+
+

भैरहवामा एमालेको शक्ति प्रदर्शन (फोटो फिचरसहित)

'अब मधेसी दलका सटर बन्द हुनेछन्- ओली

मात्रिका पौडेल / सलमान खान मात्रिका पौडेल / सलमान खान
२०७३ फागुन २९ गते १८:०३

२९ फागुन, भैरहवा । मधेसी मोर्चाको बन्द र अवरोधको चेतावनीबीच एमालेले आइतबार रुपन्देहीको सदरमुकाम भैरहवामा शान्तिपूर्णरुपमा आमसभा सम्पन्न गरेको छ । सभामा बोल्दै एमाले अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश हेरफेर हुने गरी गर्न लागिएको संविधान संशोधन प्रस्ताव एमालेले स्वीकार नगर्ने अडान दोहोर्‍याएका छन् ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर विरुद्ध अगुवाइ गरेका कारण एमालेको आइतवारको प्रदर्शनमा यस क्षेत्रका अन्य जिल्लाबाट पनि कार्यकर्ता र समर्थक उत्साहपूर्वक सहभागी भए ।

आइतबार बिहान नवलपरासीको बर्दघाटबाट शुरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान भूमहीमा पुगेर सभामा परिणत भएको थियो । भूमहीको सभालाई झलनाथ खनाल, सत्यनारायण मण्डललगायतका नेताले सम्बोधन गरेका थिए ।

भूमहीबाट एमालेको अभियान सुनवल, देवदह, बुटवल हुँदै भैरहवा पुगेको थियो । एमालेको अभियानलाई राजमार्गका बिभिन्न स्थानमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका थिए । मधेसी मोर्चाका कार्यकर्ताले बासबसइ भन्ने स्थानमा कालोझण्डा देखाएर बिरोध गरेका थिए । त्यहाँ एकआपसमा गालीगलौचसमेत भएको थियो ।

मोर्चाले बन्द घोषणा गरे पनि भैरहवा र बुटवल आसपासका क्षेत्रबाट एमाले कार्यकर्ता र समर्थकहरु सवारी साधन रिजर्भ गरेर सभास्थल अञ्चलपुर पुगेका थिए ।

बुटवलबाट अघि बढेको एमालेको जुलुस भैरहवा पुग्दा सभास्थलमा मानिसहरु खचाखच थिए । ५ नम्बर प्रदेश हेरफेरका विरुद्ध उभिएका कारण एमालेको जनसभामा स्थानीय बासीको बाक्लो सहभागिता देखिएको पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दिपक ज्ञवालीले बताए ।

भैरहवाको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ नम्बर प्रदेश विभाजन गर्ने प्रयास कुनै .हालतमा स्वीकार्य नहुने बताए । सभाका सहभागीको मनोविज्ञान बुझेका ओलीले भनेंः यो संविधान संसोधन विधेयक बाहिरबाट रेबिज लागेर आएको छ, यसले पहिले ५ नम्बर प्रदेशलाई टोक्छ, त्यसपछि अरुलाई टोक्दै हिँड्ने हो । अहिले ५ नम्बरमा दाँत गाडेर कालान्तरमा पहाड र तराईलाई पूर्ण रुपमा अलग गरेर पहाडी र मधेसीबीच झगडा लगाउने उद्देश्यले यसले बोेकेको छ ।’

ओलीले ५ नम्बर प्रदेश बिभाजन विरुद्ध बुटवल र भैरहवामा उत्रिएका लाखौं जनतालाई सरकारले बेवास्ता गरेको र मधेसी मोर्चाका नाममा २/४ जना उफि्रँदा संविधान संशोधन गर्न अग्रसर हुनु बाहृय शक्तिको डिजाइन हो भन्ने आरोप लगाए ।

अध्यक्ष ओलीले एमालेलाई मधेसमा पस्न दिन्न भन्नेहरुका हिंसात्मक गतिविधिहरु सरकारले बन्द नगरे एमालेले जवाफ दिने बताए । उनले मोर्चाका केही नेताले हिंसात्मक अवरोध गरेर मधेसीलाई नै मार्न खोजेको आरोप लगाए ।
ओलीले भने, ‘एमालेले मधेसी जनतालाई वास्तविकता बताएर भ्रमबाट मुक्त गर्छ भनेर उनीहरु डराएका छन्, मधेसका जनताले मोर्चाको दलाली चरित्र बुझे भने उनीहरुका मधेसवादी दल नामका सटर बन्द हुनेछन् ।’

सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले मधेसी मोर्चाले मधेसी जनतालाई दशकौं पछि धकेल्न खोजेकाले एमालेले वास्तविकता बुझाउन मेची महाकाली अभियान चलाएको बताए । तीनपटक मुलुकको गृहमन्त्री भइसकेका गौतमले राजविराजमा एमाले नेतृत्वको सामुहिक हत्या गराउने योजनाको प्रमाण आफूसँग रहेको दाबी गरे ।

सभालाई एमालेका मधेसी नेताहरु रघुवीर महासेठ, भैरहवाकै सांंसद आदित्यनारायण कसौधन, तुलसी चौधरीलगायतले सम्वोधन गरेका थिए ।

तस्वीरः कमल प्रसार्इ/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?