Comments Add Comment

नेतालाई फकाउन एक हुल मोडल र नायिका पठाइदिऔं- जितु नेपाल

बाबुरामलाई सुझाव- टालेको पुरानै सिलाएर काम चलाऔं

१८ फागुन, काठमाडौं । हास्य कलाकार जितु नेपालले नेताहरुलाई सहमतिमा ल्याउन सकिँदैन भने एक हुल मोडेल र गायिकाहरुलाई बालुवाटार पठाइदिनुपर्छ भन्दै व्यंग्य गरेका छन् ।

नयाँशक्ति नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रियामा कलाकार नेपाललाई पनि निम्त्याइएको थियो । तर, उनले कार्यक्रममा नयाँशक्तिकै नेता बाबुराम भट्टराईलाई समेत व्यंग्य गर्दै निर्वाचनको वातावरण बनाउन आग्रह गरे । उनले धेरै च्यात्नुभन्दा पुरानैलाई सिलाएर लगाउन डा. भट्टराईलाई सुझाव दिए ।

‘अहिले कलाकारहरु पनि राजनीतिमा प्रवेश गरेका छन् । गायिका, नायिका सबै गा’का छन् । अझै जरुरी पर्छ भने केही मोडल-सोडल पनि ल्याउँ बरु,’ हास्य कलाकार जितुले भने- ‘नेताहरुले भनेको मान्दैनन् भने एक हुल मोडल र नायिकालाई ठ्याक्क चाँहि भन्न लगाऔं । आइस्योस न हजुर भन्दा आउँछन् कि ? गायिकाले गीत गाइदिँदा आउँछन् कि ? हामीले हँसाउँदा आउँछन् कि ? के गर्दाखेरि राम्रो हुन्छ, राम्रो गर्नुपर्छ ।’

कार्यक्रममा जितुले बोलेको उनकै शब्दमा

म त कलाकार भएको नाताले यस्तो समावेसी मान्छे छु कि फुटबल हेार्दाखेरि पनि दुबै टीमको जीत होस् जस्तो लाग्छ । कोही दुःखी भएकै देख्न चाहन्न । म हास्य कलाकार भएको नाताले सबै हाँसिदिउन् भन्ने लाग्छ । तर, आजभोलि नेताज्यूहरुलाई हँसाउन बडो गाह्रो छ । यति गम्भीर हुनुहुन्छ, यति गम्भीर हुनुहुन्छ कि नेताहरु गम्भीर भएको देख्दा हामी जनतै गम्भीर हुन लागिसक्यौं ।

नेताहरुलाई सबै कुरा थाहा छ । यति कुरा थाहा नहुने त नेतै हुँदैन । चुनाव गर्न कठिनाइ छ भन्ने पनि थाहा छ । थाहा भएको कुरा किन बुझ पचाइन्छ भन्नेमात्रै सबैभन्दा ठूलो कुरो हो । केहीसमय अगाडि प्रधानमन्त्रीज्यू चुनाव घोषणा हुन्छ, घोषणा हुन्छ भनिरहनुभएको थियो, अहिले चुनाव घोषणा भएको छ भन्ने कुरा आइराखेको छ । अब यो राष्ट्र समृद्ध हुन संविधान चाहिनेरहेछ, संविधान पूर्ण हुन निर्वाचन चाहिनेरहेछ । निर्वाचन गर्न कठिनाइ हुँदोरहेछ । यो हाम्रो देशको दुर्भाग्य । त्यसैले अब कसरी चुनाव गर्न सकिन्छ ?

डा. बाबुराम भट्टराईजस्तो व्यक्तित्व, जोसँग धेरै भिजन छ, प्रधानमन्त्री भइसक्नुभएको छ, अर्थमन्त्री भइसक्नुभएको छ । संविधान बनाउने प्रमुख जिम्मेवारी पनि सम्हालिइसक्नुभएको छ । र, अब उहाँले नै पहल गरेर यो बुझेको कुरालाई कार्यान्वयन गर्नुपर्छ जस्तो मलाई लाग्छ । र, अहिले मधेसवादी दलहरुमा देखिएको निर्वाचनसम्बन्धी र संविधानसम्बन्धी असन्तुष्टिलाई मध्यमार्गी समाधानको भूमिका डाक्टर साहेबले नै निभाउनुपर्छ । किनभने त्यो बालुवाटारको ढोका अरुका लागि त्यति खुल्दैन । बाहिर बसेका सेक्युरिटीले कसैलाई जान दिँदैनन् । अब डाक्टर साहेबले पहल गर्नुपर्‍यो ।

अहिले कलाकारहरु पनि राजनीतिमा प्रवेश गरेका छन् । गायिका, नायिका सबै गा’का छन् । अझै जरुरी पर्छ भने केही मोडल सोडल पनि ल्याउँ बरु । नेताहरुले भनेको मान्दैनन् भने एक हुल मोडल र नायिकालाई ठ्याक्क चाँहि भन्न लगाऔं । आइस्योस न हजुर भन्दा आउँछन् कि ? गायिकाले गीत गाइदिँदा आउँछन् कि ? हामीले हँसाउँदा आउँछन् कि ? के गर्दाखेरि राम्रो हुन्छ, यो राम्रो गर्नुपर्छ ।

संविधानले सबैलाई समेटेको छ, छैन अथवा संविधानमा केही कमी कमजोरी र अपूर्णताहरु छन् होला । तर, एउटा परीक्षा दिएको विद्यार्थी सय नम्बर नआए पनि पास त हुन्छ नि त । फूल मार्क नआए पनि यो संविधान पास भएको छ । त्यसैले यसलाई फेरि बिगार्ने, सिध्याउने र संकटमा गएर फेरि यस्तै अन्तरक्रिया गरेर देश बिगि्रयो भन्नुभन्दा यो भएको चिजलाई उपलब्धी गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।

अवश्य पनि मधेसमा केही समस्या छन् । मधेसवादी दलका पनि भनाइहरु सुन्नुपर्छ । तर, सुन्दै जाँदाखेरि संविधानै सिद्धियो भने फेरि के सुन्ने ? अघि हाम्रा एकजना नेताजीले भुइँचालो आउँछ भन्नुभयो, आएको पनि हो । त्यसकारणले नयाँशक्तिको पहलमा अहिले देखिएको निर्वाचन सम्बन्धी कठिनाइहरु र दलहरुमा देखिएका केही मतान्तर र मधेसवादी दलमा जुनखालको असन्तुष्टि छ, त्यसलाई डाक्टर साहेबको नयाँशक्तिले नै पहल गर्नुपर्छ र वातावरण सहज बनाउनुपर्छ जस्तो मलाई लाग्छ । सप्पैले बुझेको छ । सप्पैलाई थाहा छ देशको के स्थिति छ भनेर । त्यसकारणले यो कुराचाँहि उहाँले गर्नुपर्छ जस्तो लाग्छ ।

हामी कलाकार हो । हामी सामान्यतया क्यारिकेचर गर्छौं । व्यंग्य गर्छौं । हजुरहरुलाई नै कहिले काहीँ व्यंग्य गरिराखेका हुन्छौं । त्यसैले हाम्रो क्षेत्रबाट गर्नुपर्ने सहयोग छ भने हामी सदा तयार रहन्छौं । समृद्ध नेपाल बनाउनका निम्ति हजुरले नै पहल गर्नुपर्छ । अहिलेको असन्तुष्टिबारे एउटा न्युज यस्तो आओस् कि नयाँशक्तिका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा मधेसवादी दलहरु, असन्तुष्ट पक्षहरु र सरकारवीचको बैठक चैं एकदम सफलतापूर्वक सम्पन्न भो ।

बैठक सकेर ठ्याक्क बाहिर निस्कँदा -ऋषि धमलाले जसरी) ‘के हो त बताउनुस्’ भन्दा सप्पै राम्रो भो भन्दिने । यो न्युज चाँडो आओस् । यो भन्दा राम्रो सन्देश जनतामा केही पनिस जाँदैन । अहिले मध्यमार्गी भूमिकाको खाँचो छ । बिगार्न खोज्दा त धेरै छ । च्यात्न खोज्दा धेरै च्यातिन्छ । तर, त्यसलाई सिलाउनेतिर लाग्यो भने केही समयलाई अडिन्छ जस्तो लाग्छ । त्यसैले च्यात्नेतिर नलागौं, सिलाउनेतिर लागौं । टाले ओरेकै भए पनि पुरानै लगाउँदा काम चल्छ जस्तो मलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment