+
+

केन्याविरुद्ध नेपाललाई जिताउने ४ हिरो

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७३ फागुन ३० गते १८:३७

३० फागुन, काठमाडौं । केन्याविरुद्धको दोस्रो म्याचमा नेपालले उत्कृष्ट क्रिकेट खेल्यो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै क्षेत्रमा नेपालको प्रदर्शन अब्बल थियो ।

अघिल्लो म्याचमा निराश बनाएका ब्याट्सम्यानहरुले दोस्रो म्याचमा निकै सुधारिएको प्रदर्शन गरे । नेपालका ब्याट्सम्यान विपक्षी बलरहरुमाथि पूर्णरुपमा हावी भएका थिए । नेपालको बलिङ धारिलो थियो भने फिल्डिङ पनि निकै चुस्त रह्यो ।

यो जितका लागि सबै खेलाडीहरु बधाईका पात्र छन् । तर यहाँ हामीले खेलाडीहरुको व्यक्तिगत प्रदर्शनका आधारमा आजको म्याचका चार नायकहरु छनोट गरेका छौं ।

लजालु दिपेन्द्रको विस्फोटक ब्याटिङ

यू-१९ बाट राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका दिपेन्द्र सिंह ऐरी आफ्नो दोस्रो म्याच खेलिरहेका थिए । तर, मैदानमा उनको प्रदर्शन परिपक्व ब्याट्सम्यान भन्दा कम थिएन ।

लगातार दुई विकेट गएको अवस्थामा उनी मैदान प्रवेश गरेका थिए । उनलाई चौंथो नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो जहाँ नेपालका नियमित कप्तान पारस खड्काले ब्याटिङ गर्ने गर्थे । र, आजको म्याचबाट दिपेन्द्रले आफूलाई प्रमाणित गरेका छन् ।
दिपेन्द्रले ब्याटिङ गरिरहँदा यस्तो लाग्दैनथ्यो कि उनी सिनियर टोलीबाट दोस्रो म्याच खेलिरहेका छन् । अर्को इन्डबाट खेलिरहेका कप्तान ज्ञानेन्द्र मल्लभन्दा प्राविधिकरुपमा उनी कमजोर देखिएनन् ।

उनको स्ट्राइक रेट पनि उच्च रह्यो । आफ्नो ६२ रनको इनिङमा उनले ८ चौका र एक छक्का प्रहार गरे । उनका प्रत्येक बाउन्ड्रीहरु हेर्नलायक थिए । विकेटको दुवैतर्फ उनले रन बटुले ।
केन्याविरुद्धको पहिलो म्याचमा दिपेन्द्रले फरक शैलीमा ब्याटिङ गरेका थिए । नेपालको इनिङ लड्खडाएका बेला उनी निकै सम्हालिएर खेल्ने प्रयास गरेका थिए ।

यसबाट उनी सिचुयसनअनुसार आफूलाई ढाल्न सक्छन् भन्ने प्रमाणित हुन्छ । दिपेन्द्रको ब्याटिङले नेपालको मध्यक्रममा एक उत्कृष्ट ब्याट्सम्यानको आगमन भएको आभास मिलेको छ ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान ज्ञानेन्द्र मल्लले पनि उनको तारिफ गरेका छन् । टमाटाको शब्दमा भन्दा नेपालले मिडिल अर्डरमा एउटा नयाँ खम्बा भेटाएको छ ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दा दिपेन्द्र फेरि लजालु स्वभावमा देखिए । र, भने-अगाडि कप्तान थियो । उहाँले सल्लाह दिइरहनु भएको थियो । अर्धशतक बनाएकोमा खुसी लाग्यो ।’

ज्ञानेन्द्र मल्लको कप्तानी इनिङ


नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको काँधमा ठूलो जिम्मेवारी थियो । केन्याविरुद्धको दोस्रो म्याचमा उनी आफ्नो भूमिकामा खरो उत्रिए ।

कप्तान र ओपनिङ ब्याट्सम्यान दुवै भूमिकामा ज्ञानेन्द्रले न्याय गरे । मेहबुबलाई सुरुवाति ओभरमा बलिङ गराउने र शरद भेषावकरलाई पार्टटाइम बलरका रुपमा प्रयोग गर्ने उनको निर्णय तारिफयोग्य छ । पार्टटाइम बलर शरदलाई उनले सात ओभर बलिङ गर्न दि, जुन मास्टरस्ट्रोक सावित भयो । अन्य बलरहरुलाई पनि उनले राम्ररी रोटेट गरे ।

ब्याटिङमा पनि ज्ञानेन्द्रको ६४ रनको इनिङ त्रुटीरहित थियो । उनले कुनै पनि सट हड्वडाएर खेलेनन् । अर्को इन्डबाट दिपेन्द्र ऐरीले आक्रामक सट हानिरहँदा उनी संयमित भएर खेलिरहेका थिए ।

तर, लुज बलहरुलाई सजाय दिन पछि परेनन् । ज्ञानेन्द्रले आफ्नो इनिङमा ८ चौका र एक छक्का प्रहार गरे ।
नेपालले पुरानै मेहेबुब आलम पायो


केन्याविरुद्धको दोस्रो म्याचमा भेट्रान अलराउण्डर महबुब आलमले सनसनीपूर्ण बलिङ गरे । प्रारम्भिक बलरका रुपमा आएका उनले पहिलो ओभरमा दुई रन दिएका थिए भने त्यसपछि लगातार ५ मेडन ओभर फाले । यस क्रममा दुई महत्वपूर्ण विकेट झारेर केन्यालाई दबावमा राखे । लगातार सात ओभर बलिङ गरेका मेहेबुबले केवल ११ रन खर्चेका थिए ।

आजको प्रदर्शनले मेहेबुबको पुराना दिनहरुलाई सम्झाएको छ । कुनै समय नेपालका एक नम्बर बलर थिए उनी ।

एकदिवसीय क्रिकेटको इतिहासमा विपक्षी टोलीको १० वटै विकेट लिने उनी विश्वकै एक मात्र बलर हुन् । सन् २००८ मा मोजाम्बिकविरुद्ध उनले यो अद्भुत सफलता प्राप्त गरेका थिए ।
तर पछिल्लो समय र्फम खस्केपछि उनी झण्डै २ वर्ष नेपाली राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए ।

पछिल्लो समय उनले आफूलाई सुधार गर्दै टिममा स्थान बनाएका थिए । र, सोमबारको प्रदर्शनले आफूलाई टिममा राख्ने र खेलाउने कप्तान र कोचको निर्णयलाई सही सावित गरिदिए । प्रशिक्षक टमाटा भन्छन्, हामीले पुरानै महबुब पाएका छौं ।’

पहिलो म्याचमा उनले बलिङ गरेका थिएनन् । ब्याटिङमा भने उनको प्रदर्शन उलेख्य रहेन । तर, दोस्रो म्याचमा उनलाई सोमपाल कामीको जोडीको रुपमा बलिङ गर्न लगाइयो र उनले सोमपाललाई ओझेलमा पारे ।

बलिङमा चम्किए, अनि छक्का हान्दै जिताए


अनुभवी क्रिकेटर शरद भेषावकरबाट नेपालले ब्याटिङमा धेरै आशा गरेको थियो । तर, अनपेक्षितरुपमा उनी बलिङमा चम्किए ।

केन्याका करिम र ओबुयाले तेस्रो विकेटका लागि बनाएको साझेदारी नेपालका लागि खतरा बन्दै गएको अवस्थामा कप्तान ज्ञानेन्द्रले पार्टटाइम स्पिनर भेषावकरलाई बलिङमा उतारेका थिए, जुन आफैंमा एउटा जोखिम थियो । तर, कप्तानको निर्णयलाई सही सावित गर्दै भेषावकरले चार महत्वपूर्ण विकेट लिएर केन्याको इनिङ धराशायी पारे ।

शरदको बलिङ निकै किफायती पनि रह्यो । उनले ७ं.१ ओभर बलिङ गर्दा २८ रन मात्र खर्च गरेका थिए ।

उनी बलिङमा मात्र चम्किएनन्, आफनो फिनिसरको पहिचान पनि जोगाउन सफल भए । सोमबारको म्याचमा उनले आक्रामक सटहरु खेल्दै नेपाललाई जित दिलाएका थिए । भेषावकरले केवल ११ बलमा ४ चौका र एक छक्कासहित २४ रन बनाए । उनले अन्तिम दुई बलमा चौका र छक्का हान्दै नेपाललाई जित दिलाएका थिए ।

यो पनि पढ्नुस्

केन्यामाथि नेपालको शानदार जित, शरदले छक्का हान्दै गरे ‘फिनिस’

लेखकको बारेमा
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?