Comments Add Comment

‘ठूलो खर्क’को पहिचानः ‘अष्ट्रेलियन क्याम्प’ (फोटो फिचर)

२९ माघ, पोखरा । वरिपरि जंगलको वीचमा लहरै हरियो टीनले छाएको क्याम्पमा पुग्दा पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य देखिन्थ्यो । यसलाई भनिँदोरहेछ,-अष्ट्रेलियन क्याम्प ।

२० बर्षअघि यहाँ अष्ट्रेलियनहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’ भन्न थालिएको एन्जेल्स गेष्ट हाउसका सञ्चालक टुकबहादुर क्षेत्री बताउँछन् ।२० वर्ष पहिले चाँहि यो ठाउँलाई ‘ठूलो खर्क’ भनिन्थ्यो । समुद्री सतहबाट करीब २१ सय मिटर उचाइमा रहेको ठूलो खर्क अहिले ‘अष्टे्रलियन क्याम्प’मा परिणत भएको छ ।

पहिले-पहिले यो क्षेत्र अन्य स्थानभन्दा अलि समथर भएका कारणले पनि यो क्षेत्रलाई ठूलो खर्क भनिएको हो । अन्य खर्क भन्दा यो खर्क गाईबस्तु चरनका लागि निकै प्रख्यात थियो, तर अहिले गौरचन हैन, पर्यटकीय हिसाबले प्रख्यात छ ।

दशक अघिसम्म ठूलो खर्कमा बाह्य पर्यटकहरुको मात्रै आवत-जावत थियो । अहिले आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ ।

अन्नपूर्ण हिमश्रृंखला हेर्नका लागि उपयुक्त स्थल पनि हो अष्ट्रेलियन क्याम्प ।

पर्यटकीय नगर पोखरादेखि सवारी साधनमा एकघण्टा र पैदल डेढ घण्टाको यात्रापश्चात पुग्न सकिन्छ अष्ट्रेलियन क्याम्प । अन्नपूर्ण तथा मर्दी हिमालको आधारशिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ प्रख्यात भएको क्षेत्रीको भनाइ छ ।

यो क्षेत्रमा अहिलेसम्म चारवटा होटल खुलेका छन् । यहाँ एकैपटक २५० जनालाई बास बसाउन सकिने बताउँछन् गेष्ट हाउसका सञ्चालक क्षेत्री । उनका अनुसार पानीको केही समस्या छ । उनी भन्छन्- ‘अन्य समयमा त त्यति समस्या हुँदैन, तर पर्यटकीय मौसममा नियमितभन्दा अलि बढी नै पानी चाहिने भएकाले सञ्चय गरेको पानीबाट आफ्नो आवश्यक्ता पूरा गर्नुपर्ने हुन्छ ।’

पानीको समस्या समाधानका लागि व्यवसायीहरुले स्थानीय तहबाटै केही पहल गरे पनि नसकिएको क्षेत्री बताउँछन् । ‘विदेशी पर्यटकहरु आउँदा पहिले नै खबर तथा बुकिङ्ग गरेर आउने गरेकाले खासै समस्या हुँदैन,’ उनी भन्छन्- ‘तर नेपालीहरु साँझमा आएर एकैपटक बास माग्दाखेरि कहिलेकाँही समस्या पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment