Comments Add Comment

आरक्षपीडित र प्रहरीबीच झडप, ९ राउण्ड हवाइ फायर

१२ फागुन, कञ्चनपुर । आफूहरुलाई राज्यले बेवास्ता गरेको भन्दै राजमार्ग बन्दमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुले पूर्व-पश्चिम राजमार्गको अत्तरिया-महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शन गर्दै राजमार्ग बन्द गरेपछि खुलाउन गएको प्रहरीसँग झडप भएको हो ।

आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै ९ राउण्ड हवाइफायर र १९ राउण्ड अश्रुग्यास प्रहार गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए ।

झडपमा नेपाल प्रहरीका ५ जना र ३ जना सर्बसाधारण घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट ११ जनालाई नियन्त्रणमा लिएको छ । अहिले राजमार्ग सुचारु भएको छ ।

समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित पाँच दलका प्रतिनिधि र कञ्चनपुरका प्रहरी उपरिक्षक प्रकाश चन्दलगायत सहभागी छन् । बैठकमा पीडितका तर्फबाट कोही पनि उस्थित छैनन् ।

२०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिए पनि उनीहरुले जमिन पाएका छैनन् । त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा छन् । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment