Comments Add Comment

‘गान्धीवादी’ हुँ भन्ने सिके राउतका नाममा कसले खोस्यो प्रहरीको बन्दूक ?

सिके राउत र रूपन्देहीको मर्चवारमा प्रहरीबाट लुटिएको प्रहरीको हतियार

८ फागुन, काठमाडौं । रुपन्देहीको मर्चवार क्षेत्र शनिबारदेखि तनावग्रस्त छ । प्रहरी कार्यालय घेराउ गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरु हुँदै आइतबारसम्म आइपुग्दा प्रहरीको बन्दूक समेत खोसिएको छ । र, यो सबै हर्कत विखण्डनका अभियन्ता सिके राउतका नाममा भइरहेको छ ।

मधेसलाई अलग देश बनाउने ‘राष्ट्रद्रोही’ अभियान चलाउँदै आएका सिके राउत यतिबेला थुनामा छन् । उनीमाथि राज्यद्रोह एवं राज्य विप्लवको मुद्दा चलिरहेको छ । तर, उनका नाममा ‘सिके राउतका कार्यकर्ता’ भन्दै मर्चवार क्षेत्रमा अशान्ति मच्चाउन थालिएको छ ।

सिके राउतले आफूलाई शान्तिवादी, एवं गान्धीवादी बताउने गरेका छन् । विगतमा उनले मधेस आन्दोलनमा लाठी चार्ज गर्ने प्रहरीलाई गुलाबको फूल बाँड्ने अभियानसमेत चलाएका थिए । तर, यतिबेला उनकै कार्यकर्ताका नाममा बन्दूक खोस्न थालिएपछि राउतको ‘गान्धीवादी’ मुखुण्डो उदांगो भएको छ ।

मधेसका सशस्त्र समूह ज्वाला सिंह र जयकृष्ण गोइतका सशस्त्र कार्यकर्ताहरु यतिबेला सिके राउतका कार्यकर्ताका रुपमा हिंसा मच्चाउने अभियानमा लागेको प्रहरी प्रशासनको बुझाइ छ ।

सिके राउत र उनका समर्थकहरुले एकातर्फ गान्धीवाद र शान्तिको कुरा गर्ने र अर्कोतिर मधेसमा हिंसा भड्काउने र परिस्थितिलाई काबुभन्दा बाहिर पार्न खोज्ने प्रयास गरिरहेको सरकार पक्षको विश्लेषण छ ।

त्यसो त विगतको मधेस आन्दोलनमा पनि जहाँ जहाँ सिके राउतका कार्यकर्ताको घुसपैठ थियो, त्यहाँ त्यहाँ झडप र हिंसाका घटनाहरु भएका थिए । प्रहरी प्रशासनको विश्लेषण अनुसार सिके राउतका कार्यकर्ताका नाममा सशत्र समूहको चलखेल बढेको छ ।

र, यही कारणले गान्धीवादको वकालत गर्ने सिके राउतका कार्यकर्ताले गरेको गतिविधिसँगै मर्चवारमा हतियार खोस्ने र प्रहरी चौकीमाथि आक्रमण गर्ने सम्मका गतिविधिहरु सुरु भएका हुन् ।

स्थानीयवासीहरुका अनुसार सिके राउतका कार्यकर्ताहरुले राउतको गिरफ्तारीको विरोधमा कार्यक्रम गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि शनिबारदेखि मर्चवार क्षेत्रमा तनाव सुरु भएको हो ।

यसक्रममा बडबलिया प्रहरी चौकीमाथि स्थानीयबाट आक्रमण र ढुंगामुढा समेत भयो भने आइतबार भएको झडपमा प्रहरीका साथमा रहेको एउटा एसएलआर बन्दूक र अश्रुग्यास हान्ने गनसमेत प्रदर्शनकारीले लगे । साँझसम्म एसएलआर राइफल खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दमन गरेको गुनासो

यसैवीच मर्चवारका स्थानीयवासीले आफूहरुमाथि प्रहरीले अत्यधीक बल प्रयोग गरेको गुनासो गरेका छन् ।

सिके राउतका कार्यकर्तालाई पक्राउ गर्ने बाहनामा शनिबार एक विद्यार्थीलाई पक्राउ गरिएको त्यसको विरोधमा आइतबार निस्किएको स्थानीय विद्यार्थीहरुको जुलुसमा प्रहरीले लाठी चार्ज गरेपछि झडप भएको स्थानीयवासी बताउँछन् । यस क्रममा प्रहरीले विद्यार्थीहरुमा गाउँभन्दा केही पर खेतमा पुगेपछि लाठी बर्साएको स्थानीयले बताएका छन् ।

तर, स्थानीयवासी र विद्यार्थीको भेषमा सिके राउतका कार्यकर्ताले घुसपैठ गरेको प्रहरीको दाबी छ ।

सिके राउतका नाममा हिंसात्मक घटना भइरहँदा यता काठमाडौंमा केही मानव अधिकारवादीहरुले व्यक्तिगत लेख र संस्थागत विज्ञप्तिमार्फत सिके राउतको बचाउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment