् ।

सिरियामा युद्ध सुरु भएपछि उहाँहरुले ग्रीनकार्ड पाउनुभयो र हाम्रा बाबुआमासँग बस्न अमेरिका आउनुभयो । उहाँहरुले वर्षको अधिकांश समय अमेरिकामै बिताउनुभयो । तर, वर्षमा एकाध महिना मेरा काका-काकीलाई भेट्न साउदी अरेबिया जानुहुन्थ्यो, जो अहिले जोर्डनमा बस्नुहुन्छ । अहिले उहाँहरु रणभुल्लमा हुनुहुन्छ ।

उहाँहरु सिरिया फिर्ता जान सक्नुहुन्न । जोर्डनमा पनि बस्न सक्नुहुन्न । चार वर्षदेखि अमेरिका नै उहाँहरुको घर थियो ।

मेरो परिवारका अरु पनि सदस्य हुनुहुन्छ, जो सिरियामा युद्ध सुरु भएपछि अमेरिका आउनुभयो । मेरी काकी एक अमेरिकी नागरिक हुनुहुन्छ, त्यसैले उहाँहरु आफ्ना दुई छोराछोरीसहित यहाँ आउन सक्नुभयो ।

अर्की मेरी आन्टीले पनि भर्खरै शरणार्थीको मान्यता पाउनुभयो र डिसेम्बरमा यहाँ आउनुभयो । उहाँ प्रतिवन्धभन्दा ठीक अगाडि आइपुग्नुभएको थियो । सिरियामा थुनिएका र यातना दिइएका मेरा ‘कजन’ले आफ्नो दाजुको हत्यापछि शरणार्थी भिसाका लागि आवेदन गर्नुभयो । मेरो कजनको परिवार अहिले पनि जोर्डनमा बस्छ र प्रतिवन्ध घोषणा गरिएकै दिन अमेरिकाको भिसा पाउनुभएको थियो ।

हिजो मेरी हजुरआमा दिनभर फोनमा रुँदै हुनुहुन्थ्यो । उहाँ आफ्नो परिवारसँग अलग्गिन चाहनुहुन्न । र, दुई-तीन वर्षसम्म यहाँ थुनिन  पनि चाहनुहुन्न । अब उहाँले नागरिकताका लागि आवेदन गर्न सक्नुहुन्छ । आफ्ना अरु सन्तानलाई भेट्नका निम्ति योभन्दा अर्को कुनै बाटो पनि छैन ।

स्रोत-अलजजिरा डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?