Comments Add Comment

प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने

१६ फागुन, काठमाडौं । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्यामा बृद्धि गरेर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार कार्यदल संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर, कति वटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको मन्त्री पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

आयोगले देशभर ७१९ स्थानीय तह सिफारिस गरेको छ, जसमध्ये प्रदेश नम्बर २ मा १०५ पर्छ ।

आयोगले सुरुमा अधिकतम ७४४ स्थानीय तहको सीमा बनाएर जिल्लागत रिपोट मागेको थियो । मन्त्रीस्तरीय कार्यदलले अहिले यही ७४४ सम्म जाने विकल्पमा छलफल गरिरहेको एक अधिकारीले जानकारी दिए ।

पहिलो प्रयास इलाकालाई आधार मान्ने

प्रदेश नम्बर २ मा इलाकाका आधारमा स्थानीय तह बनाउने विकल्पबारे गृहकार्य भइरहेको स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

यसका लागि ८ जिल्लाका स्थानीय विकास अधिकारीलाई बोलाएर छलफल गरिएको छ । इलाका आधारमा जाने हो प्रदेश नम्बर २ मा १२८ स्थानीय तह हुनेछ ।

भोलि अन्तिम प्रतिवेदन

स्थानीय विकास मन्त्री नेतृत्वको कार्यदलले भोलि सरकारलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाउँदैछ । त्यसका लागि आज सार्वजनिक विदाको दिन भएपनि दिनभर यसबारे छलफल गरिने सचिव अधिकारीले जानकारी दिएका छन् ।

आज दुई नम्बर प्रदेशका स्थानीय विकास अधिकारीहरु, विज्ञ र मन्त्रालयका अधिकारीहरुवीच विभिन्न चरणका छलफल गरिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment