Comments Add Comment

एक नगरपालिका र ३५ गाविसका भूकम्पपीडितका लगत लिइयो


२ फागुन, खोटाङ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको हो ।

भूकम्पपीडितको लगत सङ्कलनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएका ३४ जना इन्जिनियरमध्ये १८ इन्जिनियरले आफ्नो काम पूरा गरेको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख शिवनारायण महतोले बताउनुभयो ।

“अठार इन्जिनियरले आफ्नो काम पूरा गरेको क्लियरेन्स लिइसकेका छन् ।” उहाँले भने, “बाँकी दश प्रतिशत गाविसमा पनि लगत सङ्कलनका काम धमाधम भइरहेको छ ।”

जिल्लाका १३ हजार ७९९ पीडितमध्ये हालसम्म दश हजार ६०० बढी भूकम्पपीडितको लगत सङ्कलन र प्रमाणीकरणका काम सकिएको महतोले जानकारी दिए । भूकम्प गएको १९ महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षणका काम सुरु गरिएको हो ।

कतिपय भूकम्पपीडितको नाम दोहोरिएको, एउटै परिवारको क्षति दुई जनाको नाममा परेकोलगायतका कारण भूकम्पपीडितको नाम केही घट्ने अनुमान गरिएको छ । पीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सकिएलगत्तै अनुदान सम्झौताको काम तत्काल सुरु गरिने जनाइएको छ ।

सर्वेक्षणमा खटिएका इन्जिनियरले भूकम्पपीडित भनिएका घरमा पुगेर भूकम्पपीडितलाई एकदेखि पाँच वर्गमा वर्गीकरण गर्ने र तीनदेखि पाँच वर्गमा पर्ने लाभग्राहीलाई मात्र अनुदान उपलब्ध गराइने महतोले बताए ।

गाविस सचिवमार्फत अनुदान सम्झौता गरेर जिविसमार्फत कोलेनिकामा पठाइएपछि चेक तयार पारेर अनुदान सम्झौता, नागरिकता र फोटोसहित बैंक पुगेका पीडितले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्तामा  एक लाख ५० हजार र अन्तिममा  एक लाख गरी तीन लाख अनुदान पाउने छन् ।

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम १३ दिन ढिला गरी पुस २८ गतेदेखि सुरु गरिएको थियो ।

यसअघि नै बनिसकेका घर तथा राहत पाइसकेका पीडितलाई पनि मापदण्ड पुगे अनुदान प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment