+
+

थिएटर मलमा फेरि ‘मान भर्सेस मती’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते १६:०३

काठमाडौं । थिएटर मलले गत वर्ष दर्शकले निकै रुचाएको हास्यप्रधान नाटक ‘मान भर्सेस मती’ लाई फेरि मञ्चनमा ल्याएको छ ।

केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक सुन्धारास्थित काठमाडौं मलमा रहेको नाटकघरमा फागुन १३ गतेदेखि मञ्चन भइरहेको छ । नाटकमा श्रीमान् र श्रीमतीबीचको द्वन्द्वलाई देखाइएको छ । त्यही द्वन्द्वलाई प्रतीकात्मक रुपमा ‘मान भर्सेस मती’ नाम दिइएको नाटकमा मुख्य कलाकार आकाश मगर र प्रेमवर्षा खड्काको जीवन्त अभिनय रहेको छ । गत वर्ष भने श्रीमान्‌को भूमिकामा अभय बराल देखिएका थिए ।

कुनै पनि सम्बन्ध विश्वासको आधारमा टिकेको हुन्छ । जब अविश्वास र शंकाले घेर्छ, सम्बन्ध मक्किन कत्ति पनि बेर लाग्दैन । नाटक ‘मान भर्सेस मती’ ले विश्वासमा शंकाको बीउ पसेपछि उलटफेर हुने पारिवारिक सम्बन्ध केलाउने प्रयास गरेको छ ।

मध्यमवर्गीय सामान्य परिवारको सामान्य कथामा नाटक बुनिएको छ । नाटकमा मिडियाको प्रभाव सब रुपमा जोडिएर आएको छ  । दिनभर सिरियल हेरेर बस्ने श्रीमती श्रीमान्‌लाई पनि सिरियलमा केटी लिएर घुम्ने पुरुष पात्रसँग तुलना गर्दै शंकालु बन्छे । जब उनीहरुले आफूरुबीचको झगडा सानो असमझदारीका कारण भएको हो भन्ने थाहा पाउँछन्, तब समस्या सुल्झिन्छ ।

नाटकको अन्त्यमा एउटा सहमति जुटे पनि ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भने झैं त्यो पारिवारिक द्वन्द्वको सिलसिला भने चलिरहने संकेत गरिएको छ । बाह्य समाज र सम्बन्धलाई सुनेको भरमा एक-अर्कालाई शंका गर्ने प्रवृत्तिप्रति नाटकमा व्यङ्ग्य गरिएको छ ।

नाटकमा आकाश र प्रेमवर्षाका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ र रोशन सुवेदीले पनि अभिनय गरेका छन् । केदार श्रेष्ठको मञ्च परिकल्पना तथा घनश्याम श्रेष्ठको प्रकाश परिकल्पना गरेका छन् ।

बुधबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन भइरहेको नाटक आउँदो चैत ५ गतेसम्म चल्नेछ । शनिबार भने दिउँसो साढे १ बजेको पनि शो राखिएको छ ।

तस्बिर: प्रशुन सिन्धुलीय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?