+
+

नवलपरासीका चोकचौतारीमा चुनावकै चर्चा

रासस  रासस 
२०७३ चैत ६ गते ८:१५

६ चैत, नवलपरासी । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ ।

हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताए ।

नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।

कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण र निर्वाचनमा खटिने कर्मचारीको विवरणसमेत सङ्कलन भइरहेको छ ।

जिल्लामा विभिन्न तहका शिक्षकहरु एक हजार ५०५ जना छन् भने संस्थानतर्फ १६१ र निजामतीतर्फ एक हजार ११४ जना कर्मचारी रहेका छन् । ती सबै कर्मचारी निर्वाचनमा खटिने छन् ।

मतदाता नामावली समावेश भएको सङ्ख्यामध्ये तेस्रोलिङ्गी समुदायको सङ्ख्या पनि आठजनाको रहेको छ । यसैगरी पुरुष मतदाताको सङ्ख्या एक लाख ८२ हजार ३६५ र महिला मतदाताको सङ्ख्या एक लाख ९१ हजार ५०५ रहेको छ ।

कार्यालयले फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाई जिल्लामा मतदान केन्द्रसमेत तोकिसकेको जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकामा गरी २३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब ५०० मतदान केन्द्र रहनेछन् ।

स्थानीय तहको निर्वाचन हुने सम्भावना बढ्दै गएपछि जिल्लाका चोक चौराहामा विभिन्न दलका नेता कार्यकर्ताबीच निर्वाचनबारेको छलफल सुरु भएको छ ।

निर्वाचनको पूर्वतयारीका लागि आवश्यक कार्य अघि बढाइएको र यसको व्यवस्थापनमा कार्यालय लागिपरेको र निर्वाचनका लागि नवलपरासीमा ३३ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?