Comments Add Comment

अपडेटः सप्तरीमा एमालेलाई कतै स्वागत, कतै कालोझण्डा

केपी ओलीलाई चार गाडी सुरक्षा

२३ फागुन, सप्तरी । झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान तेस्रो दिन सोमबार अपरान्ह कोशी ब्यारेज कटेर सप्तरी जिल्लामा प्रवेश गरेको छ ।

राजमार्गको लौकहीमा आइपुग्दा एमाले नेताहरुलाई स्वागत गर्ने र कालोझण्डा देखाउनेहरु लगभग बराबरीजस्तै देखिएका थिए । प्रहरीले सुरक्षा दिइरहेका कारण त्यहाँ कुनै झडप भएन ।

भोक्राहामा पनि एमाले नेताहरुलाई स्वागत गर्नेहरुको जमघट देखियो ।

कोशीकटान भन्ने स्थानमा मुसलमान समुदायका स्थानीयवासीले एमालेको अभियानलाई स्वागत गरे । भण्टाबारीमा पनि एमाले नेताहरुलाई स्वागत गर्न स्थानीयहरु उपस्थित थिए ।

सुनसरी र सप्तरीको सीमानामा अवस्थित कोशी ब्यारेजमा पनि स्थानीयले एमाले नेताहरुलाई स्वागत गरे । तर, त्यहाँ केही युवाहरुले कालोझण्डा देखाए ।

यो समाचार लेख्दासम्म एमाले नेताहरुको टोली भारदह पुगेको छ । भारदहमा मोर्चाका कार्यकर्ताहरुले भेला भएर कालोझण्डा देखाए पनि एमाले नेताहरुको टोली सकुशल अगाडि बढेको छ ।

केपी ओलीलाई कडा सुरक्षा

एमाले अध्यक्ष केपी ओलीलाई सशस्त्र प्रहरीका चारवटा गाडीले सुरक्षा दिएका छन् । केपी ओली भन्दा पटाडि झलनाथ खनालको गाडी छ । खनालपछाडि क्रमशः माधवकुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु छन् ।

एमाले नेताहरुको सबैभन्दा अगाडि मैथिली भाषामा एमालेको अभियान र संविधानबारे माइकिङ गरिएको छ ।

सडक किनारामा सशस्त्र प्रहरी र जनपथ प्रहरी व्यापक मात्रामा खटाइएका छन् ।

सुनसरीका प्रहरी प्रमुखका अनुसार कोशी कटेर सप्तरीसम्म आइपुग्दा करिब ४ हजार एमाले नेता कार्यकर्ता सडकमा छन् । साना ठूला गरी गरी ३ सय गाडीहरु सडकमा छन् । सुनसरी र मोरङबाट पनि एमाले कार्यकर्ताहरु ठूला गाडीमा सप्तरी आएका छन् ।

उता सप्तरीको राजविराज लगायतका स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment