Comments Add Comment

‘वामपन्थीकरण’ गरिएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

चुनाव नरोकिए मुठभेड हुने र महासंघ छाड्ने प्रेस युनियनको चेतावनी

३ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वले आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै कांग्रेससम्वद्ध पत्रकारहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण जिल्ला शाखाहरुको अधिवेशनसमेत प्रभावित भएको छ ।

कांग्रेस सम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले सदस्यता वितरणमा धाँधली भएको भन्दै सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीसँगै मंगलबारबाट शुरु भएका प्रदेश नम्बर ४ र ५ का केही जिल्ला शाखाहरुको अधिवेशन पनि अवरुद्ध भएको छ ।

पत्रकार महासंघले पहिलो चरणमा साबिक पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा अधिवेशन तोकेको थियो । अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधिहरुले लगेको सदस्यता लिष्टमा जिल्लाबाट पठाइएका बाहेक केन्द्रबाट राजनीतिक आस्थाका आधारमा सदस्य थपिएको आरोप युनियनले लगाएको छ ।

महासचिव मगरले भने- ‘सदस्यता प्रकरणमा महासंघको सिंगो नेतृत्वले सहमति गरेको हो, अध्यक्षको भनाइ नै मेरो भनाइ हो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जिल्लामा सहमति भएर आएका बाहेक पनि नेतृत्वले सदस्य थपेकाले ती जिल्लाको अधिवेशन स्थगन हुनुपर्ने बताए । उनले अनलाइनखबरसँग भने- ‘विवाद भएका जिल्लाको अधिवेशन रोकौं र फर्जी सदस्यमाथि छानविन गरौं भनेर हामीले तालाबन्दी गरेका हौं ।’

रुपन्देही, स्याङ्जा, तनहुँ, कपिलवस्तु, लमजुङ र गोरखामा केन्द्रबाट सदस्य थपेर पठाइएको प्रेस युनियनले आरोप लगाएको छ । त्यहाँको सदस्यता टुंगो नलागी जबर्जस्ती अधिवेशन गराइएमा मुठभेड हुन सक्ने चेतावनीसमेत सिग्देलले दिएका छन् ।

यता पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले भने निर्वाचन परिणामको पूर्वआँकलन गरेर अधिवेश स्थगन गरौं भन्नु वा तालाबन्दी गर्नु दुःखद कार्य भएको प्रतिक्रिया दिए । विष्टले अनलाइनखबरसँग भने-‘जुन जिल्लामा केन्द्रबाट सदस्य थपिएको भन्नुभएको छ, त्यहीँ बसेर टुंगो लगाउन सकिन्छ । तर, सबैतिर अवरोध गर्ने वा केन्द्रमा तालाबन्दी गर्ने कुराले महाधिवेशनको मितिमा असर गर्छ ।’

पत्रकार महासंघको महाधिवेशन र जिल्ला अधिवेशनहरु निर्धारित मितिमै हुनुपर्ने वाध्यता रहेकाले समस्या भएको ठाउँमा छलफल गर्न सकिने विष्टले बताए ।

तर, महासचिव उजिर मगरले सदस्यता विवरण अन्तिमसम्म लुकाएर राखेको र अधिवेशन हुने जिल्लामा आफूखुसी सदस्य थपेर पठाएको प्रेस युनियनले गुनासो गरेको छ ।

म्याग्दी जिल्लामा रहेका महासचिव मगरले भने आफू राजधानी बाहिर रहेकाले यसमा कुनै प्रतिक्रिया नरहेको बताए । महासचिव मगरले भने- ‘सदस्यता प्रकरणमा महासंघको सिंगो नेतृत्वले सहमति गरेको हो, अध्यक्षको भनाइ नै मेरो भनाइ हो ।

पत्रकारका नेतावीच आरोप-प्रत्यारोप

कांग्रेससम्वद्ध प्रेस युनियनले अन्य जिल्लाहरुमा पनि यस्तै गरी फर्जी सदस्यता थपिएको आशंका भएकाले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपरेको बताएको छ । तर, एमालेसम्वद्ध प्रेस चौतारी र माओवादीसम्वद्ध प्रेस सेन्टरले भने केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले सदस्यता विवाद उत्पन्न हुनु र त्यही प्रकरणले जिल्ला अधिवेशन नै स्थगित हुनुपर्ने अवस्था महासंघ नेतृत्वको कमजोरीका कारण उत्पन्न भएको बताए । उनले भने- ‘बेलैमा समस्या समाधानको पहल नगर्नु महासंघ नेतृत्वको कमजोरी हो ।’

युनियनका अध्यक्ष सिग्देलले भने- ‘यदि महासंघलाई वामपन्थीकरण गरेर लोकतन्त्रवादीलाई छिर्न नदिने हो भने हामी पत्रकार महासंघ नामको अखिल कार्यालयमा नरहन सक्छौं ।’

दाहालले अनलाइनखबरसँग भने- ‘केन्द्रीय सदस्यले नै विज्ञप्ति जारी गर्नुपर्ने अवस्था आउनु राम्रो होइन । निर्वाचन प्रक्रिया शुरु भएपछि स्थगित गर्नुपर्ने अवस्थाले महासंघ नेतृत्वको कमजोरी देखिएको छ । अब समस्या समाधानका लागि बसेर छलफल गर्नुको विकल्प छैन ।’

उता प्रेस चौतारीका महासचिव राजेश राईले भने पत्रकार महासंघलाई स्थापनाकालदेखि नै निश्चित राजनीतिक आस्था राख्नेहरुको सिण्डिकेटका रुपमा चलाएकाहरुले अहिले सदस्यतामा धाँधलीको आरोप लगाएको बताए ।

केही व्यक्तिहरुले महासंघमा त्यही युग फर्काउन खोजेको राईले प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने- ‘जहाँ विवाद छ, त्यहाँ महासंघ नेतृत्वले समाधान गर्नुपर्छ, तर तालाबन्दी गर्नु उचित भएन ।’

उता युनियनका अध्यक्ष बद्री सिग्देलले भने महासंघलाई ‘वामपन्थीकरण’ गर्ने हो भने आफूहरु पत्रकार महासंघबाटै बाहिरिने चेतावनी दिएका छन् । अहिले आफूहरुले अधिवेशन बहिस्कार नगरेको र स्थगनको मागमात्रै कुरा गरिरहेको सिग्देलले बताए ।

युनियनका अध्यक्ष सिग्देलले भने- ‘यदि महासंघलाई वामपन्थीकरण गरेर लोकतन्त्रवादीलाई छिर्न नदिने हो भने हामी पत्रकार महासंघ नामको अखिल कार्यालयमा नरहन सक्छौं ।’

उनले अगाडि भने- प्रेस युनियन भनेको पत्रकार महासंघभन्दा पहिल्यै आइएफजे र आइएलओको सदस्यता प्राप्त संगठन हो भन्ने बुझियोस् ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने ५६ वर्षसम्म पत्रकार महासंघ कब्जा गरेर बसेकाहरुमा केही समय नेतृत्व बाहिर हुनुपर्दाको छटपटी स्वभाविक रहेको प्रतिक्रिया दिए । महासंघ छाता संगठन भएकाले कुनै व्यक्ति वा समूहले छाड्छु भन्दैमा यसको साझा चरित्रमा प्रश्न नउठ्ने बस्नेतले बताए ।

बस्नेतले भने-कुनै जिल्लामा केन्द्रबाट व्यक्ति विशेषले आफूखुसी नाम थपेर पठाएको छ भने जिल्लामै बसेर टुंगो लगाउन सकिन्छ । तर पराजित मानसिकताले तालाबन्दी गर्नु उचित हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment