+
+

एमाले नेताको संश्लेषणः मेची महाकाली अभियानका ५ फाइदा

यस्तो छ सूर्यथापा र विष्णु रिजालको निश्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ५ गते ११:४४

५ चैत, सुर्खेत । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान औपचारिक रुपमा समापन भएको छ । शनिवार सुर्खेतमा सन्देशसभा गरेर एमालेका शीर्ष नेताहरु राजधानी फर्किंदै गर्दा एमाले पंक्तिमा एक प्रकारको सञ्चार भएको छ । त्यो के भने- हाम्रो शीर्ष नेतृत्व एकतावद्ध छ ।

एमालेको मेची महाकाली अभियानका क्रममा काँकडभिट्टादेखि महेन्द्रनगरसम्म पुग्दा के उपलव्धी हासिल भयो ? हामीले यो प्रश्न पत्रकारिता पृष्ठभूमिका एमालेका प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापालाई सोध्यौं । थापाको जवाफ थियो-

अभियानमा प्रत्यक्ष रुपमा २५ लाख जनता जोडिए । देशभरका कार्यकर्ता परिचालन भए । जनतामा चुनाव हुन्छ भन्ने आशा जगायो । कुनै एउटा पार्टी निस्कियो, जसले जनतालाई चुनावी माहौल दियो । एमाले कार्यकर्ता पंक्तिमा ठूलो उत्साह ल्यायो । मधेसी र थारु बस्तीमा एमाले बिरोधी भ्रम चिर्न एक हदसम्म यो अभियान सफल भयो । २ नम्बर प्रदेशमा मधेसी मोर्चाको हिंसात्मक गतिबिधिका कारण हामीले अनाहकमा निर्दोषको ज्यान जाने अवस्था नआओस् भनेर संयम अपनायौं, त्यहाँ फेरि अभियानका साथ जानेछौं ।

यो अभियानमा कार्यकर्ता र समर्थकमात्रै सहभागी भएको देखियो होइन ?

एमालेका संगठित सदस्यको कुरा गर्ने हो भने देशभर ती साढे तीन लाखको संख्यामा कार्यकर्ता छन् । तर, यो अभियानमा लाखौं जनसमुदाय समाहित भएका छन् । यो अभियान कार्यकर्ता केन्दि्रत भन्दा पनि जनता केन्दि्रत हो । यसबीचमा ठूला साना गरेर २७ वटा आमसभा भएका छन् । सभामा कम्तिमा ५ हजारदेखि बढीमा ५०/६० हजारसम्मको सहभागिता रहेको त सुरक्षा निकायले नै रिपोर्ट गरेका छन् । ती सबै एमाले कार्यकर्ता त होइनन होला ।

तर, तपाईहरु मधेसी जनघनत्वका ठाउँमा पुग्न त सक्नु भएन नि ?

यो अभियान मूलतः महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र दशगजासम्मका जनताबीच पुग्ने गरी तय भएको हो । तर, हाम्रो अभियानले मधेसी जनतामा एमालेप्रति फैलाइएको भ्रम हटाउँछ भन्ने डरले मधेसी मोर्चा अपराधिक ढंगले प्रस्तुत भयो । एमालेको अभियान रोक्ने क्रममा प्रहरीसँग भिड्न साना बालवालिकाहरु प्रयोग भए । उनीहरुले २ नम्बर प्रदेशमा एमालेलाई छिर्नै नदिने भनेका थिए । हामीले राजविराजमा सानदार सभा गरेर देखायौं । तर, त्यसपछि उनीहरुले पेट्रोल बम प्रहार गर्दै एमाले नेतृत्वको सामुहिक हत्याको प्रयास गर्दा प्रहरीले बल प्रयोग गर्दा जुन घटना भयो, त्यसबाट हामी चिन्तित भयौं ।

सूर्य थापा

हामी त्यहाँबाट पनि अघि बढ्न सक्थ्यौं, तर मोर्चा जस्तो गैरजिम्मेवार एमाले बन्न मिलेन । अरु क्षति हुन नदिन हामीले केही दिन स्थगन गर्नु परेको हो । तर, हामीले राजविराज, भैरहवा, कपिलबस्तु, भूमही, नेपालगञ्ज जस्ता मधेसी घनत्वका शहरमा ठूला सभा गरेर आफ्ना दृष्टिकोण राखेका छौं । मधेसी र मुस्लिम समुदायको ठूलो सहभागिता रहेको छ ती ठाउँमा । लमही, गुलरिया, राजापुर, टीकापुर जस्ता ठाउँमा थारु समुदायले एमालेलाई अपार समर्थन जनाए । यो ठूलो उपलव्धी हो ।

यो अभियानबाट एमालेलाई के प्राप्त भयो त ?

यो अभियानले असाध्यै ठूलो जागरण पैदा गरेको छ । तराई, पहाड, हिमालसम्म एमालेको पंक्ति परिचालन गरेको छ । जनतामा कुनै पार्टी त गयो चुनावका लागि ? एमालेले चुनावका लागि जनतालाई मानसिक रुपमा तयार पारेको छ । यो तहको परिचालन र अभियान कुनै पनि पार्टीले गर्न सक्दैन । अर्को कुरा, पार्टीभित्रको आन्तरिक एकता मजबुत ढंगले प्रदर्शन भएको छ । नेताहरु मिलेको देखेर कार्यकर्तामा उत्साह छ ।

अर्को कुरा चाहिँ तपाईलाई भनौैैं, हाम्रो पार्टी अध्यक्ष केपी ओलीको क्रेज तराई मधेसमा कति रहेछ भन्ने प्रत्यक्ष देख्न पाइयो । जसरी एमालेलाई र मुख्यतः हाम्रो नेतृत्वलाई मधेस विरोधी, थारु बिरोधी भनेर जबर्जस्ती प्रचार गरिएको छ, त्यो होइन रहेछ । केपी ओलीलाई हेर्नका लागि, सुन्नका लागि र सेल्फी खिच्न चाहनेहरुको भिड देखेर हामी चकित भयौं ।

जितपुर, बर्दिया र टीकापुरका सभामा केपी ओलीलाई नदेख्दा जनतामा एक प्रकारको असन्तुष्टि देखियो । कतिपयले त केपी ओली आउने भनेर किन ढाँटेको भन्दै स्थानीय साथीहरुसँग आक्रोस पोख्दा हाम्रा नेताहरुले माफी समेत माग्नुपर्‍यो । सडकमा लाइन लागेका बृद्धबृद्धा युवा युवतीले केपी ओली जिन्दावादका नारा लगाएको तपाईहरुले सुन्नु नै भयो । ओलीको एक झल्को हेर्न चाहनेहरु कति थिए ।

कञ्चनपुर पुगेर शहीद गोविन्द गौतमका परिवारलाई ५ लाख दिने घोषणा गर्नुभयो तर नेताहरु घरमा जाने भनेर ढाँटेको कुरा आयो नि ?
मातृभूमिको रक्षाका लागि लड्दा वीरगति प्राप्त गरेका शहीद गोविन्द गौतमको परिवारलाई पार्टीको तर्फबाट ५ लाख रुपैयाँ राहत र छोरीलाई ल्यापटप दिइएको छ । पार्टी नेतृत्व त्यहाँ जाने भए रकम सभामा जिल्ला अध्यक्ष मार्फत हस्तान्तरण हुने थिएन । सुरक्षा लगायतका कारणले र केन्द्रमा वार्ताको कुरा पनि आएकाले नेताहरु त्यहाँ जाने वातावरण बनेन । तर, पार्टीका तर्फबाट हामी केन्द्रीय कमिटी सदस्यहरु राजन भट्टराई, मलगायत घरमै पुगेर शहीद परिवारलाई भेटेका छौं । अरु कुन पार्टी गएका छन् यसरी त्यहाँ ? हाम्रो पार्टीले त शहीद परिवारसँग दुःख बाँडेको छ, यहीँ आएर ।

विष्णु रिजालका पाँच निश्कर्ष

एमालेको मेची महाकाली अभियानको शुरुदेखि अन्तिमसम्म प्रचार टोली र पत्रकारहरुको सहजीकरणका लागि खटिएका एमाले प्रचार विभाग सचिव बिष्णु रिजाललाई पनि हामीले सोध्यौं- यो अभियानबाट के निष्कर्ष निकाल्नुभयो ?

बिष्णु रिजाल

रिजालले एमालेको मेची महाकाली अभियानलाई यसरी ५ बुँदामा संश्लेषण गरे-

१ः मूलतः यो चुनावको तयारी हो । एक वर्षभित्र तीनै तहका चुनाव हुने संवैधानिक व्यवस्था भएकाले एमालेले आफ्नो पंक्ति र जनतालाई चुनावको लागि तयार पारेकोनै हो । यसक्रममा आफ्नो पंक्तिलाई चलायमान बनाएको छ । चुनावका लागि पार्टी पंक्ति तयार भएको सन्देश यसले दिएको छ ।

२ः पार्टी आन्तरिक रुपमा एकतावद्ध छ भन्ने सन्देश नेताहरुले एउटै मन्चमा दुई सातासम्म बसेर कार्यकर्तालाई मानसिक रुपमा उत्साह भरेका छन् । एकाध ठाउँमा अध्यक्ष केपी ओली सहभागी नभए पनि झलनाथ खनाल,माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल जस्ता प्रमुख नेताहरु कहीँ पनि छुटेनन् ।

शीर्ष नेता राजनीतिक मुद्दामा मात्र होइन, व्यवहारिक रुपमा पनि एकढिक्का छन् भन्ने सन्देशले एमालेको पार्टी पंक्ति उत्साहित भएको छ । यो ठूलो पुँजी हो, पार्टीका लागि । नबोले पनि बुझिने कुरा हो कि,कार्यकर्ताले नेतृत्व पंक्ति मिलेको हेर्न चाहान्छन् । अभियानका क्रममा गायक बद्री पंगेनीले ‘मिल- केपी झलनाथ मिल, माधव दाइ, एकताको खाँचो छ आज पार्टीलाई’ भनेर गीत गाउँमा कार्यकर्ता र जनताले ताली बजाए ।

३ः राष्ट्रिय राजनीतिका एजेण्डाबारे कार्यकर्ता र जनतालाई बुझाउने प्रयासमा एमाले एक हदसम्म सफल भएको छ । कुनै पनि नेताले नछुटाएर उल्लेख गरेको विषय भनेको संविधान संसोधन किन आवश्यक छैन र एमालेको धारणा के हो । संविधान संश्ाोधनका मुद्दामा पार्टी रक्षात्मक स्थितिमा नहोस् भन्नेमा एमाले नेतृत्व सचेत देखियो । तल्लो तहका कार्यकर्तादेखि शीर्ष नेतासम्मको एउटै धारणा राष्टिय राजनीतिक मुद्दामा कायम भएको छ । सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वको सवालमा संविधान संशोधन विधेयक किन ठीक छैन भन्ने बुझाउने प्रयास भएको छ ।

४ः एमाले पार्टीलाई मधेस बिरोधी भन्ने प्रचार थियो, त्यसलाई तोड्नका लागि आफूले मधेसको पक्षमा गरेका कामहरुको तथ्य तथ्यांकसहित प्रष्ट पार्ने कुरा भएको छ ।

माधव नेपाल प्रधानमन्त्री भएको बेला निजगढ विमानस्थल, फास्ट ट्रयाक शुरुवात भएको देखिका कामहरुका बारेमा जानकारी दिइएको छ । ओली सरकारका पालामा मधेसको भौतिक र सामाजिक विकासका लागि इतिहासकै सबैभन्दा धेरै बजेट र कार्यक्रम पारिएका कुरा तथ्य र तथ्यांकसहित प्रस्तुत भएका छन् । एक हदसम्म मधेसमा यसले भ्रम चिर्न सफल भएको छ ।

५ः एमालेले सामाजिक सुरक्षा भत्तादेखि गाउँको विकासका लागि गरेका प्रयासहरुका बारेमा जनतालाई बुझाउने काम भएको छ । लाखौं मान्छेबीच पार्टीको नीति प्रष्ट रुपमा प्रवाह भएको छ । यसक्रममा मधेसका घर-घरमा पर्चा मार्फत पनि एमाले पुगेको छ । जहाँ जहाँ पुगेको छैन, त्यहाँ फेरि आउँदैछौं भन्ने सन्देश दिएको छ । मलाई लाग्छ, २० देखि २५ लाख मान्छे यो अभियानमा जोडिएका छन् । यो भनेको सानो उपलव्धी होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?