Comments Add Comment

यसबर्ष गोरखामा सुन्तला उत्पादन घट्यो

४ फागुन, गोरखा । सुन्तलाको पकेट क्षेत्र मानिने गोरखा जिल्लामा सुन्तला उत्पादन घटेको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष उत्पादनमा ह्रास आएको जिल्ला कृषि बिकास कार्यालय गोरखाले जनाएको छ ।

गत बर्ष ५ हजार ८२७.१४ मेटि्रक टन सुन्तला उत्पादन भएको गोरखामा यसबर्ष ४ हजार ४० मेटि्रक टन सुन्तला उत्पादन भएको कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिए । ‘अघिल्लो बर्ष सुन्तलाबाट २७ करोड आम्दानी भएको थियो,’ कार्यालयका प्रमुख श्रेष्ठले भने ‘यस बर्ष भने १९ करोड मात्र भयो ।’

यस बर्ष सुन्तलाको बिशेष क्षेत्र मानिने मनकामनामा मात्रै सुन्तलाबाट आठ करोड २९ लाख आम्दानी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य क्षेत्र ताङलीचोकका किसानले २ करोड ५० लाख, ताक्लुङमा १ करोड १० लाख र मकैसिङका किसानले १ करोड ३ लाख आम्दानी गरेको कार्यालयले जनाएको छ ।

त्यस्तै सुन्तला उत्पादनबाट दर्वुङमा ६२ लाख, बक्राङमा ५२ लाख, फुजेलमा २४ लाख, भूम्लिचोकमा १७ लाख, हर्मी छोप्राक र पालुङटार नगरपालिका क्षेत्रमा १५ लाख, घैरुङमा ३ लाख, नारेश्वर र फिनाम क्षेत्रका किसानले १ करोड आम्दानी गरेका छन् । ताप्ले, मसेल र वगुवामा ५० लाख, धुवाकोट, मिराकोट र देउराली क्षेत्रबाट १ करोड आम्दानी भएको कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

बोटहरु मर्ने, टुप्पा सुक्ने र सुन्तला बगैँचाको आवश्यक रेखदेखको अभावमा उत्पादन घटेको कार्यालयको अनुमान छ । गोरखाको मनकामना र ताङलीचोकमा सबै भन्दा बढि सुन्तला उत्पादन हुन्छ ।

त्यस्तै देउराली, धुवाकोट, ताप्ले, ताक्लुङ, दर्वुङ, मास्केछाप, मिरकोट, धुवाकोट, हर्मी, आपपिपल, हंसपुर, नारेश्वर लगायतका क्षेत्रलाइ सुन्तलाका पकेट क्षेत्र मानिन्छन् । गोरखाको करिव ७३५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । त्यस्तै करिव चार सय देखि पाँच सय किसानले सुन्तला खेतीबाट जीविकोपार्जन गर्दै आएको कार्यालयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment