Comments Add Comment

२७ थान एटीएम र पाँच लाख नगदसहित दुई पक्राउ

पक्राउ परेकाहरुको साथबाट बरामद भएका एटीएम कार्ड र नगद

५ फागुन, रौतहट । विभिन्न बैंकका २७ थान एटीएम कार्ड र पाँच लाख ७७ हजार नगदसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गौरको मुख्य बजार क्षेत्रबाट धरहरी गाविस ८ का सुनिल साह र वडा नम्वर ४ का पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।

दुबै जनालाई खानतलासी गर्दा उनीहरुको साथबाट २७ थान एटीएम कार्ड र ५ लाख ७७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सबैभन्दा धेरै १० वटा एटीएम कार्ड एनआईसी एसिया बैंकका छन् । यसैगरी हिमालयन बैंकका ७ वटा र माछापुच्छ्रे बैंकका ६ वटा एटीएम कार्ड बरामद भएका छन् । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, नबिल र एसीई डेभलपमेन्ट बैंकका एक-एकवटा एटीएम कार्ड साहद्वयको साथबाट बरामद भएका छन् ।

पक्राउ परेका साहद्वयलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक अशोक झाले बताए ।

सीमा क्षेत्रमा अवैधरुपमा भारतीय रुपैयाँको कारोबार गर्ने केही गिरोहले नेपाली बैंकमा जम्मा गरेको रकम भारतीय एटीएमबाट झिकेर भारतीय रुपैयाँको कारोबार गरिरहेका छन् । फरक-फरक बैंकका एटीएम प्रयोग गरेर भारतीय रुपैयाँ झिक्ने र चर्को दरमा सटही गर्ने कारोबारीको संख्या सीमा क्षेत्रमा बढेको छ ।

पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा नेपाली बैंकको एटीएम कार्ड बरामद हुँदा उनीहरु पनि भारतीय रुपैयाँको कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीको छ ।

प्रहरी अनुसन्धान पूरा भएपछि आवश्यक कारवाहीका लागि दुवै जनालाई राजस्व अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment