Comments Add Comment

शुक्लाफाँटाः बाह्रसिंगादेखि थारु नाचसम्म (१५ तस्वीर)

निकुञ्जमा शुरु भयो महोत्सव

५ चैत, कञ्चनपुर । हरियो चौरी छपक्कै ढाकिएको छ । दूबोको मुना चपाउन बडो ध्यानमग्न छन् चौपाया । एउटा होइन, दुइटा होइन, सयौंको संख्यामा । स्वागत छ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा, जहाँ बाह्रसिंगाको बथानले तपाईंलाई लोभ्याउँछ ।

मैदानमा कहिले घाँसमा चरिरहेका त कहिले उफ्रिरहेका उनीहरु मान्छेको चहलपहल देख्दा कान ठाडठाडो पार्छन् र बुर्कुशी
मार्छन् । शुक्लाफाँटाको चिनारी नै बाह्रसिंगा हो ।

संसारकै सबैभन्दा धेरै बाह्रसिंगाको झुन्ड रहेको बताइने यहाँ २३ भन्दा बढी बाह्रसिंगा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । यसका साथै निकुञ्ज क्षेत्रमा अरु जनावर, सरिसृप र चराचुरुंगीको पनि बसोबास छ । ०२६ सालदेखि शिकार आरक्षको रुपमा रहेको  शुक्लाफाँटाको परिचय पछिल्लो समय बदलिएको छ ।

सरकारले गत फागुन ९ गते यसलाई राष्ट्रिय निकुञ्जमा परिणत गरेको छ । निकुञ्जको प्रचार गरेर पर्यटक भित्र्याउन शुक्लाफाँटामा चैत ४ गतेदेखि पर्यटन महोत्सव आयोजना गरिएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले निकुञ्ज मुख्यालय मझगाउँमा महोत्सव गरेको हो ।
यस क्रममा तीन सयभन्दा बढीले शुक्लाफाँटा अवलोकन गर्ने अपेक्षा रहेको आयोजक संस्थाका अध्यक्ष मायाप्रकाश भट्टले बताए । महोत्सवमा राना थारु, चौधरी लगायतको लोक नृत्यका साथै राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति पनि चाख्न पाइनेछ ।

पर्यटकलाई लक्षित गरेर शुक्लाफाँटा क्षेत्रमै जंगल कटेजका साथै स्थानीय राना थारु समुदायको होम स्टे पनि सञ्चालनमा छ । पर्यटकीय सुविधाको बास खोज्नेका लागि फाँटाबाट ७ किलोमिटर दूरीको महेन्द्रनगरमा डेढ दर्जन होटल छन् ।

पर्यटक भित्र्याउन प्रचार प्रसार आवश्यक छः

परमानन्द भण्डारी, सञ्चालक, शुक्लाफाँटा जंगल कटेज

सुदूरपश्चिमको लोभलाग्दो प्राकृतिक गहना हो, शुक्लाफाँटा । वाइल्डलाइफ प्रेमीका लागि स्वर्गै बराबर यो क्षेत्र पारिवारिक भ्रमणको लागि समेत उपयुक्त छ । खासगरी जनावर र चराचुरुंगी अवलोकन गरेर यहाँ मनलाई शान्त बनाउन सकिन्छ । यहाँ आउने पाहुनाहरुलाई हामी बिहान र साँझ जीप तथा हात्ती सफारी गराउँछौं ।

शुक्लाफाँटाको अझै आवश्यक प्रचार हुन सकेको छैन । राम्रो प्रचार गरेर पर्यटक भित्र्याउन सके यो क्षेत्रको आर्थिक विकास अझ बढ्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment