Comments Add Comment

एसएसबीको कुटाइबाट घाइते भएका टीकारामको उपचारमा समस्या

टीकारामकी श्रीमती भन्छिन्ः देश जोगाउँन लड्नेलाई राज्यले बेवास्ता गर्‍यो

७ चैत, कैलाली । गत फागुन २६ गते कञ्चनपुरको त्रिवेणी बजारमा भारतीय प्रहरीको कुटाइबाट घाइते भएका टीकाराम चापागाईको उपचारमा समस्या भएको छ । सरकारी बेवास्ताका कारण उपचारमा समस्या भएको चापागाईंको परिवारले बताएको छ ।

सीमा बिबाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको लाठीबाट गम्भीर घाइते भएका चापापाईंलाई तत्काल उपचारका लागि धनगढी लगिएको थियो । धनगढीमा उपचार हुन नसक्ने बताइएपछि नेपालगञ्जको निजी अस्पताल वेष्टर्न मेडिकलमा उनको उपचार गराईएको थियो ।

भारतीय प्रहरीको लाठीबाट बेलौरी नगरपालिका शान्तिपुरका स्थायी बासिन्दा टीकारामको टाउकोमा गम्भीर चोट लागेको छ । तर, अस्पतालले उपचारै नसकी डिस्चार्ज गरिदिएको परिवारको आरोप छ । आर्थिक अभावका कारण उपचारमा झन् समस्या भएको टिकारामकी श्रीमती सविना चापागाईंले बताइन् ।

टीकारामको उपचारका लागि सरकारबाट कुनै आर्थिक सहयोग नभएको भन्दै सविनाले गुनासो पोखिन् । ‘उपचारमा डेढ लाख रुपैयाँ खर्च भइसक्यो, सरकारबाट कुनै सहयोग पाएको छैन ।’ सविनाले भनिन्, ‘अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।’

उपचारका लागि बेलौरी नगरपालिकाले १५ हजार रुपैयाँ सहयोग गरेको थियो ।

उठ्न बस्न नसक्ने श्रीमानको अवस्थाका कारण चापागाई परिवारमा दुख छाएको छ ।  ‘राज्यले सीमा विवादमा घाइते भएका श्रीमानको राम्रो ठाउँमा उपचार गरिदिए चाँडै निको हुने थियो कि ?’ मलिन अनुहार बनाउँदै सविनाले आशा व्यक्त गरिन् ।

उनीहरुको घरजग्गा केही पनि छैन । टिकारामको परिवार नजिकैको सुमन सापकोटाको घरमा कोठा भाडामा बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment